संस्मरण
शनिबारीय साहित्य : सहिद–स्मृति
***
तेजविलास अधिकारी
मानिसलाई कहिले आफूले बिताएको क्षण र सङ्गत गरेको साथीको सम्झनाले धेरै वर्षपछि पनि सताइरहँदो रहेछ । २१ वर्ष अगाडिको घटना आज ताजा भएर आएको छ । यस विषयलाई जगाउन कृष्णप्रसाद वाग्ले ‘रूपेश’द्वारा लिखित पुस्तक ‘गोरखा र जनयुद्ध’ भर्खर प्रकाशित ‘जेल डायरी’का लेखक मोदनाथ मरहट्टा र मेरा भिनाजु रामप्रसाद रेग्मीको विशेष उत्प्रेरणाले काम गरेको छ ।
२०५८–२०६० कीर्तिपुरस्थित विश्वविद्यालय क्याम्पस नेपाली केन्द्रीय विभागमा पढ्ने विद्यार्थीका नाताले कीर्तिपुरको गोरखनाथ माध्यमिक विद्यालय नपुग्दैको उकालो घुम्तीनेरको जुजुभाइ महर्जनको घरमा मैले कोठा लिएको थिएँ । कक्षा सुरु भएपछि विजयप्रसाद न्यौपाने (जो मेरो स्नातक पढ्दादेखिकै सँगै पढ्ने र एउटै कोठामा बस्ने साथी) पनि सोही कोठामा आउनु भयो । हामी दुई मित्र सँगै बस्ने र सँगै पढ्ने गर्न थाल्यौँ । बेलाबखत परिचित मित्र वा आफन्त आउने कुरा सामान्य नै भयो । एउटा कोठा त्यसभित्र दुईओटा खाट अनि मट्टितेलवाला स्टोभमा खाना बनाउने व्यवस्था थियो । कोठा मध्यम आकारको भए पनि सुत्ने खाट, खाना बनाउने ठाउँ अनि पढ्ने ठाउँ जसोतसो चलेको थियो । कोठाभन्दा पनि हाम्रो मन फराकिलो भएकाले हाम्रा पाहुनाहरू अलि धेरै हुन्थे त्यो नै हाम्रो परिचय पनि थियो ।
२०५९ साल माघ महिनाको १२–१४ गते भएको हुँदो हो । बेलुका ७ बजेतिर भिनाजु कोठामा आइपुग्नु भयो । भिनाजुको साथमा एकजना साथी पनि आउनु भएको रहेछ । भित्र छिर्न अनकनाउनु भएको हो वा ढिलो भएको हो हामीले हार्दिकतापूर्वक भित्र बोलायौँ । खाना पकाउने सुरसार हुँदै थियो । ‘तरकारी के थियो अलि पुग्दैन कि’ भनेर विजयजी किन्न तम्सनु भयो । हामी दुई भाइ नै तरकारी किन्न गयौँ । फर्केर आएपछि भिनाजुका साथीसँग सामान्य परिचय भयो । उहाँले पूरा नाम भन्नु भयो वा भएन केही मेसो भएन । उहाँको वास्तविक नाम हामीले थाहा पाएनछौँ ।
एकछिनमा खाना पाक्यो । चारैजनाले मिठोसँग खायौँ । मिलेर सुत्यौँ । बिहान कालो चिया पकायौँ । चिया पिउनेक्रममा भिनाजुले भन्नुभयो, “म अब निस्कन्छु, साथी १,२ दिन चेकअपको कामले बस्नु हुन्छ होला । खर्चपर्च के छ ?” भिनाजुको अभिभावकीय भनाइले हामी खुसी भयौँ । ‘सब ठिक छ भिनाजु खास समस्या छैन’ भनेपछि भिनाजु निस्कनुु भयो । भिनाजुका साथी बोलीचालीमा अत्यन्तै फरासिला, रेडियोमा समाचार छिनछिनमा सुन्नुपर्ने, बिबिसी सेवा सुनिरहने स्वभावका हुनुहुन्थ्यो । हामी उहाँलाई सर भनेर सम्बोधन गर्दथ्यौँ । तथापि उहाँलाई हामीले साथीहरूका बिच भान्दाइ भनेर चिनाइरहेका थियौँ । पातलो शरीर, फूर्तिलो मान्छे खाना बनाउन पनि तम्सने, पानी ल्याउन परे पनि तयार हुने अनि छिमेकका साथीहरूसँग पनि राजनीति, सामाजिक र शैक्षिक विषयमा छलफल गर्न रुचाउने खालको हुनुहुँदोरहेछ ।
