शनिबारीय साहित्य : कविता
*** ***
ठुलै रहर थियो आमा तिमिलाइ
यो गर्भे टुहुरोलाइ
ठुलो मान्छे बनाउने
आफ्नै खेतबारीमा धान फलाउने
करेसा भरी फूल फुलाउने
रहरका कैयौं धर्साहरु
तिमिले आँसुको धाराले पखाल्यौ ।
ठुलै अपमान सह्यौ आमा तिमिले
मैले चुस्दै गरेको तिम्रो लाम्टा हेरेर
र्याल चुहाउनेहरुबाट
खाली सिउँदो देखेर
थुक निल्नेहरुबाट
आफन्त भनिनेहरुबाट
भलाद्मी गनिनेहरुबाट
दया देखाएर तिमी सामु आउनेहरुबाट
माया देखाएर तिमिलाइ सुम्सुमाउनेहरुबाट
छोएरै तिमिलाइ मन शान्त पार्न खोज्नेहरुबाट
टाडैबाट पनि तिमिलाइ बलात्कार गर्नेहरुबाट
तिमी त्यही मरेको खसमको सतमा
उसकै चिनोको आशमा
सबैसँग लड्यौ, सबै अपमान पचायौ
यो गर्भे टुहुरोलाइ ठूलो बनाउने आशमा ।
एक बीस पुग्न तीन वर्ष बाँकी नै थियो
तिम्रो सिउँदो पुछियो
सिउँदो मात्रै कहाँ पुछियो र मेरि आमा
तिम्रो आँखाको सपना मेटियो
अनुहारको कान्ति मेटियो
ओठको मुस्कान मेटियो
मनको शान्ती मेटियो
सेतो पहिरन भित्र तिमिले
चढ्नै नपाएको जवानी लुकायौ ।
हुर्कायौ – बढायौ, लेखायौ – पढायौ
साडी र मजेत्रो एउटै लायौ
एउटै त थियो नि आमा तिम्रो चोलो
कहिले मैलै लगायौ त कहिले चिसै
कति दिन बिना ब्रतको उपवास बस्यौ
भोको रात पटुकिले पेट कस्यौ
तप तप छाना तप्किदा
काख भित्र मलाइ लुकाउदा खेरी
तिमी कति भिज्यौ आमा
मेरो निद्राका खातिर
कति रात अनिदै सुत्यौ तिमी ।
म तिम्रो दु:खसँगै बढे
तिमिले भोगेका अपमान सँगै हुर्के
तिम्रो स्वाभिमानको छहारिमा
एउटा अर्को बिरुवा हुर्काउन
तिम्रो संघर्षको पाइलामा
एउटा अर्को पाइला मिलाउन
थुप्रै रहरहरुको चाँग मिलाएर
फाटेको सपनालाई
तिम्रो ममताले सिलाएर
हिजो अस्ति नै त हो नि आमा
तिमिसँग छुट्टिएर विदेस आएको
फर्किएर तिम्रै काखमा निदाँउछु भनेर ।
आमा
तिम्रा सबै बन्धकी सपनाहरु
मुक्त गर्न आएको म
लुटिएका सबै हाम्रा खुशीहरु
खोस्न आएको म
चुडिएका ती सबै रहरहरु
बटुलेर एकै पोको पार्न आएको म
फर्किएर तिम्रो काखमा फेरि मस्तसँग
निदाउन आएको म
आमा, ए आमा
रहरहरु
सपनाहरु
खुसीहरू सङगाल्न नपाई त्यसै आएँ म
आमा, तिम्रो काखपनी नपाउने गरि
उतैबाट चिर निद्रामा आएँ म
मेरि आमा तिमिले छुनै नपाउने गरि
काठको बाकसमा आएँ म ।