काठमाडौं । प्रकाश सपुतको गीत ‘सकम्बरी’ ले सम्पूर्ण महिलाहरुको चरित्र हत्या र स्वाभिमानमाथि गम्भिर आघात पुर्‍याएको भन्दै दुई क्रान्तिकारी महिला संगठनले यस्ता महिलाविरोधी गीतहरु बन्द गर्नुपर्ने आवाज उठाएका छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की अध्यक्ष अम्बिका मुडभरी र अखिल नेपाल महिला संगठनकी अध्यक्ष अन्जना तामाङले बुधबार एक प्रेस वक्तव्य जारी गर्दै समाजमा सम्पूर्ण महिलाको चरित्र हत्या गर्ने नियत राखिएको यस्ता गीतहरु तत्काल बन्द गरिनु पर्ने बताएका हुन् ।

यस्तो छ वक्तव्यको पूर्णपाठ :

संयुक्त प्रेस वक्तव्य

“नेपाली समाजमा सामन्ती पितृसत्तात्मक दृष्टिकोणका कारण महिलाहरुलाई पुरुषहरूको खेलौना, मनोरञ्जन साधन, असक्षम, अवला, परनिर्भर र अयोग्य देख्ने चिन्तन कायमै छ । यहि चिन्तन, प्रवृत्तिका कारण सामाजिक, धार्मिक, आर्थिक सांस्कृतिक हिसाबले महिलाहरूलाई अपहेलित गरिदै आइरहेको छ । यसैको निरन्तरताको रूपमा प्रकाश सपुतले हालै बजारमा ल्याएको सकम्बरी गीतप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । महिला आफ्नो पहिचान बनाउन वा आत्मनिर्भर हुन संघर्ष, श्रम र सृजना भन्दा देहव्यापार गरेर वा पुरुषसंँग जोडिएर मात्र अघि बढ्न सक्छन् भन्ने दर्शाउन खोजिएको छ । महिलाले आफ्ना आधारभुत आवश्यकता पूरा गर्न गतल बाटोमै लाग्नु पर्छ ?? स्वाभिमानपुर्वक कमाएर आफ्नो आवश्यकता पूरा गर्न महिला सक्षम छैनन र ? आफ्नो जिविकोपार्जनको निम्ति संघर्ष गर्दागर्दै गलत बाटो रोज्न बाध्य परिएका महिला चाहिँ बेश्या हुने तर ऐयासीको निम्ति त्यहि महिलाको शारीरिक दोहन गर्ने पुरुष चरित्रवान र इज्जतदार रहिरहने घृणित सामन्ती चिन्तनको दरिलो नमुना गीतमा व्यक्त गरिएको छ ।

भर्खरै आत्मनिर्भरताको बाटोमा लम्कदै गरेका महिलाहरुको निम्ति बाधक छ यो गीत ।आफ्नो घरपरिवार देखि हरेक कार्यक्षेत्रमा मनोबैज्ञानिक हिंसा भोगिरहनु पर्ने समाजमा यो गीतले जीविकोपार्जनको निम्ति घरभन्दा बाहिर बस्नु पर्ने वा रात्रीकालिन रोजगारी गर्नुपर्ने महिलाहरुलाई पलपल अपमानित अनुभुत गराउँछ । के रात्रिकालीन रोजगारी बेश्यावृती मात्र हुन्छ ? आम महिलाको श्रम, सृजना र प्रगतिप्रति गम्भीर आंशकाको भाष्य निर्माण गरिएको अपमानजनक रचनाप्रति हाम्रो संगठन गम्भीर आपत्ति प्रकट गर्दछ । सर्जकका सृजनाले कुनै पनि वर्ग, लिङ्ग, जाति/समुदाय र क्षेत्रका जनताको अपमान गर्ने अधिकार हुँदैन । समाजमा सम्पूर्ण महिलाको चरित्र हत्या गर्ने नियत राखिएको यस्ता गीतहरु तत्काल बन्द गरिनु पर्दछ ।

पुँजीवादले सृजना गर्ने नै उपभोक्तावादी संस्कृति हो । यो संस्कृतिले मानव जाती र कला संस्कृति सबै बिक्री योग्य ठान्दछ । व्यावसायिक सिर्जनाका नाममा महिलामाथि हुने उत्पीडन र बलात्कार जस्ता अपराधका बारेमा चुइँक्क नबोल्ने कथित सर्जकहरुलाई अपवादका घटना, जो सामन्ती पितृसत्तात्मक समाजकै उपज हुन त्यसलाई लिएर महिलाहरूलाई अपमानित हुनेगरी सिर्जना गर्ने अधिकार छैन । आफ्नो परिश्रम र सिर्जनाले परिवार र देश धान्ने महिलाहरुको आदर्शीकरण जरुरी रहेको समाजमा त्यसका विपरीत गाइने गीतहरुले सकारात्मक सन्देश प्रवाह गर्न सक्दैन ।

त्यसैले क्रान्तिकारी र परिवर्तनकारी शक्तिहरु एक भइ उपभोक्तावादी संस्कृतिविरुद्ध उत्पीडित वर्गको त्याग, वीरता र बलिदानलाई स्थापित गर्ने नयाँ बहस र नुतन संस्कृति निर्माणमा जुटौ । आत्मसम्मान र स्वाभिमानका निम्ति मुकदर्शक बनेर अपराधिक मनोवृत्तिलाई बढ्वा दिने हैन प्रतिकारमा बोल्न सम्पुर्ण क्षेत्रका महिलाहरू तथा सम्पूर्ण जनसमुदायसंँग हाम्रो संगठन हार्दिक अपिल गर्दछौ ।”

प्रतिक्रिया

सम्बन्धित खवर