मलाई भिनाजुले सुटुक्क नै केही कुरा भन्नु भएको थियो । अतिथि मित्र भूमिगत नेता हो भन्ने थाहा पाएकाले पनि म अलि सजग थिएँ । त्यस समय कीर्तिपुर क्षेत्रमा कतिबेला सेनाले छापा मार्छ भन्ने केही थाहा थिएन । विजय र म पढाइको विषयमा छलफल गर्दथ्यौँ । अतिथि भित्र रेडियो सुन्नुहुन्थ्यो । आज यसो भएछ भनेर सुनाउनु हुन्थ्यो । उहाँले आफ्नो बारेमा हामीलाई केही भन्नु भएन र हामीले पनि सोधेनौँ । केवल हामीलाई थाहा थियो उहाँ राजनीति रुचाउने मानिस हो । घरबेटीले पनि एकरात भन्दा बढी बस्ने पाहुनाको अनुगमन गर्दथ्यो । त्यसबेला वडा कार्यालयले भाडामा बस्नेहरूको नाम नामेसी सहीछाप लगाएर सूचिकृत गरेको हुन्थ्यो ।
देशको राजनीतिक अवस्था अलि फरक खालको थियो । ज्ञानेन्द्रको शासन र माओवादी जनयुद्धको दोहोरो चाप थियो । दोस्रो दिन पनि सहज ढङ्गले बित्यो । तेस्रो दिन घरधनी जुजुभाइले सोधे, “तेजविलास पाहुना को हो ?” मैले भने, “मेरो फूपूको छोरा हो, उपचारको क्रममा आउनु भएको, १÷२ दिन रिपोर्ट नआउन्जेल बस्नु हुन्छ ।”
“हिजोआज कडा निगरानी गरेको छ त्यसैले हो” उनले भने ।
मैले पनि ढुक्कसँग भनिदिएँ, ‘ठिक छ त्यस्तो मान्छे होइन ।’
भन्न जे भने पनि विजयलाई भन्दा मलाई अलि धेरै विषय थाहा भएकाले म निकै नै सजग थिएँ । तेस्रो दिन भिनाजुका साथीले मलाई केही कुरा खोल्नु भयो । ‘गोरखाको दुर्गम छेकम्पारबाट जिम्मेवारी सरुवा भएको र कार्यविभाजन ठोस नभएकाले यहीबिचमा जाँच्न आएको हो म पर्सी फर्कन्छ’ु भन्दै अब बढीमा २÷३ दिन बस्ने जानकारी पाएँ । “ठिक छ बरु कोठामै पुस्तक पढेर वा रेडियो सुनेर बस्नु होला । छततिर वा बाहिर ननिस्कनु है ।” मेरो कुरामा उहाँले सहमति जनाउनु भयो । चार रात हामी कहाँ बसेको भोलिपल्ट बिहान “धन्यवाद ! बाबुहरू आज म निस्कन्छु फेरि त्यस्तो प¥यो भने मैले कोठा देखेको छु नम्बर पनि लिएको छु आउँला आज हिँड्नु पर्छ ।” भन्दै निस्कने सुरसार गर्नुभयो । हामीले खाना खाएर जान अनुरोध ग¥यौँ । खाना पकायौँ सँगै खायौँ । मैले ‘कहाँ जानु हुन्छ ?’ भनेर सोध्दा ‘म यहाँबाट घ्याल्चोक जान्छु, रामप्रसाद सरलाई भेट्छु अनि सूचना लिएर कार्यक्षेत्रमा जान्छु’ भन्नु भयो । ‘भाडा छ छैन ?’ भनेर सोध्दा ‘छ’ भन्नु भयो । उहाँ गएपछि हामी बातचित गर्दै क्याम्पस गयौँ । विजयले आफ्नो भानिज भाइ पनि क्रान्तिकारीमा लागेर केन्द्रीय सदस्य भएको अनि विभिन्न असजिला दिनहरू व्यहोरेको कथा सुनाएपछि मैले पनि केही विषय भनिदिएँ । घरभरिका साथीहरूले विलासजी भान्दाइ जानुभयो ? भनेर सोधेको प्रश्नमा ‘हो जानुभयो’ भनिदिएँ । अरु धेरै कुरा गर्ने विषय पनि त थिएन ।
पछिल्ला भेटहरूमा मैले भिनाजुलाई सोधे । केही जानकारी पाएँ । मैले २०६० सालमा भिनाजुलाई राम्ररी सोधेँ ‘उहाँको नाम के थियो ?’ भिनाजुले – ‘उहाँको पार्टीको नाम ‘काशी’ र वास्तविक नाम भने शिव काराखेती हो । उहाँको घर धुँवाकोट हो । मजस्तै शिक्षकबाट राजीनामा गरेर पार्टीमा पूर्णकालीन हुनुभएको । उहाँको जिम्मेवारी सङ्गठनतर्फ छ’ भन्नुभयो । भिनाजुबाट मैले उहाँबारे यत्ति जानकारी पाएँ । उहाँको पातलो शरीर, फूर्तिलो शैली, मीठो बोली, सूचनामा रहने स्वभाव अनि सहयोगी भावबाट म प्रभावित भइरहेँ ।
ठिकै भयो त्यो समय छापा मारेन । राम्रै भयो उहाँहरू भएको बेला छापा मारेको भए हामी सबैलाई अप्ठ्यारो पर्ने थियो । मनमा लागिरह्यो । समय बित्दै गयो । कीर्तिपुरको कोठाले मेरा भिनाजु रामप्रसाद रेग्मी, भिनाजुका साथी शिव काराखेती ‘काशी’लाई मात्र बास दिएन थुप्रै परिचित अपरिचित छापामारहरूलाई बास र आवश्यक मात्रामा गास र साथ दियो । त्यहीँ पछिल्लो समय विद्यार्थी नेता एकराज अर्याल ‘विजय’ पनि भूमिगत शैलीमै बसे । २०६३ सालको जनआन्दोलनपछि मैले ती साथीको बारेमा खोजीनीति गरेँ । भिनाजुलाई सोधेँ । भिनाजुले मन भारी पारेर भन्नुभयो ‘बाबु शिव सरलाई त २०६२ मङ्सिरमा नै सेनाले मा¥यो नि ! उहाँकी जीवनसङ्गीनीलाई पनि २०६० सालमै सेनाले मा¥यो’ भनेपछि म धेरै नै दुःखी भएँ । एउटा वास्तविक नाम नै थाहा नपाए पनि सँगै राखेर केही दिन जोगाएको क्रान्ति योद्धालाई राज्यले मारेको खबरले अत्यन्त दुःखी तुल्यायो । आज सो विषयमा मनमा केही कुरा आइरहेकाले केही पङ्क्ति लेख्ने जमर्को गरेको हुँ ।
शिव काराखेती ‘काशी’ जस्तै उहाँकी जीवनसङ्गीनी सम्झना काराखेती ‘अनिता’ पनि शिक्षण पेशा छाडेर जनयुद्धको यात्रामा पूर्णकालीन कार्यकर्ताको रूपमा लाग्नु भएको थियो । सहिद दम्पतीको सम्मानमा यी दुई हरफहरू लेखिरहेको बेला एउटा प्रश्न मनभरि आउँछ, ‘उहाँहरूले देखेको सपनाअनुरूप देश बनाउन कसरी सकिएला ? के उहाँहरू व्यक्तिगत स्वार्थका लागि लाग्नु भएको थियो र ! यदि आफ्नो मात्र विषय सोचेको भए शिक्षकले किन जीवन बलिदान गर्नुपर्दथ्यो त ?’
२०२७ साल माघ ८ गते गोरखाको धँुवाकोटमा जन्मिनु भएको शिव काराखेती ‘काशी’ले २०६२ मङ्सिर १९ गते सहादत प्राप्त गर्नु भयो । शिव सरले राजनीति यात्रामा आफ्नी जीवन सङ्गीनी सम्झना काराखेती ‘अनिता’ (जीवनकालः २०३१ कार्तिक १७ – २०६० पुस २५)लाई पनि गुमाउनु भयो । उहाँहरूले पु¥याउनु भएको योगदानको जति चर्चा गरे पनि कम हुन्छ । सहिदद्वयलाई शब्द श्रद्धाञ्जली !
(सहिद शिव काराखेतीको १९औँ स्मृतिदिवस)