काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीका जनताले एमसीसी परियोजनाका विरुद्ध सशक्त प्रतिरोध गरेका छन् । एमसीसी परियोजना निर्माणको लागि व्यापक मात्रामा प्रहरी परिचालन गरेपछि जनताले प्रतिरोध गरेका हुन् । प्रतिरोधमा उत्रिएका जनतामाथि पुष्पकमल दाहाल सरकारको प्रहरी प्रशासनले व्यापक दमन र धरपकड गरेको छ । एमसीसी परियोजनाको मतियार बनाएर परियोजना निर्माण स्थलमा पुगेको प्रहरीसँगको झडपमा संलग्न भएको भन्दै प्रहरीले १४ जना स्थानीय युवालाई पक्राउ गरेको छ । शुक्रबार राति चार जना र आज बिहान १० जना गरी १४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
आज बिहान पक्राउ पर्नेमा तामाकोशी हाइड्रोपावर पीडित संघर्ष समितिका अध्यक्ष रणजित तामाङसहित १० जना पक्राउ परेका छन् । शुक्रबार राति जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा र हर्कमान वाइवा पक्राउ परेका थिए ।
एससीसीका लागि नेपाल विद्युत प्राधिकरणले लप्सीफेदीमा निर्माण गर्ने सबस्टेसन र त्यसको सुरक्षा पोष्ट स्थापनाको विषयमा विवाद हुँदा शुक्रबार राति प्रहरी र स्थानीयबीच झडप भएको थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार सबस्टेसनको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिको बैठकबाट प्रहरी नायव उपरीक्षक (डिएसपी)को नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट राख्ने निर्णय भएको थियो । सोही निर्णय बमोजिम शुक्रबार प्रहरीको टोली लप्सीफेदी पुगेको थियो । तर, स्थानीयले बाटोमा रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीहरुलाई ढुङ्गामुढा गर्दै प्रतिरोध गरेका थिए ।
स्थानीयको प्रतिरोधबाट डीएसपी देवराज राईसहित तीन जना सुरक्षाकर्मी घाइते भएको प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए । शंखरापुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष सूर्यबहादुर तामाङले बस्तीको बीचमा सबस्टेसन निर्माण गर्न नहुने स्थानीयको माग रहेको बताए । उनका अनुसार शुक्रबार प्रहरी पुग्दा स्थानीयले आफ्ना माग दोहोर्याउँदै प्रदर्शन गरिरहेका थिए । त्यही क्रममा झडप भएको वडाअध्यक्ष तामाङको भनाइ छ ।
यसैबीच, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले लप्सीफेदीका जनताको प्रतिरोधमाथि भएको व्यापक दमन र धरपकडको तीव्र विरोध र भत्र्सना गरेको छ र गिरफ्तार गरिएका स्थानीय युवाहरुलाई तत्काल रिहा गर्न जोडदार माग गरेको छ ।