चरिकोट । दोलखाको विगु गाउँपालिका वडा नं. ८ खोपाचाँगु स्थित सोरुङखोलामा बन्न लागिरहेको ५ मेगावाट क्षमताको कालिन्चोक हाइड्रोपावरको पेनस्टक पाइपलाइन खन्ने क्रममा उडेको धुलोका कारण कालिन्चोक गाउँपालिका वडा नं. २ वावरे स्थित स्यार्वाराङका ६६ वर्षीय रत्नबहादुर थामीको चैत्र ३ गते मृत्यु भएको छ । यस घटनाप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दोलखाले गम्भीर चासो व्यक्त गरेको छ । पार्टीका जिल्ला संयोजक अभियानले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।


उनले जारी गरेको वक्तव्यमा भनिएको छ, “सो हाइड्रोपावरको पाइपलाइन खन्दा उडेको धुलोले वावरेको स्यार्वाराङ, ठुलोवाटा, सानोबाटा, पुपुरर्चा, कुतिस्याङ, टुवाँपा, अरेलथली तथा विगु गाउँपालिका वडा नंं ८ का थुम्बटार कापाराङ, कोलेपा, थामीचागु र सोरुङखोला वस्तीलाई धुलाम्य बनाउँदा ७ सय भन्दा बढी घरधुरीका ३ हजार जनसंख्यालाई पूर्ण रुपमा प्रभावित पारेको छ । धुलोका कारण सयौं परिवारको जनजीवन अस्तव्यस्त बनाएको छ भने दर्जनौं परिवार विरामी परेका छन् ।”

सो घटनालाई सत्ता र शक्तिको आडमा राजनीतिकरण नगर्न र पीडितका मागलाई छिटोभन्दा छिटो सम्बोधन गर्न र मृतक परिवारलाई राहत दिलाइदिन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दोलखाले सरोकारवाला पक्षलाई अनुरोध गरेको छ । सत्ता र शक्तिको दुरुपयोग गरी पीडित थामी समुदायलाई झन अन्यायमा पार्ने दुस्प्रयास गरिए त्यसको गम्भीर परिणाम भोग्नुपर्ने पनि चेतावनी पनि सो पार्टीका जिल्ला संयोजक अभियानले एक प्रेस विज्ञप्ति मार्फत् दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर