टिप्पणी

***

युवा विद्यार्थीहरू अग्रगामी परिवर्तनका वाहक हुन् भन्ने कुरामा दुई मत छैन । यसैले युवा विद्यार्थीहरू शक्तिको सापेक्षिक उच्च क्षमताको कारणले गर्दा गतिशील समाजको रुपान्तरण भएको हामी विश्वको परिघटनामा देख्न सक्छौं । अलग अलग हुने भएता पनि समष्टीगतमा यी शक्तिहरूको परिचालन र प्रयोगको आवश्यता बढ्दै गइरहेको छ ।

देशमा चल्ने हरेक परिवर्तनकारी आन्दोलनहरूमा युवा विद्यार्थीहरूको महत्वपूर्ण भूमिका रहेको हुन्छ । २००४ सालको आन्दोलन देखि २०६२/२०६३ को आन्दोलनसम्म युवा विद्यार्थीहरूको सहभागिताले नै यो कुराको पुष्टि गर्दछ । पार्र्टी निमार्ण गर्न जनतालाई गोलवन्द गर्ने आन्दोलनमा होमिइने चरित्र विशेष उल्लेखनीय छ । बारम्बारको त्यो परिवर्तनमा युवाहरूको उत्साहजनक उपस्थिति हुँदाहुँदै पनि उनीहरूले आस्था राख्ने पार्टी नेतृत्वको अदूर्दर्शिताका कारण आन्दोलनले गन्तव्य चुम्न सकेका छैनन् । पार्टी नेतृत्वको सम्झौता परस्त ब्यबहार र सप्तालिप्सा, भ्रष्ट्राचारी चरित्र, आमूल परिवर्तनको आन्दोलनमा अविश्वास साथै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका प्रश्नमा देखिएको अदूर्दर्शिता तथा अवसरवादी प्रवृत्तीले गर्दा आन्दोलनमा युवा विद्यार्थीहरूको सपना साकार हुन सकिरहेको छैन ।

आज देशमा युवा विद्यार्थीहरूलाई साधनको रूपमा मात्र प्रयोग गरिएको छ । हरेक आन्दोलनमा विद्यार्थीहरूको अहम भूमिका रहँदा रहँदै पनि आज देशको विकास निमार्णमा युवा शक्तिको प्रयोग गर्न सकिएको छैन । सत्ताको भाग बन्डामा रमाएका राजनीतिक पार्टीहरू राष्ट्रियता, जनतन्त्र, जनजीविकाका पक्षमा छैनन् भन्ने कुरा दिनको घाम झैं छर्लङ्ग भएको छ । तर केही कुराहरूमा तुलनात्मक विश्लेषण गर्दा केही सुधारमुखी भएको भने देखिन्छ । सम्पूर्ण पार्टीहरूको वरिपरि रहेका सम्पूर्ण युवा विद्यार्थीहरूले रचनात्मक र परिवर्तनशील भूमिकाको बाटोमा खोजिनु पर्दछ । अर्कोतिर देशलाई आमूल क्रान्तिकारी परिवर्तनको दिशामा लैजाने हो भने युवा विद्यार्थीहरूको सचेत आन्दोलन गर्न अत्यन्त्यै आवश्यकता छ ।

यो सरकारले जनताको परिवर्तनको चाहनालाई सम्बोधन गर्न सकिरहेको छैन । नयाँ जोश नयाँ शैली र भरपर्दो शक्ति निर्माण गरेर मात्र आज हामी उक्त चाहनालाई सम्पन्न गर्न सक्दछौं । तसर्थ नयाँ शक्ति आएर जनताको जीविका र राष्ट्रियताका लागि दायित्व लेओस् भन्ने न्यायप्रेमी जनता र नागरिक समाजको चाहना छ । जनताको यस प्रकारको चाहनाले गर्दा नै नाममा भएता पनि देशमा सङ्घीय गणतन्त्र स्थापन हुन पुगेको छ । वास्तवमा राजनीतिले समग्र पक्षलाई समेटेको हुन्छ । यो विद्रोह, सङ्घर्ष र क्रान्तिदेखि लिएर आर्थिक, सामाजिक वैज्ञानिक प्राविधिक र सांस्कृतिक आदि सबै पक्षको छाता पनि हो । अबको समयमा पनि युवा विद्यार्थीको लक्ष्य र चाहनालाई समेट्न सकिएन भने फेरि युवा विद्यार्थीहरूले आन्दोलनको आँधीबहेरीको श्रृजना गर्नु पर्दछ । विगतमा युवा विद्यार्थीहरूले हरेक आन्दोलनमा आफ्नो ज्यानको आहुती दिएका थिए । त्यसरी नै युवा विद्यार्थीका मुद्दालाई समेट्नु पर्दछ । किनभने आज प्रत्यक्ष अप्रत्यक्ष रूपमा देख्न सकेका छौं कि आज पनि धेरै जसो युवाहरू आफ्नो खुट्टामा उभिन सकिरहेका छैनन् । उनीहरू रोजगारका लागि विदेशिन बाध्य भएका छन् ।

युवा विद्यार्थीहरूलाई नेपालमा रोजगार नभएको होइन तर सामन्ती संरकार बोकेका राजनीतिक पार्टीहरूको सोचाइले गर्दा आज नेपाली युवा विद्यार्थीहरूले रोजगारी पाउन सकिरहेका छैनन् । रोजगारी भएको ठाउँहरूमा नातावाद र कृपावादले गर्दा युवा विद्यार्थीहरूले प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् । अब जुनसुकै ठाउँमा पनि युवा विद्यार्थीहरू आफ्नो क्षमताअनुसार अबसरको बाटो खुलाई अगाडि बढाउनु अत्यन्त्यै आवश्यकता छ । अब साधनको रूपमा मात्र होइन युवा विद्यार्थीहरूलाई राजनीतिको नेतृत्वमा पनि उनीहरूको ठाउँ सुरक्षित हुनुपर्दछ । जसरी सिङ्गो घर निर्माण गर्नको लागि बलियो र एउटा खम्बाको आवश्यकता हुन्छ र राष्ट्र तथा समाजलाई तीब्र विकासको गति दिनको लागि युवा राजनीतिमा युवा विद्यार्थीको भूमिका अझ बढाईनु पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर