अफ्रिका, एसिया र ल्याटिन अमेरिकी क्षेत्रका अग्रणी राष्ट्रले युक्रेन युद्धका मामिलामा नेटोको पक्षमा उभिन इन्कार गरेका छन् । यसले ‘ग्लोबल साउथ’ ‘दक्षिणी गोलाद्र्ध’ शब्दावलीलाई फेरि चर्चामा ल्याइदिएको छ । उदाहरणको लागि हालैको एक समाचारमा ‘ग्लोबल साउथका धेरैजसो मुलुक किन रुसलाई समर्थन गर्छन् ?’ भन्ने शीर्षक थियो । त्यसैगरी ‘युक्रेन’ ‘ग्लोबल साउथका मुलुकसामु रुसलाई चुनौती दिन आग्रह गर्दै’ शीर्षकमा अर्को समाचार प्रकाशित भएको थियो । ग्लोबल साउथ भनेको आखिरमा के हो ? किन यो शब्दावलीले महत्व पाइरहेको छ ?

पहिले ‘विकासशील’, ‘कम विकसित’ वा ‘अविकसित’ भनेर चिनिने मुलुकलाई ग्लोबल साउथका मुलुकको संज्ञा दिइन्छ । केही मुलुकलाई छोड्ने हो भने यी अधिकांश मुलुक पृथ्वीको दक्षिण गोलाद्र्धका अफ्रिका, एसिया र ल्याटिन अमेरिकी क्षेत्रमा पर्छन् । सामान्यतया ग्लोबल साउथका मुलुक उत्तर अमेरिका, युरोप र ओसेनियाका मुलुक अर्थात् ‘उत्तरी गोलाद्र्धका तुलनामा गरिब छन्, आम्दानी असमानता उच्च छ, न्यून औसत आयु छ र जीविका असहज छ ।

ग्लोबल साउथ शब्दावलीलाई राजनीतिक अभियन्ता कार्ल ओग्लेस्बीले सन् १९६९ मा पहिलोपटक प्रचलनमा ल्याएको मानिन्छ । क्याथोलिक उदारवादी पत्रिका कमनविलमा ओग्लेस्बीले भियतनाम युद्ध भनेको उत्तरद्वारा ‘दक्षिणी गोलाद्र्धमाथिको आधिपत्यको नतिजा हो’ भनेर लेखेका थिए । तर, सन् १९९१ मा सोभियत सङ्घको पतन अर्थात् ‘दोस्रो विश्व’ को पतनसँगै ‘ग्लोबल साउथ’ शब्दावलीले महत्व पाएको थियो । यसअघि विकासशील मुलुकलाई ‘तेस्रो विश्व’ को संज्ञा दिइन्थ्यो । तेस्रो विश्व शब्दावलीलाई अल्फ्रेड सौभीले सन् १९५२ मा प्रचलनमा ल्याएका थिए, जहाँ उनले विश्वको स्तरीकरणलाई फ्रान्सका तीन मान्यता स्थान ९एस्टेट्स० सँग क्रमशः सामन्त, पादरी र बुर्जुवासँग तुलना गरेका थिए । ‘पहिलो विश्व’ ले उन्नत पुँजीवादी मुलुक, ‘दोस्रो विश्व’ ले सोभियत सङ्घ नेतृत्वको समाजवादी मुलुक र ‘तेस्रो विश्वले’ विकासशील मुलुकलाई जनाउँथ्यो र त्यतिबेला कयौँ विकासशील मुलुक उपनिवेश नै थिए ।

समाजशास्त्री पिटर वोस्र्लेको सन् १९६४ मा प्रकाशित ‘द थर्ड वल्डः अ भाइटल न्यु फोर्स इन इन्टरनेसनल अफेयर्स’ पुस्तकले तेस्रो विश्व शब्दावलीलाई थप चर्चित बनाएको थियो । पुस्तकमा उनले द्विध्रुवीय शीतयुद्धको प्रतिक्रियामा सुरु भएको असंलग्न आन्दोलन निर्माणमा ‘तेस्रो विश्व’ ले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका थिए । वोर्सलेले ‘तेस्रो विश्व’ शब्दावलीलाई सकारात्मकरूपमा लिएका थिए तर यो शब्दले गरिबी, दुर्गन्ध÷फोहोर र अस्थिरताले ग्रसित मुलुकलाई जनाउँथ्यो । पश्चिमा मिडिया ‘तेस्रो विश्व’ लाई न्यून राजनीतिक विश्वसनीयता भएका तानाशाहले चलाइरहेका बनाना रिपब्लिक ९अस्थिर एवं असफल राष्ट्र० पर्यायवाची शब्दका रूपमा प्रयोग गरेर उपहास गर्थे । सन् १९९० को दशकमा सोभियत सङ्घको पतन हुँदा यो शब्दावलीको प्रयोग घट्दै गयो । त्यसैगरी ‘विकसित’, ‘विकासशील’ र ‘अविकसित’जस्ता संज्ञाले पश्चिमा मुलुकलाई आदर्श चित्रण गर्ने र अन्य बाँकी मुलुकलाई पिछडिएको चित्रण गर्ने भएकोले आलोचना व्यहोर्नुपरेको थियो । यस सन्दर्भमा ‘ग्लोबल साउथ’ तटस्थजस्तो सुनिने भएकोले यो शब्दावलीको प्रयोग बढ्दो छ ।

ग्लोबल साउथ भौगोलिक शब्दावली होइन । वास्तवमा ग्लोबल साउथका दुई सबैभन्दा ठूला मुलुक चीन र भारत पूर्णतः उत्तरी गोलाद्र्धमा अवस्थित छन् । यो शब्दावलीको प्रयोगले मुलुकबिचको राजनीतिक, भूराजनीतिक र आर्थिक समानता झल्काउँछ । ग्लोबल साउथका अधिकांश मुलुक साम्राज्यवाद र औपनिवेशिक शासन व्यहोरेका मुलुक हुन् । अफ्रिकी मुलुक यसका प्रस्ट उदाहरण हुन् । यो बुझाइ डिपेन्डेन्सी थ्योरी (निर्भरताको सिद्धान्त) सँग मिल्दोजुल्दो छ, जहाँ विश्व अर्थव्यवस्थालाई केन्द्र र परिधिमा राखेर परिभाषित गरिएको छ । सजिलो भाषामा भन्ने हो भने ‘पश्चिम र बाँकी’ मा विश्वलाई परिभाषित गरिएको छ ।

ग्लोबल साउथ र ग्लोबल नर्थका मुलुकबिच विश्वयुद्ध र शीतयुद्धकालका असन्तुलित सम्बन्धलाई हेर्दा ग्लोबल साउथका मुलुक कुनै पनि शक्तिसँग जोडिन नचाहनु स्वाभाविक हो । ‘तेस्रो विश्व’ वा ‘अविकसित’ जस्ता शब्दावलीले आर्थिक शक्तिहीनता जनाए पनि ‘ग्लोबल साउथ’ ले सो अर्थ जनाउँदैन ।

विश्व बैङ्कले भनेझैँ २१ औँ शताब्दीदेखि उत्तर एट्लान्टिक क्षेत्रबाट एसिया–प्रशान्त क्षेत्रमा ‘सम्पत्तिको स्थानान्तरण’ भएको छ, जहाँ विश्वका धनाढ्यहरूको उदय भइरहेको छ । सन् २०३० भित्र विश्वका चार सबैभन्दा धनी मुलुकमा ग्लोबल साउथका तीन मुलुक पर्ने प्रक्षेपण गरिएको छ । प्रक्षेपण गरिएका मुलुकलाई आर्थिक स्तरअनुसार श्रेणीबद्ध गर्ने हो भने चीन पहिलो, भारत दोस्रो, अमेरिका तेस्रो र इन्डोनेसिया चौथो मुलुक बन्नेछ । कुल गार्हस्थ उत्पादनका मामिलामा ग्लोबल साउथको बर्चस्व रहेको ब्रिक्स मुलुकले ग्लोबल नर्थका शीर्ष मुलुकको जी–सेभेनलाई उछिनेका छन् । अहिले न्युयोर्कमा भन्दा बढी अरबपति पेइचिङमा छन् ।

ग्लोबल साउथको यो आर्थिक उन्नति त्यहाँका मुलुकका राजनीतिक अग्रतासँगको सामञ्जस्यता छ । विश्व राजनीतिक परिदृश्यमा ग्लोबल साउथका मुलुक दिनानुदिन स्थान बनाइरहेका छन् । उदाहरणको लागि चीनले इरान र साउदी अरबबिच मेलमिलाप सिर्जना गरिदिएको छ त्यसैगरी, ब्राजिलले युक्रेन युद्ध समाप्त पार्ने प्रयासमा शान्ति योजना अघि सारेको छ । यो आर्थिक एवं राजनीतिक शक्ति स्थानान्तरणका कारण भूराजनीतिविज्ञ पराग खन्ना र किशोर महबुबानी ‘एसियाली शताब्दी’ को उदय भइरहेको लेखिरहेका छन् । ओलिभर स्टुइएङ्कल जस्ता राजनीतिशास्त्री ‘उत्तर–पश्चिमा विश्व’बारे चर्चा गर्न थालिसकेका छन् । तसर्थ ‘विकासशील मुलुक’ र ‘तेस्रो मुलुकले’ प्रस्तुत गर्न नसकेको राजनीतिक एवं आर्थिक सामथ्र्य ग्लोबल साउथले प्रदर्शन गरिरहेको छ भन्नु अतिशयोक्ति हुँदैन ।

(हेइन फ्रेडरिक एस पर्डी सेन्टर फर द स्टडी अफ द लङ्गर–रेन्ज फ्युचर, बोस्टन विश्वविद्यालयका अन्तरिम निर्देशक हुन् ।)
– द कन्भर्सेसनबाट

प्रतिक्रिया

सम्बन्धित खवर