शनिबारीय साहित्य : कविता

*** ***

इतिहासले ओढेको निस्पट्ट अँध्यारो मेट्न
सुर्योदयको रातो किरण भेट्न
बोकेर गरुङ्गो भारिको बोझ
जब हामी चढिएथ्यो उकालो
साथमा एउटा फराकिलो छाता
हातमा लट्ठी र कुन्जा
पहाड नाघ्न उक्लिएथौँ
मेचिको धुर्कोदेखि कालीको टुप्पोसम्म
साझा थियो सातु, नुन र सिरौँला
बाँढेर खाइयो सामल र पानी
यात्रामा ठेस लाग्दा सङ्गै झथ्र्यो आँसु
पाकेका फल भेट्दा सङ्गै बड्थ्यो हाँसो
कहिले दर्कन्थ्यो आगोको असिना
ढुङ्गाको आड लागेर गरेथ्यौँ प्रतिवाद
बिषालु आँधीको बेगले जति हिर्काओस्
किन्चित थिएन अत्यास
निराशाका भेल बाढिमा पनि
खुट्टा दह्रा थिए अहँ हल्लिएनौँ ।

शिखर ताकेर हिँडेका हामी
जब भेटियो साघुरो चौतारी
साथिहरूमा जाँगर मरेर आलस्य जाग्यो
छाता च्यात्ने सल्लाह भयो
लट्ठी फाल्ने सल्लाह भयो
साथीहरूको थाकेको तन
चौतारोले तानेको मन
छुटेर दौतरिको साथ
लम्कन पो थाल्यो लामो लामो हात
रोकेर अदम्य यात्राको अभियान
च्यातेर जिउँदो स्वभिमान
फोहोरमा गडेका झिङ्गा जस्तै
सर्प बिच्छी र भ्यागुता सङ्गै
चुर्लुम्म डुबेका दौँतरी छोडेर
केही जोर पैतालाहरू
खोजी रहेछन् अर्काे अभियान
चलिरहेछन् निरन्तर यात्रामा ।

शिखरको चुचुरो चुम्न
आउ साथी सङ्गै यात्रामा जुटौँ
झुल्कने छ नयाँ घाम एक बिहान
दिल बहादुर रम्तेलको समाधिमाथी उभिएर
उनका भतिजहरूले नयाँ सपना उनेको यो समयमा
हर्ष बहादुर र तारामानहरू फेरि कल्पनाको धरातलमा
अर्को अभियानको योजना बुन्दै छन्
नजिकै छन् बासी सपनाका ब्याज खानेहरू ।

प्रतिक्रिया

सम्बन्धित खवर