“अन्तर्राष्ट्रिय स्तरमा र बेग्लाबेग्लै देशहरूमा सर्वहारा एकता केबल माक्र्सवादको आधारमा मात्रै सम्भव छ । अन्तर्राष्ट्रिय स्तरमा अवसरवाद–संशोधनवादको हालीमुहाली भएका बेग्लाबेग्लै देशहरुमा सर्वहारा वर्गको पंक्तिमा विभाजन अपरिहार्य बन्न पुग्दछ । कम्युनिस्ट आन्दोलनमा हरेक विभाजन निरपवाद रूपबाट अवसरवाद– संशोधनवादद्वारा माक्र्सवाद–लेनिनवादको विरोध तथा त्यसप्रति गद्दारी गर्नुको परिणामस्वरूप हुन्छ ।”
— महान बहस
प्रिय कमरेडहरू,
क्रान्तिकारी अभिवादन !
उक्त उद्धरण सबैभन्दा ठुलो फुटपरस्त आधुनिक संशोधनवादी ख्रुश्चेभका विरुद्ध चिनियाँ कम्युनिस्ट पार्टीद्वारा लेखिएको पत्रबाट लिइएको हो । यस उद्धरणमा उल्लेख भए अनुसार एकातिर संशोधनवादको हालिमुहाली रहेका देशमा सर्वहारा वर्गको पंक्तिमा विभाजन अपरिहार्य बन्न पुग्दछ भने अर्कोतिर कम्युनिस्ट आन्दोलनमा हरेक विभाजन निरपवाद रुपबाट अवसरवाद–संशोधनवादद्वारा माक्र्सवाद–लेनिनवादको विरोध तथा त्यसप्रति गद्दारी गर्नुको परिणाम स्वरूप हुन्छ । यो कुरा अहिलेको कञ्चनको फुटवादका सन्दर्भमा पनि सही नै रहेको छ ।
अहिले कञ्चन समूह पार्टीबाट चोइटिएर गएको छ र यस समूहको फुटवादी गतिविधिप्रति प्रतिक्रियावादी तथा दक्षिणपन्थी संशोधनवादीहरू खुसी भएका छन् । हामीले नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा अर्को एउटा फुटको सामना गर्नुपरेको छ । संशोधनवादीहरूद्वारा माक्र्सवाद र क्रान्तिप्रति गद्दारी गर्ने तत्वहरुद्वारा यस ढङ्गका फुट हुने गर्दछन् र हामी त्यस प्रकारका तत्वहरुका विरुद्ध विचारधारात्मक संघर्ष चलाउँदै दृढतापूर्वक निरन्तर रुपमा क्रान्तिको बाटोमा लागिरहनु पर्दछ । प्रतिक्रियावाद र संशोधनवादका विरुद्ध संघर्ष गरेर नै क्रान्ति अगाडि बढ्छ ।
कञ्चन समूहको समग्र फुटपरस्त गतिविधिको सही लेखाजोखा, समीक्षा तथा मूल्याङ्कन गर्नका लागि हामी अहिले राष्ट्रिय एकता महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक सम्पन्न गर्न गइरहेका छौं र यो राजनीतिक प्रस्ताव यसै विषयमा केन्द्रित रहेको छ । यस अवसरमा हामी समग्र जनआन्दोलन, ऐतिहासिक माओवादी जनयुद्ध र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्रान्तिमा सहादत प्राप्त गर्ने वीर वीराङ्गनाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । राज्यद्वारा बेपत्ता पारिएका क्रान्तिकारी योद्धाहरूप्रति विशेष सम्मान व्यक्त गर्दछौं । घाइते अपाङ्ग योद्धाहरूप्रति हार्दिक सम्मान प्रकट गर्दछौं र सम्पूर्ण सहिद परिवारजन तथा बेपत्ता योद्धा परिवारजन प्रति पनि सम्मान व्यक्त गर्दछौं ।
१. कञ्चन समूहसितको अन्तःसघर्ष तथा दुई–लाइन संघर्षको प्रक्रिया
२०८० वैशाख १६ गते पूर्व नेकपा (क्रान्तिकारी माओवादी) र पूर्व नेकपा (बहुमत)का बीच पार्टी एकता गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको निर्माण गरिएको थियो । त्यसको ठिक एक वर्षपछि २०८१ वैशाख १८ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)का बीच पार्टी एकता गरी मशाल सहितको पूर्र्व सहमति अनुसार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नै नामांकन गरिएको थियो । कञ्चन समूह पूर्व नेकपा (बहुमत) सित सम्बद्ध एउटा ग्रुप हो ।
कम्युनिस्ट पार्टी भनेको विपरीतहरूको एकत्व हो । पार्टीमा चल्ने स्वस्थ अन्तःसंघर्ष तथा दुई–लाइन संघर्षले पार्टीलाई एकता–संघर्ष–रूपान्तरणका बीचबाट विकसित तुल्याउँछ । यदि पार्टीमा अवसरवादीहरू छन् भने तिनले पार्टीको भित्री संघर्षलाई अस्वस्थ तथा अमैत्रीपूर्ण बनाउँछन् । क्रान्तिकारीहरूबाट कमजोरी भएको स्थितिमा पनि अन्तःसघर्ष वा दुई–लाइन संघर्ष गलत दिशामा जान सक्दछ र यसप्रति अत्यन्तै होसियार बन्नुपर्दछ । समाजमा विद्यमान वर्गसंघर्ष वा वर्गीय अन्तरविरोधको प्रतिबिम्बन पार्टी अन्तःसघर्ष वा दुई–लाइन संघर्षमा अभिव्यक्त हुन पुग्दछ । पार्टीमा चल्ने अन्तःसघर्ष वा दुई–लाइन संघर्षमा वर्ग दुश्मन तथा संशोधनवादीहरूले पनि चलखेल गर्दछन् र त्यो बेला स्थिति गम्भीर बन्न पुग्दछ ।
कञ्चन समूह सितको अन्तःसंघर्ष÷दुई–लाइन संघर्ष जटिल ढंगले विकसित हुँदै आएको छ । यस प्रकारको अन्तःसघर्र्ष÷दुई–लाइन संघर्ष यसरी चरणबद्ध ढंगले अगाडि बढेको छ ।
पहिलो चरण : पार्टी एकीकरणदेखि श्रावणसम्म
२०८० जेठ २३—२६ मा आयोजित सचिवालयको बैठकमा कञ्चनद्वारा नेतृत्वका विषयमा आफ्ना असन्तुष्टि पोख्ने काम भएको थियो ।
- प्रदेशहरूमा पार्टी एकता गर्ने प्रक्रियामा कतिपय अधिवेशनहरूमा सहमतीय दस्तावेजका विरुद्ध नयाँ जनवाद होइन वैज्ञानिक समाजवाद भनेर आफ्नो अभिमत राखिएको थियो ।
- त्यसै क्रममा पूर्व बहुमतका कतिपय कमरेडहरूसित बेग्लै बसी गुटबन्दीजन्य क्रियाकलाप गरिएको थियो ।
- विद्यार्थी मोर्चाको केन्द्रमा कञ्चन सहितका पूर्व बहुमतका नेताहरुद्वारा पार्टी केन्द्रको निर्देशनको अवज्ञा गरी चरम रूपमा गुटबन्दीजन्य गतिविधि अगाडि बढाइएको थियो ।
- श्रावण महिनाको मध्यतिर कमरेड कञ्चनले पार्टी केन्द्रलाई थाहै नदिई प्रवासमा गई पार्टी विरोधी गतिविधि गर्नुभएको थियो । त्यस प्रकारको गतिविधिबारे प्रवास ‘क’ प्रदेश समितिका एक जिम्मेवार कमरेडले “पार्टीभित्र एउटा अन्तःसंघर्ष फेरि सुरु र कमरेड कञ्चनका गतिविधि पार्टी विरुद्ध गंभीर षडयन्त्र” भनेर पार्टी केन्द्रमा रिपोर्ट पठाउनु भएको थियो । त्यसबारे केन्द्रीय कार्यालयको बैठकमा राख्दा कमरेड कञ्चनले एकातिर अस्वीकार गर्नुभयो भने अर्कोतिर भेद खुल्ने अभिव्यक्ति पनि दिनुभयो
दोस्रो चरण : भाद्रदेखि अश्विनसम्म
- गुटबन्दीका गतिविधि बढाउँदै लागेको ।
- एमसीसीका सन्दर्भमा कमरेड कञ्चनले पार्टी प्रवक्ताको हैसियतले २ भदौ २०८० मा प्रस्तुत गरेको प्रेस–वक्तव्यमा “जनतादेखि संसद र सरकारमा समेत अस्वीकृत भएको कम्प्याक्ट तथा नेपाली जनताका लागि राष्ट्रघाती एमसीसी” लाई “संसद र सरकारमा समेत अस्वीकृत” जस्ता झुटमा आधारित धारणा व्यक्त गरियो । पार्टी केन्द्रद्वारा त्यसलाई सच्याउनका लागि भनिएकोमा त्यसको घोर अवज्ञा गरियो ।
- असोज महिनाको प्रारम्भमा केन्द्रीय कार्यालयको बैठकको समयमा पार्टी केन्द्रलाई “२०८० असोज महिनामा आयोजना गरिएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको के.स.मा प्रस्तुत दस्तावेज” भन्ने एउटा लिखित प्रस्ताव दिइयो । सो प्रस्तावमा नीति, कार्यदिशा, कार्यनीति, कार्यक्रमका साथमा “एक पार्टी दुई कार्यनीति” समेतको उल्लेख तथा व्याख्या गरिएको थियो ।
- पछि उक्त प्रस्तावलाई फिर्ता लिइयो, परन्तु त्यस प्रकारको सोचलाई भने कायमै राखियो ।
तेस्रो चरण : कार्तिकदेखि महाधिवेशन आयोजक समितिको दोस्रो बैठकसम्म
- गुटबन्दीजन्य विविध गतिविधिमा निरन्तरता ।
- एकता महाधिवेशन आयोजक समितिको बैठकको तयारी गर्ने प्रक्रियामा बसेको केन्द्रीय कार्यालयको बैठकमा संयोजकले राजनीतिक प्रतिवेदन र नीति तथा कार्यक्रम सम्बन्धी प्रस्ताव पेश गरे लगत्तै अप्रत्यासित रुपमा पूर्व तयारी अनुसार समानान्तर प्रस्ताव तयार पारेको बताउँदै सो प्रस्ताव कार्यालयका सबै सदस्यहरुलाई दिइयो ।
- केन्द्रीय संगठन समितिको बैठकमा विभिन्न प्रस्तावहरु प्रस्तुत हुँदै गरेको सन्दर्भमा कमरेड कञ्चनद्वारा उक्त समानान्तर प्रस्ताव पनि पेश गरेको र प्रस्तुत सबै प्रस्तावहरूलाई समेटी महाधिवेशनको प्रक्रियामा फोरम सञ्चालन गर्ने निर्णय लिइएको ।
चौथो चरण : केन्द्रीय आयोजक समितिको उक्त बैठक यता
- केन्द्रीय आयोजक समितिको बैठक सम्पन्न भए लगत्तै पार्टी केन्द्रबाट दिइएको प्रेस वक्तव्यमा उल्लेखित “केन्द्रीय संगठन समितिको बैठकमा माक्र्सवाद–लेनिनवाद–माओवाद÷माओविचारधारालाई पथप्रदर्शक सिद्धान्त र नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादमा जाने राजनीतिक कार्यदिशालाई अवलम्बन गरेको हाम्रो पार्टीको एकता महाधिवेशनलाई सफलतापूर्वक तथा शानदाररुपमा सम्पन्न गर्नका लागि विशेष जोड दिइएको छ” भन्ने विषयलाई निहु बनाई क. कञ्चन, क. दीपक, क. प्रवीर, क. आजाद र क. निर्मल सहित केन्द्रीय कार्यालयका सदस्यहरूबाट सो विज्ञप्ति सच्याउनका लागि पत्र लेखिएको र त्यसबारे कार्य सम्पादन मण्डलको बैठकमा छलफल हुँदा उक्त विज्ञप्तिका विषयलाई यथावतै राख्ने निर्णय लिइयो । त्यसको लगत्तै “हामीबीच भएको १५ महिना अघिको एकता कायम रहन नसक्ने निष्कर्षमा पुग्न हामी बाध्य भएका छौं” भनी सह संयोजक कमरेड कञ्चनद्वारा आन्तरिक रुपमा संयोजकलाई पत्र लेखियो र पार्टी एकता असफल भएको भनी सार्वजनिक वक्तव्य दिइयो । यस स्थितिमा सो समूहद्वारा पार्टी एकतालाई तोड्ने र पार्टी फुटाउने काम भयो ।
- यहाँ विप्लवको शैली र पद्धतिको पुनरावृत्ति भएको छ । विप्लव समूहले फुटवादको बाटो पक्डे पछि सम्पन्न पूर्व नेकपा–माओवादीको २०७१ पौषमा आयोजित प्रथम राट्रिय भेलामा प्रस्तुत तथा पारित प्रतिवेदनमा भनिएको थियो, “आफ्नै प्रस्ताव अनुसार बोलाइएको के.स.को विस्तारित बैठकमा उपस्थित भएर पनि अन्तिम समयसम्म धैर्य गरेर बस्न नसक्नु र विभिन्न राजनीतिक प्रस्तावहरुबारे महाधिवेशनमा निष्कर्षमा पुग्ने निर्णय हुँदाहुँदै पनि करिब पाँच÷सात महिनासम्म सो महाधिवेशनको प्रतीक्षा गर्न नसक्नु निश्चित रुपमा विचारधारात्मक बहस र बृहत जनवादी अभ्यासबाट पलायन हुनु नै हो । यसलाई राजनीतिक रूपमा हद दर्जाको अदूरदर्शी चिन्तन र गैर जिम्मेवारीपन भन्न सकिन्छ ।” (नेकपा–माओवादीका दस्तावेजहरु पृष्ठ १९, २०७१ माघ) । अहिले कञ्चन समूहमा पनि यही कुरा दोहोरिएको छ ।
कार्यपद्धति र कार्यशैली
- अराजकतावादी व्यक्तिवाद अवलम्बन गरी पार्टी एकताको सैद्धान्तिक एवं राजनीतिक सहमति तोडेको ।
- पार्टीएकताको तीन बुँदे विधि तथा पद्धति तोडेको ।
- रहस्यमय भेटघाट र षड्यन्त्रमूलक कार्यशैली अवलम्बन गर्दै आएको ।
- “एक पार्टी दुई कार्यनीति” अवलम्बन गरी गुटवाद र फुटवादको प्रक्रिया अगाडि बढाएको ।
२ – दक्षिणपन्थी संशोधनवाद परस्त चिन्तन तथा प्रवृत्ति
केन्द्रीय कार्यालयको बैठकमा कञ्चन समूहमा विद्यमान राजनीतिक प्रवृत्तिलाई मूलरूपमा दक्षिणपन्थी संशोधनवाद परस्त चिन्तन तथा प्रवृत्ति बताइएको छ र उनीहरुलाई पार्टीबाट निष्कासित गरिएको छ । केन्द्रीय कार्यालयको प्रेस वक्तव्यमा भनिएको छ, “२०८१ श्रावण ९ तथा १० गते सम्पन्न केन्द्रीय कार्यालयको बैठकमा उक्त परिघटनाबारे आवश्यक निर्णय लिइएको छ । तदनुसार पार्टी एकताको महत्व तथा गरिमामाथि गम्भीर आघात पु¥याउन खोजेको, पार्टी अनुशासन तथा सांगठनिक पद्धतिका विरुद्ध गुटवादी तथा फुटवादी गतिविधि सञ्चालन गरेको, एकता महाधिवेशनमा चल्ने विचारधारात्मक तथा राजनीतिक बहस तथा विमर्शको सामना गर्न नसकी पलायनको बाटो रोजेको र दक्षिणपन्थी संशोधनवाद परस्त चिन्तन तथा प्रवृत्ति अवलम्बन गरेकोले कमरेड कञ्चन लगायत नेतृत्वका कतिपय कमरेडहरूलाई महाधिवेशन आयोजक समिति अर्थात् केन्द्रीय संगठन समिति सहित पार्टीका सबै जिम्मेवारीहरूबाट निष्कासन गरिएको छ ।”
कञ्चन र उनको समूहमा विद्यमान गलत चिन्तन र प्रवृत्तिबारे मूलतः कञ्चनद्वारा प्रस्तुत कथित समानान्तर दस्तावेजलाई आधार बनाएर उल्लेख गर्न सकिन्छ । यस सन्दर्भमा दृष्टि दिनुपर्ने विषय मूलतः यस प्रकार रहेका छन् :
१. विभिन्न दक्षिणपन्थी संशोधनवादीहरुले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भएपश्चात् नेपालमा पुँजीवादी जनवादी क्रान्ति भइसक्यो भनेर योजनाबद्ध रुपमा होहल्ला मच्चाउँदै आएका छन् र कञ्चन यस प्रकारका होहल्लाबाट प्रभावित भएको देखिन्छ । कञ्चनको भनाइ छ, “दश बर्षको जनयुद्ध नयाँजनवादी क्रान्तिको नारामा संचालन भएको र त्यसले नेपालमा गणतन्त्र स्थापना गर्दै नयाँ समाज–वैज्ञानिक समाजवादको माग गरेको अवस्थामा यसको ऐतिहासिक मूल्य चुक्ता भैसकेको छ ।” (कथित समानान्तर दस्तावेज पृष्ठ ४७) ।
२. कञ्चनद्वारा पार्टी एकता गर्दा सहमति गरिएको मान्यतालाई तोडिएको छ । पार्टी एकताको समयमा सहमति गरिएको राजनीतिक कार्यदिशा सम्बन्धी मान्यता यस्तो छ, “वर्तमान अवस्थामा नेपाली क्रान्तिकारी कम्युनिस्टहरूको राजनीतिक कार्यदिशाको पहिलो खुड्किलोमा जनताको जनवादी अधिनायकत्व सहितको नयाँ जनवादी क्रान्ति पार गर्दै वैज्ञानिक समाजवादमा पुग्नु हुनेछ ।” (क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका राजनीतिक दस्तावेजहरु २०८०, पृष्ठ १३) । यस प्रकारको मान्यतालाई तोड्दै भनिएको छ, “नेपालमा नयाँ जनवादको नारा पश्चगामी तथा पुरातनवादी हुन पुग्छ र वैज्ञानिक समाजवादको कार्यदिशानै नेपालको परिवर्तकालागि सहि कार्यदिशा हुन्छ ।” (कथित समानान्तर दस्तावेज पृ. २८) । हामीले वैज्ञानिक समाजवादको विरोध तथा खण्डन गरेका छैनौं र गर्देनौं पनि । हामीले भन्न खोजेको कुरा यत्ति हो कि नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादमा जानु पर्दछ । स्मरण रहोस्, यसमा पहिले कञ्चनको पनि सहमति नै थियो ।
३. यसैगरी सो समूहद्वारा पार्टी एकताको प्रक्रियामा निर्धारित विधिलाई पनि अस्वीकार गरिएको छ । पार्टी एकता गर्दा निर्धारित विधि यस प्रकार रहेको छ, “पार्टी एकता प्रक्रिया र आधार तयार पार्ने क्रममा हामीले केही महत्वपूर्ण विधि निर्धारण गरेका छौं । पहिलो विधि भौतिकवादी द्वन्द्ववादको विधि हो, त्यो एकता–संघर्ष र रुपान्तरणमा आधारित छ । दोस्रो विधि सहमतीय विधि हो । पार्टी एकता प्रक्रियामा यस विधिको विशेष महत्व छ । तेस्रो विधि भनेको जनवादी केन्द्रीयताको विधि हो । यी तीन विधि मध्ये सहमतीय विधिमा नै हामीले जोड दिँदै आएका छौं ।” (क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका राजनीतिक दस्तावेजहरु २०८०, पृष्ठ १३ ) ।
उक्त विधिका विरुद्ध कञ्चनद्वारा एक पार्टी दुई कार्यनीतिको विधि प्रस्तुत गरिएको छ । उनको भनाइ छ “पार्टी भित्र बस्तुगत अवस्थाको बुझाइलाई एकरुपतामा ल्याउन पार्टी भित्रका हरेक सदस्यहरु सहभागि हुने गरी बृहत छलफल र अन्तरक्रियाको आवश्यकता हुन्छ । यसप्रकारको बृहत छलफल महाधिवेशनको अवधिमा गर्न सकिन्छ, तर महाधिवेशन मुलतः कार्यदिशाको प्रश्न समाधान भएपछि औपचारिकता दिनकालागि गरिने भएकोले त्यहाँ अनुसन्धानात्मक बहस हुन सक्दैन । त्यसप्रकारको बहस संचालन गर्न पार्टी भित्र एक पार्टी दुई कार्यनीतिको बिधिनै वैज्ञानिक हुन्छ ।” (कथित समानान्तर दस्तावेज पृ.७५) ।
यहाँ एकातिर महाधिवेशनको प्रक्रियामा हुने बहसलाई अनुसन्धानात्मक बहसका रूपमा नलिई तथा केवल औपचारिक मात्र बताई महाधिवेशनको अवमूल्यन गरिएको छ भने अर्कोतिर गुटवाद तथा फुटवादको औचित्य पुष्टि गर्नका लागि एक पार्टी दुई कार्यनीति अवलम्बन गर्नुपर्ने कुरामा विशेष जोड दिइएको छ । कञ्चनले अत्यन्तै नाङ्गो तरिकाले एक पार्टी दुई कार्यनीतिको विधिलाई द्वन्दात्मक भौतिकवादी विधि र महान सर्वहारा सांस्कृतिक क्रान्तिको नेपाली कम्युनिस्ट आन्दोलनमा सटीक प्रयोग बताएर द्वन्दात्मक भौतिकवाद र महान सर्वहारा सांस्कृतिक क्रान्तिको विद्रूपीकरण गर्ने चेष्टा गरेका छन् । साथै उनले जनवादी केन्द्रीयताको नाममा अवैज्ञानिक विचारहरुलाई हावी हुन दिनु या वैज्ञानिक विचारहरू उपेक्षित तथा दमित हुनुले दुवै पक्षलाई फाइदा हुन सक्दैन भनेर जनवादी केन्द्रीयताको सिद्धान्तको पनि घोर अवमूल्यन गरेका छन् । यस अतिरिक्त उनका अनुसार एक पार्टी दुई कार्यनीतिले एकैपटक एकको ध्वंस र अर्काको निर्माण गर्दछ । यस प्रकारको विचारले एकातिर पार्टीभित्र विपरीत पक्षको अस्तित्व अस्वीकार गरी अधिभूतवादी तथा एकमनावादी दृष्टिकोणको पक्षपोषण गर्दछ भने अर्कोतिर यसले पार्टीभित्रको अन्तःसंघर्ष तथा दुई–लाइन संघर्षलाई दुश्मनीपूर्ण बनाउँछ ।
४. कथित समानान्तर दस्तावेजका रूपमा प्रस्तुत वैज्ञानिक समाजवाद भनिएको कार्यदिशा अनेकौं विरोधाभासहरूले भरिएको छ । जस्तो कि हेरौँ :
पहिलो, कञ्चन नेपाली समाज नवऔपनिवेशिक अवस्थामा रहेको कुरा स्वीकार गर्दछन् । यदि यो कुरा सही हो भने त्यस स्थितिमा नेपाली क्रान्तिको कार्यभार आन्तरिक रुपमा दलाल नोकरशाही पुँजीवाद र बाह्य रुपमा साम्राज्यवादका विरुद्ध परिलक्षित जनवादी र राष्ट्रिय मुक्तिमा आधारित क्रान्ति हुन पुग्दछ । अनि मात्र नेपाली क्रान्तिले समाजवादमा प्रवेश गर्नुपर्ने हुन्छ । परन्तु उनी त्यसका विपरीत ठिक एकातिर नेपाली समाजको स्वरूप नवऔपनिवेशिक र अर्कोतिर नेपाली क्रान्तिको स्वरूप समाजवादी भएको कुरा बताउछन् । यो गम्भीर प्रकृतिको हिरोधाभासपूर्ण चिन्तन हो ।
दोस्रो, उनले नेपाली क्रान्तिको प्रधान अन्तर्विरोधका रूपमा दलाल पूँजीवाद र नेपाली जनताका बीचको अन्तरविरोधलाई प्रस्तुत गरेका छन् । यदि कुरा त्यही नै साँचो हो भने त्यस प्रकारको प्रधान अन्तर्विरोधको समाधानका लागि नयाँ जनवादी क्रान्ति आवश्यक बन्न जान्छ । परन्तु उनी त्यसको ठिक विपरीत वैज्ञानिक समाजवादको कार्यदिशा प्रस्तुत गर्दछन् । यो पनि गम्भीर प्रकृतिकै विरोधाभास हो ।
तेस्रो, कञ्चन एकातिर नेपालमा राष्ट्रिय पुँजीको अस्तित्व समाप्त भइसकेको कुरा बताउछन् भने अर्कोतिर नेपालमा राष्ट्रिय पुँजी र दलाल पुँजीका बीच अन्तरविरोध रहेको कुरा उल्लेख गर्छन् । यो पनि एउटा विरोधाभासपूर्ण विषय हो ।
चौथो, उनी नेपालमा एकातिर नयाँ जनवादको कार्यदिशा प्रस्तुत गर्नुलाई पश्चगामी तथा पुरातनपन्थी विचारका रूपमा विरोध गर्छन् । परन्तु, अर्कोतिर समाजवादी क्रान्तिका विभिन्न चरण हुने कुरा बताउँदै पुरानो जनवाद र नयाँ जनवाद दुवैको कार्यान्वयन गर्नु पर्ने कुरा उल्लेख गर्न पनि चुक्दैनन् । यसरी हेर्दा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गरिसकेपछि पुरानो वा नयाँ जनवादको कार्यान्वयन गर्ने कुरा उनकै भनाइ अनुसार गम्भीर प्रकृतिको पश्चगामी तथा पुरातनपन्थी विचार बन्न पुग्दछ ।
५. उनी नेपाल नवऔपनिवेशिक अवस्थामा रहेको कुरा त स्वीकार गर्छन तर यस अवस्थामा राष्ट्रिय मुक्ति आन्दोलन र जनवादी क्रान्ति साथसाथै चल्ने कुरा मान्दैनन् । जस्तो कि कञ्चन भन्छन्, “माओको समयमा राष्ट्रिय मुक्ति आन्दोलन र जनवादी क्रान्ति साथसाथ अगाडि बढेका थिए र ती युद्धहरु एक अर्काका परिपूरक जस्ता भएका थिए । तर नवऔपनिवेशिक युगमा साम्राज्यवादले वित्तीय पुँजी र प्रबिधिको प्रयोग गरी त्यही देशका शासक वर्गलाई दलालको रुपमा परिणत गर्दै जनतामाथि उत्पीडन गर्ने भएकोले न त त्यहाँ राष्ट्रियताको लागि युद्ध हुन सक्छ न त्यो युद्धले क्रान्ति निम्तन सक्छ ।” (उक्त पृष्ठ १३ ।)
के यी कुरा साँचा हुन् ? विल्कुलै होइनन् । जस्तो कि माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीद्वारा सोभियत संघको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिलाई जुन १४, १९६३मा पठाइएको पत्रमा भनिएको छ, “एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका शोषित पीडित जनता र राष्ट्रहरुले तत्काल साम्राज्यवाद र त्यसका दलालहरुका विरुद्ध लडनुपर्ने समस्याको सामना गरेका छन् । इतिहासले त्यस क्षेत्रका सर्वहारा वर्गका पार्टीहरुमाथि साम्राज्यवादका विरुद्ध, नयाँ र पुराना उपनिवेशवादका विरुद्ध तथा राष्ट्रिय स्वतन्त्रता र जनताको जनवादका लागि संघर्षको झण्डा फहराउने, राष्ट्रिय मुक्ति र जनवादी क्रान्तिको अग्रिम पंक्तिमा उभिने र समाजवादको भविष्यका लागि चेष्टा गर्ने महान कार्यभार सुम्पेको छ ।” महान बहस पृष्ठ ८ ।
यहाँ दृष्टि दिनुपर्ने दुई विषयहरू छन् । पहिलो, कञ्चनले माओको समय र नवऔपनिवेशिक युगलाई अलग्याएका छन् । उनको विचारमा माओको समयमा राष्ट्रिय मुक्ति युद्ध, आन्दोलन र नयाँ जनवादी क्रान्ति साथसाथै अगाडि बढे पनि नवऔपनिवेशिक युुगमा राष्ट्रिय स्वाधीनताका लागि युद्ध हुन सक्दैन । यहाँ उनले एकातिर आफैंले भनेको सुगौली सन्धिपछि नवऔपनिवेशिक अवस्था सुरु भएको र अर्कोतिर माओले नै नव उपनिवेशवादका विरुद्ध राष्ट्रिय क्रान्ति र जनवादी क्रान्ति गर्नुपर्छ भनेको कुराप्रति पूर्णतः आँखा चिम्लिएका छन् । । दोस्रो, औपनिवेशिक युगमा राष्ट्रिय युद्ध हुन नसक्ने कुरा गरेर साम्राज्यवादको पुरै तावेदारी गरेको देखिन आउँछ । यो साम्राज्यवाद परस्त चिन्तन हो । कञ्चनको यो सोच वस्तुतः भूमण्डलीकृत साम्राज्यवादलाई अव साम्राज्यवाद भन्न हुँदैन भन्ने उत्तर–माक्र्सवादमा आधारित रहेको स्पष्ट देखिन्छ ।
६. कञ्चनद्वारा प्रस्तुत वैज्ञानिक समाजवादको धारणा अत्यन्तै अस्पष्ट तथा भ्रामक रहेको छ । उनको भनाइ छ, “वैज्ञानिक समाजवाद आफैमा एउटा संक्रमणकालिन व्यवस्था भएकोले साम्यवादमा पुग्नकालागि समाजवादले बिभित्र चरण भएर गुज्रनु पर्ने छ । यो अवधिमा सत्ताको चरित्र कम्युनिष्टको नेतृत्वमा सर्बहारावर्ग, प्रगतिशील जनवादी, समाजवादी र कम्युनष्टिको जनवादी अधिनायकत्व हुने छ ।” (कथित समानान्तर दस्तावेज पृष्ठ ८४) । कञ्चनद्वारा यहाँ सर्वहारा अधिनायकत्व सम्बन्धी तथा महान सर्वहारा सांस्कृतिक क्रान्तिका वैज्ञानिक मान्यताको गम्भीर तोडमरोड तथा संशोधन गरिएको छ । संक्रमणकालमा समाजवादी सत्ताको चरित्र सर्वहाराको नेतृत्व र सर्वहारा वर्गकै अधिनायकत्वमा आधारित हुन्छ । परन्तु यहाँ उनले भन्न खोजेको वैज्ञानिक समाजवाद वैज्ञानिक समाजवाद तर्फ नभई सुधारवादी समाजवाद तर्फ परिलक्षित रहेको स्पष्ट देखिन्छ । साथै यहाँ कम्युनिस्टको जनवादी अधिनायकत्व भनिनु अत्यन्तै हास्यास्पद रहेको छ । किनकि, सर्वहारा अधिनायकत्वलाई कम्युनिस्ट अधिनायकत्व भन्नु सिधै माक्र्सवादका विरुद्ध जानु हुन्छ ।
७. कञ्चनको चिन्तन तथा सोचमा प्रचुर मात्रामा अस्पष्टता, अज्ञानता र विशृङ्खलता देखा पर्दछन् । यस सन्दर्भमा केही उदाहरणहरू हेरौं :
- उनको भनाइ अनुसार नेपालमा नव उपनिवेशवादको थालनी गिर्वाण युद्धविक्रमको पालादेखि हुन्छ । उनको भनाइ छ, “गिर्वाणुयुद्ध बिक्रम शाहको शासनकाल डिसेम्बर १८१५मा सुगौली सन्धी हस्ताक्षर गरियो र मार्च १८१६मा लागु गरियो । यो सन्धि लागु गरेपछि नेपाल नवऔपनिवेशिक अवस्थामा प्रवेश ग¥यो । १८१६को सुगौली सन्धीसंगै नेपालको केन्द्रीकृत सामन्ती राज्य व्यवस्था अर्ध सामन्ती अर्धऔपनिवेशिक (नवऔपनिवेशिक) व्यवस्थामा बदलीयो ।” (उक्त पृष्ठ ४४) । वस्तुत नव उपनिवेशवादको थालनी दोस्रो विश्वयुद्धपछि भएको हो र यो कुरा जगजाहेर नै छ ।
- उनको भनाइमा पुँजीवादको विकास पृथ्वीनारायण शाहभन्दा अघिदेखि नै भएको हो । उनको भनाइ छ, “काडमाण्डौ भित्र पूँजीवादको बिकाश पृथ्वीनारायण शाहले काठमाण्डौमा राजधानी स्थापना (१७६८) गर्नु भन्दा पहिलेनै भएको थियो । त्यतिबेला काठमाण्डौमा हस्तकला, काष्टकला, कपडा उत्पादन, भोट देखिको व्यापार चलेको थियो । र, यी उत्पादनहरु बजारमुखि थिए र आन्तरिक र बाह्य ब्यापारकालागि थिए ।” (उक्त पृष्ठ ६) । वस्तुतः नेपालमा पुँजीवादको थालनी धेरै पछि राणकालदेखि हुन थालेको हो ।
- उनको भनाइ छ, “चीनमा सर्बहारा अधिनायकत्वको सम्भावना माथि स्तालिन र बाकुनिनले नै प्रश्न उठाएका थिए ।” (उक्त पृष्ठ १०) । बाकुनिनको देहावशान १८७६ मा नै भएको थियो । अनि उनले कसरी चीनमा सर्वहारा अधिनायकत्वको सम्भावनामाथि प्रश्न उठाए त ? यो विचित्रको कुरा भयो ।
- उनको भनाइमा “कृत्रिम बौद्धिकता नै उत्पादक शक्ति हो भन्ने भ्रम” हो । (उक्त पृष्ठ ६९) । स्पष्ट छ कृत्रिम बौद्धिकता उत्पादक शक्ति हो नै तर त्यो प्रधान उत्पादक शक्ति भने होइन । किनकि प्रधान त मानिस नै हो ।
- उनको भनाइ छ, “वैज्ञानिक समाजवादमा सम्पूर्ण रुपले नीजि सम्पत्तिको अन्त्य गर्नु सम्भव हुँदैन, न त त्यो साम्यवादमा नै हुने छ ।” (उक्त पृष्ठ ४८) । साम्यवादमा निजी सम्पत्ति समाप्त हुँदैन भन्ने कुरा अनौठो हो ।
- कञ्चनको भनाइ छ, “नेपालमा गणतन्त्र स्थापना भएपछि औपचारिक रुपमा नोकरशाही दलाल पूँजीवाद स्पष्ट रुपमा बिकाश भएको छ ।” (उक्त पृष्ठ ४५) । के नेपालमा गणतन्त्रको स्थापना अघि नै औपचारिक रुपमा दलाल पुँजीवादको विकास भएको थिएन ?
३ – विचारधारात्मक सन्दर्भ
दर्शन
- कञ्चनद्वारा भौतिकवादी द्वन्दवादलाई पुरै तोडमरोड गर्ने काम भएको छ । उनको भनाइ छ, “एक पार्टी दुई कार्यनीति दार्शनिक हिसाबले द्वन्दात्मक भौतिकवादी विधि हो ।” उनीद्वारा अगाडि भनिएको छ, “एक पार्टी दुई कार्यनीतिले संघर्ष एकता रुपान्तरणको द्वन्दवादलाई पार्टीको रुपान्तरणकालागि शशक्त रुपले प्रयोगमा ल्याउने छ ।” (उक्त पृष्ठ ७६) । यहाँ उल्लेख गरिएको संघर्ष–एकता नभई एकता–संघर्ष सही हो । वस्तुतः यो द्वन्द्वात्मक भौतिकवादी विधि होइन अपितु द्वन्दात्मक भौतिकवादी एकत्ववादका विरुद्ध परिलक्षित बहुलवादी विधि हो । भौतिकवादी द्वन्दवाद एकता–संघर्ष–रूपान्तरणको मान्यतामा आधारित हुन्छ, परन्तु बहुलवादमा आधारित एक पार्टी दुई कार्यनीति एकता संघर्षको चक्रमा मात्र घुमिरहन्छ र कहिल्यै पनि रुपान्तरणमा जाँदैन ।
- त्यतिमात्र होइन उनीद्वारा भौतिकवादी द्वन्दवादका विरुद्ध सारसंग्र्रहवादलाई पनि अवलम्बन गरिएको छ । भौतिकवादी द्वन्द्ववादले विषयवस्तुलाई मूर्त रुपमा प्रस्तुत गर्ने, प्रधान तथा गौण अन्तरविरोधलाई छुट्याउने र नियम संगति अनुसार चल्ने कुराको माग गर्दछ । परन्तु, सारसंग्रहवादले विषयलाई अमूर्त रुपमा पेश गर्ने, प्रधान तथा गौण अन्तर्विरोधलाई समानान्तर रुपमा हेर्ने र एउटा विशिष्टतामा आधारित नियम वा मान्यतालाई अर्को विशिष्टतामा पेश गर्ने काम गर्दछ । जस्तो कि उनको भनाइ छ, “नेपालमा पैदा भएको प्रधान अन्तरबिरोधः उत्पीडित नेपाली जनता र दलाल तथा नोकरशाही पूँजीपति वर्ग बिचको हो, जुन अन्तरबिरोध समाधान गर्न केवल वैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशाले मात्र सम्भव हुने छ ।” (उक्त पृष्ठ ४७) । यहाँ नयाँ जनवादी क्रान्तिद्वारा हल गरिने अन्तरविरोधलाई वैज्ञानिक समाजवादी क्रान्तिद्वारा हल गरिने कुरा बताइएको छ । यो सारसंग्रहवाद हो ।
- उनको दार्शनिक मान्यता वितण्डावादमा पनि आधारित रहेको छ । वित्तण्डावाद भनेको कुतर्कनावाद हो । यसले सत्यलाई असत्य र असत्यलाई सत्यमा पेश गर्नका लागि ठूलो कसरत गर्दछ । माथि उल्लेख गरिएका उनका भनाइहरूमा प्रचुर मात्रामा वितण्डावाद पाइन्छ । उनले दार्शनिक फाँटमा भौतिकवादी द्वन्दवादका विरुद्ध निषेधात्मक द्वन्दवादलाई अवलम्बन गरेको पाइन्छ । उनको भनाइ छ, “एक पार्टी दुई कार्यनीतिले एकै पटक एकको ध्वंस र अर्कोको निर्माण गर्ने छ ।” (उक्त पृष्ठ ७६) । यहाँ एकातिर पार्टीका विपरीत पक्षलाई ध्वंस गर्ने कुरा गरिएको छ भने अर्कोतिर मैत्रीपूर्ण रुपमा सञ्चालन गर्नुपर्ने अन्तरसघर्ष÷दुई–लाइन संघर्षलाई शत्रुतापूर्ण रुप दिने कोसिस गरिएको छ । यहाँ एकैसाथ एकमनावाद र निषेधात्मक द्वन्द्ववादको अभ्यास गर्न खोजिएको देखिन्छ ।
राजनीतिक अर्थशास्त्र
- कञ्चनका दृष्टिमा नेपालमा राष्ट्रिय पुँजी र राष्ट्रिय पुँजीपति वर्गको अस्तित्व सारतः समाप्त भइसकेको छ । उनको भनाइ अनुसार २०५७ सम्म पुग्दा सत्तामा पहुँच हुने देशको राजतन्त्र मात्रै राष्ट्रिय पुँजीपति वर्गको प्रतिनिधि बाँकी रहन पुग्यो र राजा वीरेन्द्रको सपरिवार नाश हुने “दरवार हत्याकाण्डको मंचन गरियो जसले नेपालमा औपचारिक राजतन्त्रको अन्त्य मात्र भएन, नेपालको राष्ट्रिय पूँजीपति वर्गको पनि अन्त्य भयो ।” (उक्त पृष्ठ २३) । यो नितान्त गलत कुरा हो । वस्तुतः कमजोर नै रही आए पनि नेपालमा राष्ट्रिय पुँजी र पुँजीपति वर्गको अस्तित्व कायमै रहेको छ । वीरेन्द्रको वंशनाशलाई राष्ट्रिय पुँजीपति वर्गको अन्त्य कदापि भन्न सकिन्न ।
- उनी साम्राज्यवादप्रति निकै नरम बन्न गएको देखिन्छ । उनका अनुसार नवऔपनिवेशिक युगमा साम्राज्यवाद वित्तीय पुँजी र प्रविधिको प्रयोग गरी त्यही देशका शासक वर्गलाई दलालको रुपमा परिणत गर्दै जनतामाथि उत्पीडन गर्ने भएकोले राष्ट्रियताका लागि न युद्ध हुन सक्छ न त्यो युद्धले क्रान्ति निम्तिन सक्छ । (उक्त पृष्ठ १३) । उनका दृष्टिमा राष्ट्रियताका लागि संघर्ष वा युद्ध सम्बन्धित देशको दलाल पूँजीपति वर्गसित मात्र हुन्छ, साम्राज्यवादका विरुद्ध होइन । यो राष्ट्रिय आत्मसमर्पणवाद र साम्राज्यवाद परस्त चिन्तन हो ।
समाजवादको क्षेत्र
- उनको एक पार्टी दुई कार्यनीतिको मान्यताले क्रान्तिको नेतृत्व गर्ने शक्ति कम्युनिस्ट पार्टीलाई क्रान्ति गर्न योग्य बन्न दिँदैन र गुटवाद तथा फुटवाद तर्फ धकेलिदिन्छ । यस प्रकारको मान्यताले अनुशासन, जनवादी केन्द्रीयता, एकीकृत, केन्द्रीकृत तथा सामूहिक नेतृत्व प्रणालीलाई ध्वस्त पार्दछ ।
- कञ्चनको चिन्तन अराजकतावादी व्यक्तिवादमा आधारित छ । त्यसले निजी अहम तथा व्यक्तिवादलाई प्राथमिक स्थानमा राख्दै सामूहिकता र समाजवादको निषेध गर्दछ ।
- कञ्चनद्वारा नेपाल नव औपनिवेशिक अवस्थामा रहेको यथार्थ स्वीकार गरिए पनि साम्राज्यवादका विरुद्ध राष्ट्रिय मुक्ति आन्दोलन र युद्धलाई अस्वीकार गरिएको छ । त्यति मात्र होइन नव औपनिवेशिक अवस्थामा रहेको देशमा वैज्ञानिक समाजवादको अभिन्न अंग तथा त्यसलाई मद्दत पु¥याउने नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादमा जाने मान्यतालाई समेत अस्वीकार गर्ने काम भएको छ ।
ड्ड कञ्चनद्वारा जसलाई वैज्ञानिक समाजवाद भनिएको छ, त्यो वैज्ञानिक समाजवाद नभई सुधारवादी समाजवाद हो । उनको भनाइ छ, “वैज्ञानिक समाजवाद स्थापना गर्नकालागि कुनै पनि क्रान्तिकारी कम्युनिष्ट पार्टीको पहिलो शर्त राजनीतिक, आर्थिक एबम् बिचारधारात्मक क्षेत्रमा राज्य सत्ता सर्वहारा वर्गको अग्रदस्ता कम्युनिष्टको हातमा केन्द्रीत गर्ने हो र त्यो सत्तालाई कम्युनिष्टको नेतृत्वमा सर्वहारा, प्रगतिशील जनवादी र क्रान्तिकारीहरुको संयुक्त अधिनायकत्वमा अगाडि बढाउने हो ।” (उक्त पृष्ठ ७) । वैज्ञानिक समाजवाद सर्वहारा वर्गको नेतृत्व र सर्वहारा वर्गकै अधिनायकत्वमा आधारित हुन्छ । कञ्चनले भनेजस्तै प्रगतिशील, जनवादी र क्रान्तिकारीहरूको संयुक्त अधिनायकत्व होइन । यहाँ वैज्ञानिक समाजवादको गम्भीर तोडमरोड र अपव्याख्या गरिएको छ । यसरी स्पष्ट छ, उनले चाहेको समाजवाद वैज्ञानिक समाजवाद नभई सुधारवादी समाजवाद नै हो ।
४. कञ्चन समूहको फुटवाद : कारण र शिक्षा
- साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा साम्राज्यवाद र संशोधनवादका बीच घनिष्ठ सम्बन्ध हुने गर्दछ । दक्षिणपन्थी संशोधनवादीहरूले क्रान्तिकारी कम्युनिस्टहरूको पंक्तिमा निरन्तर चलखेल गर्ने र क्रान्तिकारी कम्युनिस्ट एकतामा भाँजो हाल्ने काम गर्दछन् । कञ्चन समूहको फुटवादी चिन्तन तथा प्रवृत्तिलाई पनि यसरी नै बुझ्नु पर्दछ ।
- कञ्चन समूहको नेतृत्व अराजकतावादी व्यक्तिवाद र निम्न पुँजीवादी मानसिकताबाट अत्यन्तै ग्रसित रहिआएको छ । अराजकतावादी व्यक्तिवादको विशेषता सामूहिकता तथा अनुशासनलाई नकार्नु हुन्छ भने निम्न पुँजीवादमा अस्थिरता, ढुलमुलपन तथा अधैर्य हुने गर्दछ । पार्टीको महाधिवेशन आयोजक समितिको बैठकमा विभिन्न प्रकारका दस्तावेजहरु प्रस्तुत भइसकेको र महाधिवेशनको तिथि मिति समेत निर्धारित भइसकेको अवस्थामा विचारधारात्मक, राजनीतिक तथा सांगठनिक विषयहरूमा हुने महान बहस तथा विचार विमर्शबाट त्रसित हुनु, अधैर्य बन्नु र अपरिपक्वता प्रदर्शन गर्नु वस्तुतः अराजकतावादी व्यक्तिवाद र निम्न पुँजीवादी मानसिकताकै अभिव्यक्ति हो ।
- पार्टी एकता गरिए यता कञ्चनद्वारा नेतृत्वको विषयलाई लगातार उठाउने काम हुँदै आएको थियो । महाधिवेशन पश्चात् बन्ने केन्द्रीय समितिको मूल नेतृत्व कब्जा गर्न र महाधिवेशनमा वैचारिक तथा राजनीतिक प्रभुत्व जमाउन सकिँदैन कि भन्ने आशंकाले कञ्चनमा चर्को असन्तुष्टि, बेचैनी तथा आक्रोश बढ्दै गएको थियो । यस प्रकारको अवस्था पनि फुटवाद तथा गुटवाद एउटा प्रमुख कारण रहेको देखिन्छ ।
- कैयौं सैद्धान्तिक तथा राजनीतिक प्रश्नहरुमा अस्पष्टता, अज्ञानता रहेको कुरा उनले प्रस्तुत गरेको कथित समानान्तर दस्तावेजबाटै छर्लङ्ग हुन्छ । वास्तविक जीवनमा सर्वज्ञ र सर्वथा सुस्पष्ट हुन सकिँदैन र माक्र्सवादी ज्ञान सिद्धान्तले पनि यो कुरा मान्दैन । परन्तु कञ्चनद्वारा यसलाई कहिल्यै स्वीकारिएन । त्यसको परिणाम पनि सो समूह फुटवादतर्फ उद्यत हुन गयो । माक्र्सले भन्नुभएको थियो, “अज्ञान एक राक्षसी शक्ति हो र यो हामीलाई कैयौं त्रासदीहरूको कारण बन्नेछ भन्ने लागिरहेको छ ।” (माक्र्स–एंगेल्स ः साहित्य तथा कला, प्रगति प्रकाशन पृष्ठ ११३ मास्को १९८१) ।
- पार्टी एकता सुरु गरेदेखि नै कञ्चन समुहको नेतृत्वमा क्रान्तिकारी कम्युनिस्टहरूप्रति अविश्वास र अवसरवादी तथा दक्षिणपन्थी संशोधनवादप्रति विश्वास गर्ने चिन्तन प्रभावी बन्दै आयो र यसकारणले पनि यो समूह फुटवादले ग्रसित बन्न पुग्यो । चिनियाा कम्युनिस्ट पार्टीद्वारा रुसी कम्युनिस्ट पार्टीलाई पठाइएको पत्रमा भनिएको छ, “संक्षेपमा अवसरवाद र संशोधनवाद फुटपरस्तताका राजनीतिक तथा विचारधारात्मक आधार हुन् भने फुट परस्तता संशोधनवाद र अवसरवादको संगठनात्मक अभिव्यक्ति हो ।” (महान बहस पृष्ठ १९७, सागर मिडिया नेटवर्क प्रा. लि. २०६७) । कञ्चन समूहको फुट परस्ततालाई पनि उक्त प्रकारले ग्रहण गर्नु पर्दछ ।
उक्त सबै कुराका आधारमा के प्रस्ट हुन्छ भने कञ्चन समूहको गुटवाद तथा फुटवादको मूल आधार र प्रमुख कारण दक्षिणपन्थी संशोधनवाद परस्त चिन्तन तथा प्रवृत्ति नै हो ।
