शनिबारीय साहित्य ः संस्मरण
*** ***
उम्रन्न बोट कसैले बिउ छरेर नगए,
बन्दैन मुलुक दुईचार सपुत मरेर नगए ।
–भूपि शेरचन
यस धर्तीमा बोट उमार्नको लागि या हरियालीमय बनाउनको लागि कोही न कोहीले बिउ छर्नै पर्छ । एकले नछरे अर्कोले छर्नै पर्छ । धर्तीमा बिउ नछरेसम्म बिरुवा कसरी उम्रन्छ र ! त्यसकारण बिउ छर्न अनिवार्य छ । यसैगरी मुलुक परिवर्तन तथा समुन्नत बनाउनको लागि अझ यसरी भनौँ सामन्तवादी तथा प्रतिक्रियावादी शासकहरूले जनताका अधिकारहरू हनन् हुने गरी शासन गरिरहेका छन् । जनताको रगत पसिनामाथि अन्यायपूर्ण ढङ्गले शोषण गरिरहेका हुन्छन् । जसबाट मुक्ति पाउनको लागि परिवर्तन र मुलुकको उन्नतिको लागि कोही न कोही सपुतहरूले बलिदन गर्नैपर्छ । देशको लागि मर्नैपर्छ । यही कुरा माथिका कविताका हरफद्वारा कविले बोलेका छन् ।
नेपालमा २०४६ सालमा नेपाली जनताले पूर्ण परिवर्तनका लागि ठुलो अपेक्षा र विश्वासका साथ ठुलो जनआन्दोलनको सृष्टि गरेका थिए । नेताहरूले उक्त आन्दोलनलाई बहुदलको नाममा सम्झौता गरेर जनताको बलिदानी र परिवर्तनको सपनामाथि तुषारापात गराइयो । नेपाली जनताको जीवनमा खासै कुनै किसिमको परिवर्तन आउन सकेन । पञ्चायती राजाको शासनकालमा राजा एक्लैले नेपाली जनतामाथि शोषण उत्पीडन थोपरेका थिए भने २०४६ सालपछि बहुदलकालमा राजा र संसदीय राजनीतिक पार्टीहरूले जनतामाथि अन्यायपूर्ण ढङ्गले शोषण गर्न थाले । काले काले मिलेर खाउँ भाले गर्ने थाले । देशमा महङ्गी बढेर गयो । राष्ट्रघात उत्कर्षमा पुग्यो । नातावाद, कृपावाद, राजनीतिक पार्टीको संस्कृति नै बन्यो । देशको ढुकुटी राम्रा राम्रा पद र जागिरको पद, नेता हुने खाने र पहुँच हुनेको लागि मात्र भयो । जसले गर्दा जनतामा ठुलो असन्तोष र विद्रोहको भावना पैदा भइरहेको थियो । यी सबै समस्याको समाधानका लागि विद्रोह तथा वर्गसङ्घर्ष अनिवार्य थियो ।
स्थानीय रूपमा जनसत्ताको निर्माण जनमुक्ति सेनाको गठनको साथै केन्द्रीय सत्ता कब्जाको अभियानमा अगाडि बढिरहेको थियो । यसै महाअभियानमा थुप्रै नेपाली आमाका सर्वोत्तम छोरा छोरीहरूले आफ्नो भौतिक शरीरको बलिदान गरिरहेका थिए । एक योद्धाको हातबाट खसेको हतियार अर्को योद्धाले उठाइरहेका थिए । २०५२ सालबाट सुरु भएको जनयुद्धमा लगभग दस हजार जतिको बलिदान भयो । दुई हजार जति नागरिकलाई राज्यले बेपत्ता बनायो । यसैगरी सहिदको कोटामा नाम लेखाउन सफल वा कहिल्यै मर्न नपर्ने गरी यो ब्रह्माण्ड रहँदासम्म बाँच्ने अमर योद्धा हुनुहुन्छ सहिद राजु अधिकारी । कमरेड प्रति भावपूर्ण श्रद्धाञ्जली साथै लाल सलाम !
महान् सहिद राजु अधिकारी मुलुकको परिवर्तनको लागि सगरमाथा भन्दा अग्लो र पहाडभन्दा गह्रौँ मृत्युवरण गर्ने योद्धाको जन्म २०३४ साल कार्तिक २६ गते कास्की मिजुरे डाँडामा बाबा तुलसीप्रसाद अधिकारी र आमा लक्ष्मी अधिकारीको कोखबाट भएको हो । उहाँका चार दाजुभाइ र चार दिदीबहिनी मध्येमा उहाँ छैठौँ सन्तान हुनुहुन्थ्यो । उहाँका दुईवटा दाजुहरू सानैमा बित्नुभएको थियो । हाल दिदी बहिनीहरू गौरी, सुधा, गीता, सोविता र भाइ प्रेम अधिकारी हुनुहुन्छ । उहाँले कक्षा ३ सम्मको अध्ययन जन्मेको ठाउँ पहाडमा गर्नुभयो । त्यसपछि २०४५ सालमा पहाडबाट बसाई सरेर चितवन जिल्ला मेघौली गा.वि.स. मगनी गाउँमा आउनुभएको हो । त्यसपछि बाँकी अध्ययन मेघौलीको साझापुर मा.वि. पटिहानी गा.वि.स. को गंगानगर पदमपोखरी स्कुल एवम् कक्षा ९ र १० मेघौलीकै जानकी उच्च मा.वि.बाट गर्नुभएको हो । उहाँ सामान्य निम्न मध्यम परिवारमा जन्मनु भएको हो । उहाँको बाल्यकाल अत्यन्त अभावमा कष्टपूर्ण र समस्याहरूलाई चिर्दै अगाडि बढेको हो ।
आमा लक्ष्मी अधिकारीले आफ्नो छोरा जन्मदा आफूहरू अति हर्षित भएको र घरमा एउटा कहिल्यै ननिभ्ने दियो बन्न आएको सम्झिएको बताउनुभयो । तर राजुको हत्या भएपछि आफ्नालागि यो संसार अन्धकारमय बनेको ठान्नुभयो । उहाँ सानैदेखि सरल, जिज्ञासु, इमान्दार, निडर र विद्रोही स्वभावको र कोहीमाथि पनि अन्याय भएको देख्न नसक्ने व्यक्तित्व हुनुहुन्थ्यो । विद्यार्थीकालमै अनेरास्ववियु (क्रान्तिकारी)मा सङ्गठित भएर विद्यार्थी हकहित र जनजीविकाको सवालहरूमा सङ्घर्ष गरिरहनुभएको थियो । आफ्नो क्रान्तिकारी राजनीतिक विचारलाई तीव्र रूपमा विकास गरिरहनु भएको थियो ।
२०५२ सालदेखि नेकपा (माओवादी)ले सञ्चालन गरेको महान्् जनयुद्ध बेगबान गतिमा अगाडि बढिरहेको थियो । राजनीतिक तथा सैद्धान्तिक रूपमा माक्र्सवाद, लेनिनवाद र माओवादलाई आफ्नो मार्गनिर्देश सिद्धान्त मानेको थियो । सैन्य रूपमा परिवर्तनको लागि अनिवार्य फौजी शक्ति जनमुक्ति सेनाको गठन र सत्ताको तर्फ आधार इलाका, स्थानीय जनसत्ता, जनन्यायालय, जनकम्युनको निर्माण गर्दै केन्द्रीय सत्तामाथि धावा बोलिरहेको थियो । हजारौँ हजार नेपाल आमाका छोराछोरीहरूले बलिदानको किर्तिमान कायम गरेका थिए । सहिदको हातबाट खसेको बन्दुक एकपछि अर्को वीर योद्धाको हातले समात्दै थियो । यस्तो अवस्थामा एउटा क्रान्तिकारी चेत भएको व्यक्ति चुप लागेर घरमा बस्नै सक्दैनथ्यो । पार्टीलाई केन्द्रीय सत्ता कब्जाको लागि थप शक्तिका रूपमा पूर्णकालीन नेता कार्यकर्ताको आवश्यकता बढेर गएको थियो ।
यसै सिलसिलामा राजु अधिकारीले पनि २०५७ सालमा आफ्नो सम्पूर्ण जीवन पार्टी क्रान्ति र नेपाली जनताको मुक्तिको लागि खर्चने विचार अनुसार आफूलाई पूर्णकालीन कार्यकर्ता घोषणा गर्नुभयो । उहाँले पार्टीको इलाका सदस्य तथा अखिल नेपाल किसान सङ्घ (क्रान्तिकारी)को जिल्ला सदस्यको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँको कार्यक्षेत्र पश्चिम चितवनको भू–भाग थियो । क.माओले “तिमी तिम्रो तरिकाले लड, हामी हाम्रो तरिकाले लड्छौँ” भनेझैँ जनयुद्ध आफ्नो गतिमा अगाडि बढिरहेको थियो । २०५८ सालसम्म आइपुग्दा देशको प्रहरी शक्तिमाथि पूर्ण रूपमा विजय हासिल गरिसकेको थियो । तत्कालीन शासकहरूले जनतालाई शान्तिपूर्ण रूपमा सेना हस्तान्तरण गर्छ भने वार्ताको ढोका पनि खुला राखिएको थियो । तर तत्कालीन शासकहरूले सम्पूर्ण रूपमा जनताको अधिकार हस्तान्तरण गर्ने सम्भावना नदेखेपछि २०५८ साल मङ्सिर ८ गते पार्टीले युद्धविराम भङ्ग गरी दाङ र स्याङ्जा ब्यारेक पूर्णरूपमा कब्जा गरी देशैभरी धक्कामूलक कार्बाहीहरू भए । उक्त कार्बाहीहरूले शेरबहादुर देउवाको नेतृत्वको सरकारमा ठुलो खैलाबैला मच्चिन गयो । देशमा सङ्कटकाल लगाउने माओवादी पार्टीलाई आतङ्ककारी घोषणा गर्दै नेताका टाउकाको मूल्य तोक्ने घोर अमानवीय काम ग¥यो । देशैभरी मुख्य फौजीशक्ति शाहीसेना परिचालन ग¥यो । हत्या धरपकडको शृङ्खला तीव्र रूपमा बढायो । जसले पूरै देश नै आतङ्कित बनाएको थियो । दिनहुँ २०–२५ जना माओवादी कार्यकर्ता मारिएको खबर सञ्चार माध्यमबाट आएकै हुन्थ्यो । पार्टीका इमान्दार क्रान्तिकारी योद्धा राजु अधिकारी पनि शाहीसेनाको सर्वाधिक खोजिमा पर्नुभएको थियो ।
पार्टी काम विशेषले २०५८ साल चैत १४ गते जगतपुर गाउँ विकास समितिको कसाराचोकमा गएको बेला सुराकीको आधारमा उहाँ र जिल्ला पार्टी नेता कमल सुँयाल (क.सङ्गीन) लाई कसरा ब्यारेक देवीदत्त गणबाट आएका शाहीसेनाको टोलीले गिरफ्तार ग¥यो र कसरा ब्यारेकमा चरम यातनाका साथ राख्यो । कमरेडहरूको आस्था डगाउनको लागि चरम यातना दिइयो । पाइपले हान्ने, कोर्रा लगाउने, औँलामा पिन घोच्ने, आँखामा पट्टी बाँधेर बुटले हानेर हिलोको खाल्डोमा पल्टाइदिने, जाडोमा चिसो छिँडीमा पल्टाइदिने, करेण्टमा पिसाब फेर्न लगाउने, सम्पूर्ण शरीर ब्लेडले चिरेर घायल बनाइदिने जस्ता यातनाका क्रुर शृङ्खलाहरू दोहो¥याइएको थियो । यस्ता अमानवीय यातनाले शरीर शिथिल बनाएको थियो । तर पनि त्यो शरीरमाथि जति यातना थोपरे पनि कमरेडहरूले पार्टीको गोपनीयता खोल्नु भएन । गर्वका साथ ‘म बाट केही पाउँदैनस् बरू मर्न तयार छु, सक्छस् भने छात्तिमा गोली हान’ भनी दुश्मनलाई घृणा र आक्रोशले दुत्कार्दै आफ्नो मोर्चाबाट लडिरहनुभएको थियो । यता बाहिर पार्टीले पनि वर्ग सङ्घर्षलाई निरन्तर रूपमा अगाडि बढाइरहेको थियो । कायर शाहीसेनाको कसरा ब्यारेकको देविदत्त गणको जर्नेल पृतमबिक्रम राणाको नेतृŒवको टोलीले माओवादी पार्टी र मातहतका जनमुक्ति सेनासँग लड्न नसकी कायरता प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय युद्ध नियम जेनेभा सन्धी अनुसार अपाङ्ग, अशक्त, घाइते र कब्जामा लिइसकेका विपरीत तथा फरक विचार राख्ने सेना वा सर्वसाधारण निःसश्त्र मान्छेलाई मार्न नपाइने नियमको घोर उल्लङ्घन गर्दै २०५९ साल असोज ४ गते राती १२ बजे ६ महिनादेखि कसरा ब्यारेकको सैन्य हिरासतमा राखेका पार्टी इलाका सदस्य राजु अधिकारी, जिल्ला सदस्य कमल सुँयाल, तारा काफ्ले, कालीबहादुर तामाङ्गलाई किसानले खोरमा थुनेर राखेको खसीबोका निकालेर काटेझैँ शुक्रनगर गा.वि.स.को वडा नं. ३ को किसान चोकमा गोली हानी हत्या ग¥यो । कमरेडहरूको लासमाथि थोत्रो पेस्तोल थमाएर दोहोरो मुठभेडको नक्कली प्रचार ग¥यो । उक्त समाचारले चितवन जिल्लालाई स्तब्ध बनायो । सारा चितवनवासीको आँखाबाट आँसुको भेल बगे र चितवनका क्रान्तिकारी जनताले परिवर्तनलाई अनिवार्य शर्त बनाएर दुश्मनसँग बदला लिएरै छाड्ने कसम खाए । यसरी नेपाल आमाका होनहार क्रान्तिकारी छोराछोरीहरू आफ्नो आस्थामा अडिग रही देश र जनताको लागि बलिवेदीमा चढ्ने ती राता मान्छे महान् सहिदहरूलाई लालसलाम !
यसरी सहिदको बलिदानीबाट जनयुद्धले प्राप्त गरेको उपलब्धीहरूको रक्षा गर्दै जसको जगमा टेकेर क्रान्तिको बाँकी कार्यभार पूरा गर्नुपर्नेमा कायरहरू क्रान्तिबाट भागे, संशोधनवादी र नव संशोधनवादीहरूले गद्दारी गरे । जनगणतन्त्र प्राप्त हुन नपाउँदै प्रचण्ड, बाबुरामले जनयुद्धका उपलब्धीलाई विघटन गरी प्रतिक्रियावादी बाटो समातेका छन् । उता क्रान्तिकारीहरूले महान्् सहिदको बलिदानलाई खेर जान कुनै पनि हालतमा नदिने प्रतिबद्धता सहित क्रान्तिकारी पार्टी गठन भइसकेको छ । महान् सहिद राजु अधिकारीका साथै सम्पूर्ण सहिदहरूलाई लालसलाम ! ती राता मान्छे जन्माउने बाबा आमा आफ्नो परिवारको सदस्यलाई क्रान्तिमा पठाउने घर परिवारलाई हार्दिक धन्यवाद ।