काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले २९ औं जनयुद्ध दिवस काठमाडौं उपत्यका लगायत देशैभर विभिन्न कार्यक्रमका बिच भव्य रुपमा मनाउने तयारी गरेको छ । पार्टीको केन्द्रीय कार्यालयले माघ मसान्तका दिन देशभर जनयुद्ध दिवसको अवसरमा दिपावली गर्न सर्कुलर गरेको छ । जनयुद्धको पूर्वसन्ध्यामा देशैभर क्रान्तिकारी कम्युनिस्ट पार्टीले दीपावली गर्ने र काठमाडौं उपत्यकामा भने मशाल जुलुस गर्ने तयारी गरिएको छ ।
फागुन १ गते काठमाडौं उपत्यकामा पार्टीको केन्द्रीय समितिको आयोजनामा विशेष कार्यक्रम हुँदैछ । पार्टीका अध्यक्ष मोहन वैद्य किरण लगायत शीर्ष नेतृत्वहरुको उपस्थितिमा पार्टी कार्यालय कुपण्डोलमा दिनको १२ बजे उक्त समारोह सुरु गरिने पार्टी कार्यालयले जानकारी दिएको छ ।
त्यसैगरी उपत्यका बाहिर सात वटै प्रदेश र जिल्लाहरुमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रुपमा जनयुद्ध दिवस मनाउने कार्यक्रम रहेको छ । सबै पार्टी कमिटि र पाटी सम्बद्ध जनवर्गीय तथा मोर्चा संगठनहरुले पनि आ–आफ्नो सापेक्षतामा विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवश मनाउने तयारी गरिएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीले फागुन २ देखि १३ सम्म जनयुद्धकै सन्दर्भमा विभिन्न रचनात्मक कार्यक्रम गरी कार्यकर्ता तथा जनता परिचालन गर्ने– गोष्ठी, सभा, चियापान, सरसफाई आदि कार्यक्रमहरु गर्ने जनाएको छ भने फागुन १४ देखि २१ सम्म सहिद सप्ताह सहिद परिवार, बेपत्ता परिवार, घाइते अपांगहरुसँगको भेटघाट, सम्मान, लगायत विविध कार्यक्रमहरु गर्ने गरी मनाउने समेत जनाएको छ ।
क्रान्तिकारी कम्यृुनिस्ट पार्टीले सबै जिल्ला तथा प्रदेशहरुको समेत जनशक्ति केन्द्रित गरी चैत्र २४ गते काठमाडौमा विशाल जनसभाको कार्यक्रम गर्दैछ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले दशवर्षसम्म सञ्चालित भएको जनयुद्धका कार्यभार मूलरुपमा बाँकी नै रहेकोले त्यो कार्यभार पूरा गर्न क्रान्तिको प्रक्रियालाई नयाँ ढंगले अघि बढाइरहेको छ । पार्टीको आगामी महाधिवेशनबाट नेपालमा नयाँ जनवादी क्रान्तिको कार्यभार पुरा गर्दै वैज्ञानिक समाजवादी क्रान्तिको मार्गमा अगाडि बढ्ने गरी राजनीतिक तथा फौजी कार्यदिशाको विकास गर्ने तयारीमा समेत जुटेको छ । यो पार्टीले आफूलाई दशवर्षे जनयुद्ध र झापा विद्रोहको सच्चा उत्तराधिकारी दावी गर्दै निरन्तर क्रान्तिको झण्डा बोकेर अगाडि बढिरहेको छ । छरिएर रहेका क्रान्तिकारीहरु क्रमशः यही पार्टीको झण्डामुनि गोलबन्द हुँदैछन् । वर्तमान दलाल संसदीय व्यवस्थाको समूल अन्त्य गरी जनताको संघीय जनगणतन्त्र स्थापना गर्ने स्पष्ट वैकल्पिक लक्ष्य र उद्देश्यसहित अगाडि बढेको यो पार्टीप्रति जनआकर्षण पनि बढ्दै गइरहेको छ ।
फेरियो सरकार फेरिएन व्यवस्था
दशवर्ष लामो जनयुद्धमा १७ हजारभन्दा बढीको उच्च बलिदान भयो । हजारौं अहिले पनि वेपत्ता अवस्थामा छन् । हजारौ घाइते, अपाङ्ग भए । आधुनिक नेपालको इतिहासमा सबैभन्दा ठूलो धनजनको क्षति हुनेगरी भएको यस जनयुद्धको तागतले नेपालमा अढाई वर्षदेखि शासनसत्तामा रहेको राजतन्त्रलाई सत्ताच्यूत ग¥यो तर समग्र व्यवस्था बदल्न सकेन । तर त्यही सामन्ती राजतन्त्रात्मक व्यवस्थाले खडा गरेका व्यवस्थाका आधारस्तम्भहरु सेना, अदालत र कर्मचारी प्रशासन र उत्पादन सम्बन्धको संरचनात्मक परिवर्तन गर्न सकेन । आधार पुरानै रह्यो, उपरीसंरचना मात्रै फेरियो । घुमिफिरी उही संसदीय व्यवस्था पुनस्र्थापित भयो । परिणामतः सरकारका अनुहारहरु फेरिरहे तर व्यवस्था फेरिएन । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको डेढ दशकमा भएका मात्रात्मक परिवर्तनहरु पनि उल्टिने, उल्ट्याउने क्रम तीव्र बनेर गएको छ । आधार र उपरीसंरचनाबीचको अन्तरविरोध तीव्र बन्दै गएको छ ।
आधारले आफू अनुकुलको उपरीसंरचनाको माग गर्दा पुनरुत्थानवादीहरुले टाउको उठाउन थालेका छन् । उपरीसंरचनाले आधारलाई बदल्न नसकेपछि भएको मात्रात्मक परिवर्तनमाथि पनि मुठ्ठिभर दलाल पुँजीपतिवर्गले कब्जा जमाएको छ । र, कथित लोकतान्त्रिक गणतन्त्रले प्रतिगामी यात्रा सुरु गरेको छ । यसको पछिल्लो उदाहरण हो– जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने भनी कार्यपालिका (मन्त्रिपरिषद्)ले गरेको निर्णयलाई न्यायपालिका(सर्वोच्च अदालत)ले खारेज गरिदिनु । संविधानले नै जनयुद्धलाई मान्यता नदिएको भन्दै जनयुद्ध र यति ठूलो र महान बलिदानको घोर अपमान गरिनु ।
सबैलाई राम्रोसँग थाहा छ– नेपालमा दशवर्ष लामो जनयुद्ध नभएको भए– देशमा गणतन्त्र आउने थिएन । जनयुद्धको बल (जग)मा भएको १९ दिने आन्दोलनको साझा उपलब्धि नै गणतन्त्र हो । जनयुद्धको मूल लक्ष्य त देशमा पुरानो राजतन्त्रात्मक संसदीय प्रणालीको समूल अन्त्य गरी देशमा नयाँ जनवादी व्यवस्थामा आधारित संघीय जनगणतन्त्रको स्थापना गर्ने । मूल नेतृत्व (प्रचण्ड–बाबुराम)को गद्दारीका कारण बाटो मोडियो र लोकतान्त्रिक गणतन्त्रको यात्रा तय गरियो । मोडिएको यात्रा (लिकबाहिर गएको जनयुद्धको यात्रा)लाई सही दिशा दिन तत्कालीन माओवादीभित्र भीषण अन्तरसंघर्ष तथा दुई लाइन संघर्ष भयो । तत्कालीन पार्टीमा लोकतान्त्रिक गणतन्त्र होइन पार्टीको मूल लाइन – संघीय जनगणतन्त्र हो भन्ने पनि कायम गराइयो तर यसप्रति फेरि पनि प्रचण्ड–बाबुरामले पार्टीलाई धोका दिंदै बुर्जुवा लोकतान्त्रिक गणतन्त्रको लाइन समातेपछि पार्टीमा मोहन वैद्य किरणको नेतृत्वमा बहुमत केन्द्रीय समितिले ऐतिहासिक विद्रोह ग¥यो । नेकपा–माओवादी गठन ग¥यो ।
यो पार्टी दक्षिणपन्थी र वामपन्थी अवसरवादीहरुसँग संघर्ष गर्दै, टुट, फुट, विभाजन हुँदै फेरि विभिन्न ऐतिहासिक एकताको प्रक्रियाबाट अगाडि बढ्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको रुपमा अगाडि बढिरहेको छ । र, यो पार्टीले अहिले पनि जनयुद्धकै मूल लक्ष्य ‘संघीय जनगणतन्त्र’को राजनीतिक लाइन लिएर अगाडि बढिरहेको छ । यसर्थ, जनयुद्ध दिवस मनाउने नैतिक अधिकार यही पार्टीसँग रहेको छ । तर जनयुद्धको ‘ओरिजिनल’ शक्तिलाई अलगावमा पार्न केवल नाममा ‘माओवादी केन्द्र’ राखेर अहिले पनि आमूल परिवर्तनका पक्षधर जनपंक्ति र कार्यकर्ता पंक्तिलाई प्रचण्डहरुले भ्रमित तुल्याइरहेका छन् । नव प्रतिक्रियावादमा पतन भइसकेका, अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका बुख्याँचा साबित भइसकेका उनीहरुले अहिले पनि ‘माओवादी’ र ‘क्रान्तिकारी’ जस्ता शब्दहरुको प्रयोग गरेर अनि माक्र्सवाद–लेनिनवाद–माओवादको खोल ओढेर जनता र कार्यकर्तालाई झुक्याइरहेका छन् । जनता सचेत हुन जरुरी छ ।