कञ्चन समूहसितको उक्त अन्तःसंघर्ष तथा दुई–लाइन संघर्षको केन्द्रबिन्दुका रूपमा मूलतः (१) सांगठनिक पद्धति तोड्ने तथा अनुशासन मिच्ने कि सो पद्धति तथा अनुशासन मान्ने र (२) नयाँ जनवादको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादमा जाने वा सो नगरी सिधै वैज्ञानिक समाजवादमा जाने भन्ने विषय रहे । परन्तु, उक्त दोस्रो विषय सम्बन्धी दस्तावेज महाधिवेशनका लागि छलफल गर्ने विषय केन्द्रीय संगठन समितिको बैठकमा प्रस्तुत भइसकेको स्थितिमा त्यसलाई हामीले सामान्य अर्थमा नै ग्रहण गरेका थियौँ ।
जस्तो कि यसै विषयसित सम्बन्धित पार्टी केन्द्रको मिति २०८१ श्रावण २ प्रेसित प्रेस वक्तव्यमा भनिएको छ, “कमरेड कञ्चन र उहाँको विचारसँग सम्बन्धित कमरेडहरुलाई महाधिवेशनको प्रक्रिया सुरु भइसकेको स्थितिमा नयाँ जनवाद र वैज्ञानिक समाजवाद लगायतका विभिन्न विषयहरु माथिको बहसमा सहभागी हुँदै तथा आवश्यक संश्लेषण गर्दै महाधिवेशन सफल पार्न आग्रह गर्दछौं । आफ्नो मतलाई स्थापित गर्न विचारधारात्मक संघर्ष गर्नुको साटो मैदानबाट भाग्ने कार्यले क्रान्तिकारी कम्युनिस्ट एकतालाई बाधा र दक्षिणपन्थी संशोधनवादीहरुलाई सहयोग पुग्न जान्छ । त्यसकारण, पार्टी एकताको महत्वलाई विशेष गंभीरताका साथ ग्रहण गरी उक्त पत्र फिर्ता लिएर ऐतिहासिक एकता कायम राख्न र महाधिवेशनलाई अवमूल्यन नगर्न कमरेडहरुलाई विशेष आह्वान गर्दछौं ।”
त्यतिमात्र होइन उनीहरुले बहिर्गमनको निर्णय सार्वजनिक गरिसकेको स्थितिमा पनि कञ्चन सहितका चारजना कमरेडलाई बोलाई एकताबद्ध भई महाधिवेशनमा जान र चित्त नबुझेका विषयमा छलफल समेत गर्नका लागि विशेष जोड दिइएको थियो । तर पनि सो समूहको नेतृत्वले हाम्रो प्रस्तावलाई अस्वीकार गरी बहिर्गमन तथा फुट परस्तताकै बाटो अवलम्बन गर्न पुग्यो ।
पार्टी एकतादेखि अहिलेसम्म आउँदा कञ्चन समूहमा विद्यमान कतिपय गुटबन्दी जन्य तथा रहस्यमूलक गतिविधिहरुबारे सामान्यरुपमा जानकारी हुँदा हुँदै पनि पार्टी एकताको बृहत्तर हितमाथि ध्यान दिँदै त्यस प्रकारका विषयलाई अनुशासनको दायरामा ल्याइएन । यो हाम्रो क्रान्तिकारी धैर्य तथा उदारता थियो । परन्तु यति हुँदा हुँदै पनि अन्ततः कञ्चन समूह गुटवाद तथा फुटवादकै भासमा गिर्न पुग्यो । यस परिघटनाबाट एउटा महत्वपूर्ण शिक्षा के मिलेको छ भने जति मिहिनेत गरे पनि अवसरवादीहरु आफ्ना गलत विचार परित्याग गरेर क्रान्तिकारीहरुसित एकताबद्ध हुन तयार हुँदैनन् ।
सो समूहको बहिर्गमनबाट पार्टी एकतामा केही अवरोध तथा नोक्सानी अवश्य भएको छ । तर पनि पूर्व नेकपा (बहुमत)को एउटा महत्वपूर्ण क्रान्तिकारी हिस्सा पार्टीमा नै आबद्ध रहिआएको छ र पार्टी एकताप्रति प्रतिबद्ध रही महाधिवेशनलाई सफल तुल्याउने अभियानमा दृढतापूर्वक अगाडि बढेको छ । वस्तुतः अवसरवादीहरुको अवसरवादीहरुसित र क्रान्तिकारीहरुको क्रान्तिकारीहरुसित एकता हुन्छ । यही नै क्रान्तिकारी कम्युनिस्ट एकताको द्वन्द्ववाद हो । यति हुँदाहुँर्दै पनि हामी सो समूहसित एकताको ढोका खुला राख्दछौं र आफ्ना गलत विचार परित्याग गरी पार्टी एकतामा सामेल हुन आग्रह गर्दछौं ।
यो समग्र प्रक्रियामा भएका सबल तथा दुर्वल पक्षबाट आवश्यक पाठ सिक्दै एकातिर गुटवाद, फुटवाद तथा दक्षिणपन्थी संशोधनवाद परस्त चिन्तन तथा प्रवृत्तिका विरुद्ध दृढतापूर्वक विचारधारात्मक संघर्ष संचालन गर्दै आसन्न राष्ट्रिय एकता महाधिवेशनलाई सफल तुल्याउने र अर्कोतिर सच्चा क्रान्तिकारी कम्युनिस्ट समूह तथा व्यक्तित्वहरुसित एकताको प्रक्रियालाई जारी राख्ने कार्यमा हामी प्रतिबद्ध रहेका छौं ।
५. वर्तमान राजनीतिक परिस्थिति र आगामी कामबारे
प्रस्तुत राजनीतिक प्रस्तावमा वर्तमान राजनीतिक परिस्थिति तथा आगामी कामबारे उल्लेख गरिएको छैन । महाधिवेशन आयोजक समितिको यो बैठक गुटवाद तथा फुटवादको परिघटनालाई लिएर आकस्मिक रुपमा आयोजना गरिएको र अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिस्थिति लगायतका विषयमा एकता महाधिवेशनमा पारित राजनीतिक प्रतिवेदन (२०८१) तथा महाधिवेशनका लागि प्रस्तुत दस्तावेजहरुमा उल्लेख भइसकेको स्थितिमा तिनै विषयहरुबारे पुनरावृत्तिका रूपमा उल्लेख गरिरहनुको औचित्य छैन । तसर्थ, सम्पूर्ण कमरेडहरूसित आगामी राष्ट्रिय महाधिवेशनलाई भव्यतापूर्वक सफल तुल्याउँदै क्रान्तिको तयारीको प्रक्रियामा दृढतापूर्वक अगाडि बढ्नका लागि विशेष आग्रह तथा अनुरोध गरिन्छ ।
हाम्रा नाराहरु :
- माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारधारा — जिन्दावाद !
- नयाँ जनवादको खुडकिलो पार गर्दै वैज्ञानिक समाजवादतर्फ अघि बढौं !
- गुटवाद, फुटवाद तथा दक्षिणपन्थी संशोधनवादको भण्डाफोर गरौं !
- राष्ट्रिय एकता महाधिवेशन भव्यतापूर्वक सफल पारौं !
- वीर अमर सहिदहरु — अमर रहुन् !
- क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल — जिन्दावाद, जिन्दावाद !