देशमा पछिल्लो समयमा मुख्यत संसदवादी राजनीतिक क्षेत्रमा मुखले एकथोक र कामले अर्कैथोकगर्ने अवसरवादी प्रबृति क्रमशः बढेर गएको देखिएको छ । त्यसैले कस्ले के भन्छभन्दा पनि के गर्छ र यथार्थता के होभन्ने केलाएरमात्र कामगर्नुपर्ने अवस्था रहेको छ । देशमा यतिबेला एकातिर नव सामन्तवादी ब्यवस्था रहेको छभने अर्कातिर विदेशी हस्तक्षेप तीब्र भैरहेको छ । दुबैकाबीचमा प्रत्यक्ष र परोक्ष गठजोड भएका कारण जनपक्षीय शक्तिहरु रक्षात्मक अवस्थामा पुगेका छन् । जनपक्षीय शक्ति र बिचारमाथि एकातिर ठाडो प्रहार भैरहेको छभने अर्कातिर छद्म र अनौपचारिक ढंगले पनि प्रहार भैरहेको छ । ठाडोभन्दा पनि अनौपचारिक र छद्म प्रहारले बढी असर गरेको देखिएको छ । सामन्तवाद मध्यकालीन युगमा इङ्ल्यान्ड र यूरोपमा प्रचलीत प्रथा थियो । सामन्तवादको उत्पत्तिको मूलकारण राजनीतिक अराजकतालाई मानिन्छ । सामन्तवादी व्यवस्थामा सामन्तका बिभिन्न श्रेणिहरु हुने गर्दछन् । जसमा शुरु शुरुमा शीर्ष स्थानमा राजा हुने गर्दथे । आज सो ठाउँमा नव राजाहरुले ओगटेका छन् । सबैभन्दा न्युनस्तरमा किसान, मजदूर र श्रमिकहरु रहने गर्दछन् । आज नेपालमा राजा ढलेपनि नव राजाहरु कायमै छन् । जो जसरी पनि सत्तामा पुग्न र देशमा शासनगर्न चाहान्छन्भने उनीहरुले गर्ने शासन सामन्तवादी ब्यवस्थामा आधारित रहने गरेको छ । नेपालमा बिद्यमान राजनीतिक ब्यवस्थानै नेपाली बिशेषताको छैन । यो अमेरिका लगायतका पश्चिमा राष्ट्र प्रायोजित रहेको बिभिन्न घटनाक्रमहरुले स्पष्ट गरिसकेका छन् । त्यसैले जो जसले ०६२ मा दिल्लीमा भएको १२ बुँदे सहमति र ०७२ को संविधान तथा त्यसअनुसारको बिद्यमान राजनीतिक ब्यवस्थाको आफूलाई संरक्षक र संगठक भन्नेगरेका छन्, उनीहरुले भन्नेगरेको समाजवाद पनि सोही अनुसारको हुने कुरामा द्विमतगर्ने ठाउँ छैन । सही कम्युनिष्टहरुले भन्नेगरेको र चाहेको समाजवादमा पूँजी उत्पादनका साधन (जग्गा जमिन, कलकारखाना, ब्यापार आदि) सरकारको स्वामित्वमा रहन्छ या सामाजिक स्वामित्वमा रहन्छ, जहाँ पूर्णतया निजी पूँजी हुँदैन तर सामाजिक पूँजी हुनसक्छ । नेपालमा नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाले साम्यवादमा लोकतन्त्र थपिदिए समाजवाद हुन्छ र समाजवादमा लोकतन्त्र झिकिदिए साम्यवाद हुन्छभन्ने उल्टोपुल्टो मान्यतालाई स्थापित गराउन खोज्नु भएको थियो । जसलेगर्दा बीपीले भन्नुभएको समाजवाद लोकतान्त्रिक समाजवाद थियो । बीपीले कम्यूनिष्ट समाजवादमा लोकतन्त्र थपेर लोकतान्त्रिक समाजवाद (बीपि मोडल) बनाउनु भएको थियो । जसको बिशेषता भनेको संसदीय व्यवस्था, लोकतान्त्रिक परिपाटी, खुल्ला बजार अर्थतन्त्र, निजी पूँजीवादलाई मात्रात्मक विकासगर्दै लाने भन्ने हो । ०६३ को परिवर्तनपछि सत्ता र शक्तिमा आएकाहरुले समृद्धि, लोकतन्त्र र समाजवादको नारा दिए । राजतन्त्रको भूतले छाडिनसकेको गणतन्त्रको प्रारम्भिक कालमा उपरोक्त शब्दहरु कर्णप्रिय पनि बने । हाल आएर राजनीतिमा सामान्य चासो राख्नेहरुका लागि पनि उपरोक्त कुराहरु खोक्रो साबित हुँदैगएका छन् । बर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले गत बिपी जयन्तीको एक कार्यक्रममा ०७२ को संविधान र बिद्यमान राजनीतिक ब्यवस्था बिपी बिचारधारामा आधारित रहेको बताउनु भएको थियो ।
०७२ को संविधानलेनै समाजवादोन्मुख भनेको बर्तमान संघीय लोकतान्त्रिक ब्यवस्था बिकृत र बिपी बिचारअनुसारको भएको कुरामा द्विमतगर्ने ठाउँ छैन । त्यसैले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भन्नेगरेको समाजवाद यसअघि नेपाली कांग्रेसले प्रयोग गरेको प्रजातान्त्रिक समाजवाद कै नयाँरुप होभन्ने स्पष्ट छ । माक्र्सवादी मान्यताअनुसार साम्यवादमा पुग्ने अस्थायी साधननै वैज्ञानिक समाजवादलाई मानिन्छ । वैज्ञानिक समाजवाद लामो र निरन्तर संघर्षको प्रक्रियामार्फत रुपान्तरित र उन्नत सामूहिक चेतनाको विकासपछि मात्र सम्भव हुन्छ । पुरानै शोच र मनोविज्ञानमा आधारित पछौटे उत्पादन सम्बन्धमा समाजवाद स्थापना हुनसक्दैन । जनताका मौलिक अधिकारमा राज्यले दायित्व लिनुमात्रै पनि वैज्ञानिक समाज होइन । यो आमजनताको औसत चिन्तन, मनोविज्ञान, शोच र स्वार्थबाट माथिउठेको उन्नत सामूहिक तथा मानवीय प्रगतिशील चेतबाटमात्र सम्भव हुन्छ । जसका लागि सामूहिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रियहुँदै मानवीय उन्नत चेतनाको विकास हुनु जरुरी हुन्छ । राज्यले निहीत स्वार्थमा आधारित भएर वितरणगर्नु वैज्ञानिक समाजवाद होइन । साम्यवाद अघिको संक्रमणकालीन सामाजिक आर्थिक व्यवस्थानै वैज्ञानिक समाजवाद हो । यस्तो अवस्थामा केही पक्षहरुले नेपालमा जनवादी क्रान्ति सम्पन्न भैसकेका कारण अव समाजवादी क्रान्तिमा जानुपर्छ भनिरहेका छन् । उनीहरुले देशमा लागूगराएको राजनीतिक ब्यवस्था नै खासमा त्रुटीपूर्ण रहेको छ । जसका कारण देश आर्थिक, सामाजिक र राजनीतिकरुपमा अन्तब्यस्त बन्दैगएको छ । ०४६ सालपछि आएको राजनीतिक ब्यवस्थाले त्यसअघिकै ब्यवस्थाको पदचाप पछ्याउने काम गरेको थियो । कतिपयले त त्यसलाई बहुदलीय पञ्चायती ब्यवस्था पनि भनेका थिए । ०६३ पछि आएको राजनीतिक ब्यवस्थाले पनि तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनका कतिपय पक्षहरुलाई अपनाउने प्रयास गरेको देखिएको छ । त्यसैले ०७२ को संविधान अनुसार देशमा लागूगराइएको बिद्यमान राजनीतिक ब्यवस्था बिशुद्ध संसदीय बहुदलीय ब्यवस्था पनि होइन र कुनै प्रगतिशील राजनीतिक ब्यवस्था पनि होइन । सोही कारणले ०७२ पछि कतिपयले यसलाई खिचडी ब्यवस्था भनेका थिए । हाल आएर हेर्दा यो राजनीतिक ब्यवस्थामा स्पष्टरुपले नव सामन्तवादी चरित्र देखिएको छ । जसको परिचालन नवधनाढ्य र बिचौलियाहरुले गरिरहेका छन् । माओवादी केन्द्रका अध्यक्ष दाहाल आफैले नेपालको शासन सत्तामा बिचौलियाहरु हाबि भएको स्वीकार गर्नुभएको छ । यसले माओवादी केन्द्र र सो पार्टीका अध्यक्ष दाहाल स्वयं पनि बिचौलिया भएको प्रमाणित हुन्छ ।
हाल संसद बाहिर रहेको सबैभन्दा ठूलो क्रान्तिकारी कम्युनिष्ट पार्टीले ०७२ को संविधानलाई देशमा बिद्यमान सबै समस्याहरुको जड भएको ठहर गरिसकेको छ । उसले ०७२ को संविधानको खारेजी र जनसंविधान लागू हुनुपर्ने माग पनि अगाडि सारेको छ । जसलेगर्दा उक्त संविधानअनुसार देशमा लागू गराइएको बिद्यमान राजनीतिक ब्यवस्थाको अन्त्य आजको प्रमुख आवश्यकता भएको छ । जो जसले नेपालमा जनवादी क्रान्ति सम्पन्न भैसकेको ठहरगर्र्दै नेपाली बिशेषताको समाजवादी ब्यवस्थाको नारा दिएका छन्, उनीहरुले पनि आपसमा संगठित हुने प्रयास गरेका छन् । तर त्यो संभव भैरहेको छैन । अर्कातिर क्रान्तिकारीहरुले पनि आपसमा संगठित हुनगरेको प्रयास अपेक्षितरुपमा सफल हुननसकेको अवस्था छ । त्यसैले देशमा राजनीतिक अन्योलता काफि हदसम्म बढेर गएको छ । जसलाई चिर्नु क्रान्तिकारी शक्तिको दायित्व हो । गत शनिबार पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा पुष्पलालको जन्म शताब्दीका अवसर आयोजित एक कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजको चरित्र अझैपनि अर्धसमान्तवादी रहेको बताउँदै त्यसको अन्त्यका लागि नेपालीपनको समाजवादको कार्यान्वयन गर्नुपर्ने धारणा अगाडि सार्नुभएको थियो । सोही कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिष्टहरुको बिरोधगर्दै कम्युनिष्ट सत्ता, भत्ता, पैसा र पदलाईनै साम्यवाद ठान्दछन भन्ने बिचार ब्यक्त गर्नुभएको थियो । त्यहाँको संकेत माओवादी केन्द्र र सो पार्टीका अध्यक्ष दाहालतर्फ लक्षित थियो । उक्त दुबै पार्टी माओवादी केन्द्रका अध्यक्ष दाहालले स्थापना गराएको समाजवादी मोर्चामा रहेका छन् ।
त्यसैले उनीहरुले भन्नेगरेको समाजवाद बिकृत र कम्युनिष्ट राजनीति बिरोधी रहेको तथा सो मोर्चा पनि गलत बाटोमा आगाडि बढिरहेको स्पष्ट भएको छ । हुन त उक्त समाजवादी मोर्चाको परिकल्पनानै कम्युनिष्ट राजनीति र पार्टी परित्याग गरिसकेका हाल नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईबाट भएको हो । डा. भट्टराई हाल मालेमावादलाई छाडेर बिपी बिचारधाराको अनुयायी भएर अगाडि बढिरहनु भएको छ । उहाँलाई झुक्याएर माओवादी केन्द्रका अध्यक्ष दाहालले सो मोर्चा गठन गराउनु भएको हो । पछिल्लो समयमा सो मोर्चाबाट जसपा अलग हुँदैगैरहेको छभने डा. भट्टराईबाट अलग भएको समूह सामेल हुने प्रयासमा रहेको छ । माओवादी केन्द्र नामको पार्टी पनि त्यसैमा छभने माओवादका घोर बिरोधी माधव नेपालको समूह पनि त्यसैमा सहभागी छ । यसरी सामन्तवादी नीति भएकाहरुलेनै नेपालमा समाजवादको नारा दिएर सर्बसाधारण नेपाली जनतालाई झुक्याउने प्रयास गरिरहेको देखिएको छ । क्रान्तिकारी शक्तिद्वारा उपरोक्त प्रयासको निर्मम र देशब्यापि भण्डाफोर आवश्यक भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर