१० बैशाख कागेश्वरी मनोहरा – १, काठमान्डौ ।

अखिल नेपाल क्रान्तिकारी वैदेशिक मजदुर संघ सम्बद्ध मजदुरहरुको कागेश्वरी मनोहरामा भेला सम्पन्न भएको छ ।रोशन कार्कीको अध्यक्षतामा सम्पन्न भेलाले दिपक बुढाथोकीको संयोजकत्वमा १३ सदस्य कमिटी गठन गरेको छ ।

भेलालाई महासंघका महासचिव वसन्त बोगटीले अहिले देशमा मजदुर किसानहरू माथि शोषण गर्नेको अन्यायपूर्ण शासन चलिरहेको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो “अहिले हाम्रो देशमा शोषक र सामन्तहरुको शासन छ, यहाँ अब गरिबको घरमा चुल्हो बल्न छोडिसक्यो, मजदुर किसानहरूको चुल्हो बल्न छोडिसक्यो । यो सरकारले देशका श्रम, शिप र गतिशील युवाहरूलाई मध्यपूर्व जान बाध्य पारेको छ । युवाहरूको रगत पसिनासँग साटिएको रेमिटेन्सले यहाँका मन्त्री, संसदहरु भ्रष्ट जिन्दगी बाँचिरहेका छन । तर गाउँमा एउटा हस्पिटल छैन, राम्रो स्कुल छैन, एउटा उद्योग छैन । लुटतन्त्रमा यस्तै हुन्छ । यो अति भयो । अब यसलाई, यो व्यवस्थालाई भत्काउनु पर्छ । मजदुर किसानहरू मिल्ने हो भने यो भत्काउन सकिन्छ । हामी जनताको निशुल्क स्वास्थ्य, शिक्षा र न्यायका निम्ति जुधिरहेका छौं । हामी यही देशमा उद्योग कारखाना सञ्चालन गरेर लाखौं युवाहरुलाई त्यसको हकदार बनाउन चाहन्छौं ।“

त्यससँगै उहाँले आगामी मई – १ अर्थात १३४ औं अन्तर्राष्ट्रिय मजदुर आन्दोलन दिवसलाई ऐतिहासिक र प्रभावकारी बनाउने गरि भूमिका खेल्न र वैशाख १८ गते बसन्तपुरको कार्यक्रममा सहभागी हुन भेलामा उपस्थित सम्पूर्णमा आव्हान गर्नुभयो । “तपाईहरुलाई बैशाख १८ गते बसन्तपुरमा निमन्त्रणा छ, त्यो दिन मई – १ अर्थात अन्तर्राष्ट्रिय मजदुर आन्दोलन दिवस हो, इतिहासमा मजदुरवर्गको संघर्ष सामू पुँजिपतिवर्गले घुँडा टेकेको दिन । त्यहाँ दुई कम्युनिस्ट पार्टीहरु नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) को एकता घोषणा हुन्छ, असलमा कम्युनिस्ट पार्टीहरु एकताबद्ध हुन जरुरी भएकोले हामी एकताबद्ध हुँदै छौं, किनकि बलियो दुश्मनसँग जुध्नु छ, त्यसका निम्ति हाम्रो एकता अनिवार्य हुन्छ । तपाईहरु पनि त्यो एकतामा सहभागी हुनुपर्छ ।“

 

महासंघका उपाध्यक्ष इश्वर तिमिल्सिना प्रमुख अतिथि रहनुभएको भेलामा महासंघका कोषाध्यक्ष कुमार घताने अतिथि हुन्हुन्थ्यो । केन्द्रीय र प्रदेश अभियान दलबाट क्रमश: अर्जुन बोगटी, राजन दाहाल, रोशन बुढाथोकी सहितको उपस्थिति रहेको थियो । भेलाको सञ्चालन महासंघका केन्द्रीय सदस्य युवराज थापाले गर्नुभएको थियो ।

यो अभियान अन्तरगत महासंघले पाँच लाख मजदुरसम्म पुग्ने, दशहजार मजदुर संगठित गर्ने र एक हजार नयाँ इकाई निर्माणको लक्ष्य लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर