कारागारमा पहिलो पाइला
बाहिर बजारभरि कफ्र्युको आदेश ओच्छिएको छ । हिरासत भित्र कोचिएका थुप्रै साथीहरूलाई छोडेर हामी चौध जनालाई बाहिर डाकियो । दिउँसो जेलपूर्जी नदिइँदो हो त त्यस बोलाइएको पछाडि भयानक योजना जोडिएको हुनसक्थ्यो । भोलि बिहानका खबर पत्रिका वा साँझका रेडियो र टेलिभिजनमा मुठभेडमा चौध आतङ्ककारी मारिएका घोषणा हुन्थ्यौं तर तत्कालका लागि हामी त्यो घोषणाबाट पृथक थियौं । भविष्य बारे त के हुन्थ्यो…?
जिल्ला प्रहरी कार्यालयको ढोका नजिकको सुचनाकक्षमा हामी लहरै उभिएका छौं । भित्तामा झुण्डिएको चालिस वाट पावरको चीमले फैलाएको मझौला उज्यालोमा मैले एक अर्को साथीको अनुहार नियालें, चिडियाघरमा थुनिएका भोका चिम्पाञ्जी जस्तै अनुहार र शरीर थियो । कालो अँध्यारो गुफाबाट निक्लेका हाम्रा अनुहारमाथि ड्युटिमा खटिएका प्रहरीहरूका रिसाहा आँखाले केही भनेझैं थियो ‘ए छिटो गर !’ बर्दीधारीको बीचबाट एउटा आदेश पोखियो । हामी चौध जना साथी सात जोरमा नारियौं । दुई जनाको दरले हत्कडीको जोतारामा हामी बाँधियौँ ।
“लौ सुन साले हो, दाँया बाँया हैन नि फेरि सुट हुनेछौ ।” अघिको आदेशवाला वर्दीधारी बोल्दै थियो । मुखबाट आवाज निस्कनु अघि ह्वास्स नाकै फुट्ने गन्ध हाम्रो नाकमा ठोकिन आइपुग्यो । लौ चला । त्यही वर्दीधारीको आदेशलाई शिरोपर गरेर जवानहरूले सलाम ठोके र हामीलाई हिडाइयो । माघ महिनाको चिसो र कालो बादलबाट छिटपुट पानी झर्न थाल्यो । मानौं हाम्रो जेल यात्रामा आकाश पनि रोइरहेछ । हाम्रो अवस्था नहेर्न ताराहरू पनि बाक्लो बादलको पाखीमा लुकेका छन् । सोच्दै नसोचेको आकस्मिक जेल यात्राले मन तम्तमाइलो छ । सँगै नारिएका साथी सीताराम घिमिरेका आँखाबाट झरेका आँसु देखेर मैले पनि मन थाम्न सकिन । मान्छेहरू भन्छन्– नारी मन कोमल हुन्छ भावुक हुन्छ र छिट्टै रुन्छन् । अँ हँ मलाई त्यस्तो लाग्दैन भित्री मनमा घाउ लागेपछि मेरो मन चाहिँ थामिँदैन, आँसु झर्छ । किल्कीले कोक्याउन आइपुग्छ । रुने मामिलामा म धेरै कमजोर छु । रुवाइको हीनताबोध मैले अहिलेसम्म गरेको छैन । मन हो आखिर नारी होस् कि पुरुष मानवीय सम्वेदना भैहाल्दो रहेछ ।
हामी मध्ये केही साथीहरू चालिस पैंतालिस दिन र अझ कोही त साठी दिनभन्दा बढी हिरासतमा कोचिएका थियौं । एकाएक हिरासतको कुँजाईबाट मुक्त भएर कालो घर जानु पर्दा थप पिडाबोध हुने नै भयो । अँध्यारो रात अप्ठ्यारो बाटो सिमसिमे माघे झरीमा दाँत कट्कटी बजिरहेछन् । त्यसमा पनि अर्को डर हाम्रो टाउकोमाथि घुमिरहेझैं लाग्छ । कतै सुरक्षाकर्मीको औंला राइफलको स्टिगर तान्न त पुग्दैन मान्छेलाई नियन्त्रणमा लिने बिबेक हराएपछि त्यसो हुन पनि के बेर ! बिबेक जागीर भन्दा ठुलो हुन्छ । तर बिबेक भन्दा आदेश ठुलो हुन्छ कतै त्यो आदेश आउन पो छ कि ?
दशैंका निमित्त डोरिएका खसीझैं हामी डोरिएका छौं । हरेक एकाजोडिका अघि र पछि र दायाँ र बायाँ चार चार थान राइफलकर्मीहरू छन् । झण्डै आठ मिनेट पैदल हिँड्दा पुगिने जेलघर पुग्न बीस मिनेट समय लाग्छ । ओह्रालो र साँघुरो बाटो ढुङ्गे सिढी र उवड खावडमा कुँजा खुट्टाहरू धर्मराउँछन् । पाइलैपिच्छे भय र सन्त्रासले आङ सिरिङ्ग हुन्छ । उफ् ! कस्तो उच्चाटमय लाग्छ यो जेल यात्रा ! जीवन भोगाइका विगत भन्दा बेग्लै भनुभूत भइरहेछ ।
डोरिँदै डोरिँदै हामी काराघरको मूल ढोकामा आइपुग्यौं । सात जोडी सकुशल थियौं । मन जति घाइते भए पनि तन सकुशल भनौं । फलामे ढोकाभित्र छिरेपछि मैले एकपटक बाहिर फर्केर हेरें । बाहिरी संसार निष्पट्ट कालो थियो । फलामे ढोका नजिकै उभिएको सेन्ट्रिले ट्वाङ ट्वाङ नौ बजेको सङ्केत दियो । अग्लो पर्खालले घेरिएको एउटा सेतो घर, मूल ढोकाको दाहिने पट्टि राता किरिमिरी अक्षरका हरफहरूमा मैले आँखा जुधाएँ । त्यहाँ लेखिएको थियो– ‘हामी सुधारगृह आएका छौं ।’ निन्द्रामा पनि एकलौटी उपभोग र आराम खोज्दा रहेछन् । एउटाको बानी व्यहोरा अर्कोसँग नमिल्ने रहेछ । अझ खास गरी जेल र हिरासत बस्दा त त्यहाँ म नै निर्णायक हुन्छ । हामी भनेर न त हिरासतमा बयान दिइन्छ न त जेलमा सङ्गठित नै भइन्छ । फुट्ने र फुटाउने ठाँउ हिरासत र जेल नै रहेछ ।
मैले आफैसित प्रश्न गरें– तैँले विग्रने काम के गरिस् ? विगत फर्केर आफैबारे खोज्न थालें खोइ त्यस्तो केही भेट्टाइन ।
कारागारभित्रका आचारसंहिता र चलनचल्तिबाट म अञ्जान थिएँ । पहिलो पटक पनि गृह प्रवेश गरेकी नयाँ दुलहीझैं अन्यौल, कौतुहल र अज्ञानताले मलाई थिचिरहेका थिए । केही साहित्यकारहरूका जेल संस्मरण पढेको थिएँ । थोरै साथीहरूको अनुभवको शब्दहरू सुनेको थिएँ र एउटा अमुर्त बिम्ब मनमा खेलिरहेको थियो । जब साक्षात जेलभित्र पाइलो राखें अनि म थोरै खुशी पनि भएँ, किनकि म जिउँदै छु । हत्कडीको साँचो खोलिसकेपछि एउटा पचास वर्ष आसपासको प्रौढले जेलभित्रका आचारसंहिता बारे एउटा व्याख्यान दिए । विद्यालयमा विद्यार्थीहरूलाई शिक्षण कार्यमा लिप्त मेरो मन उनको व्याख्यानले उखर्माउलो छुटायो ।
समस्या पहिलो रात कटाउनुको थियो । मौजुदा ओढ्ने ओछ्याउने कतै थिएन । हामी जुम्राहरूलाई ओढ्ने सहयोग गरेर जुम्रा सार्न को चाहन्छन् र ? मानिस आफू जतिसुकै फोहोरबाट आएको होस् पछि फर्केर हेर्दैन । आफूभित्र जतिसुकै कालो होस् ऊ आफू चोखो र पवित्र छु भन्दै अर्कालाई शुद्धता ग्रहण गर्न उपदेश दिन्छ ।
एउटा हल सरहको कोठामा अधिकांश शिक्षक साथी हुनुहुन्थ्यो । रात छिपिंदै गयो । हामीसँग ओड्ने ओछ्याउने केही छैन आफ्नै शरीर देख्दा सिक्सिको लाग्छ । हामी साँच्चै घिनलाग्दा छौं । मानिसको आदत उसको लवाई खवाई, बानी व्यहोरा र संस्कारमा निजी हुन् सामाजिक वा जनपक्षीय नारा दिनेहरू कतिपय बुद्धि निन्द्रामा पनि एकलौटी उपभोग गर्दछन् । बानी व्यहोरा अर्कोसँग नमिल्दो रहेछ । जेल वा हिरात बस्दा पनि म नै निर्णायक हुन्छ । आफ्नै हितमा वयान दिइन्छ । हिरासत र जेल एकै रहेछ ।
शिक्षक सङ्गठनका अध्यक्ष त्यहाँ थिए । कोषाध्यक्ष थिए । जिल्ला समितिका सदस्यहरू पनि थिए । अझ यसो भनौं २०४८ सालको चुनावमा तत्कालिन संयुक्त जनमोर्चालाई समर्थन गर्ने र भोट हाल्नेहरूलाई छानी छानी पक्राउ गरेका थिए र आतङ्ककारी तथा विध्वंसात्मक अध्यादेश अन्तर्गतको मुद्धा भिराइएको थियो । त्यो त मङ्सिर २० गते सुरक्षाले नियन्त्रणमा लिएका व्यक्तिहरू हिरासतभित्रै कोचेर माघ १ गते माओवादी निकट सङ्गठनको बैठक बस्दै गर्दा बम, पेस्तोल र दस्तावेज गिरफ्तार गरिएको भन्ने व्यहोरा पूर्जीमा लेखिएको हुन्थ्यो । छ्या सबैभन्दा नाँगिएर झुट बोल्ने राज्य संयन्त्र नै हुँदोरहेछ । कति निकृष्ट घृणा र झुटका खेती गर्ने रहेछन्, सत्ताको आडमा राजनीतिक कार्यकर्ता ।
कारागारमा एकोदरका दाजुसँगको भेटमा म खुशी नै मान्नु पथ्र्यो परन्तु दाजुको लागि एउटा दुःखद खबर सुनाउनै पर्ने भएकाले ममा खुसी थिएन । किनकि दाजैको गिरफ्तारीपछि दुईवटा दुःखद घटनाको पत्यक्षदर्शी म थिएँ । तसर्थ एकाघरको भाइको कर्तव्यले पनि सुनाउनै पथ्र्यो । दाज्यैलाई थाहा नदिनु वहाँप्रति मेरो बेइमानी र झुटो पनि हुन्थ्यो । दाज्यैले नसोध्ने कुरा पनि थिएन र मैले लम्ब्याएर महिना, वर्ष धकेल्न पनि उपयुक्त हुँदैन थियो । हुने कुरा भइसकेपछि एकदिन त दाज्यैले थाहा पाइहाल्नु हुन्थ्यो । कुनै पनि सत्य घटना छिपाएर कहाँ छिप्छ र ! दाज्यैको गिरफ्तारीपछि छोरी मिना र छोरा महेन्द्र १५ दिनको अन्तरमा शहीद भएका थिए ।
एउटा लामो कोठा पूर्वपट्टि लहरै दोहोरी ओच्छ्यान छ । पशिचमपट्टि थोरै खाली ठाउँ हाम्रा लागि मिलाएयो । चौकीदारले दुई चार खाली बोरा ल्याएर दियो । एक दुई थोत्रा कम्मलले रात कटाउनु पर्ने भयो । हिरासत भन्दा जेल केही सुविधाजनक पनि रहेछ । पानी पिउन, ट्वाइलेट जान अनुमति लिन नपर्ने रहेछ । यद्यपि दाइ नाइके, भाइ नाइकेहरूको निगरानी त हुँदैहोला । हामी भन्दा बीस बाइस दिन अघि जेल झर्नेहरूबाट सामान्य नियमको जानाकारी पाइयो । त्यसो त हामी चौध जनाको समूहमा चार वर्ष अघिदेखि शा.सु.को अभियोगमा जेल बसेका राजन गोतामे, सीताराम भट्टराईहरू पनि थिए । एउटै पेशा र वर्गका आफन्तजनहरू उमेरले दाइहरू, भाइहरू एउटै कोठाभित्र बस्दा वनभोज वा शुभविवाहको जन्ति भएर बास बसे जस्तो पो लाग्यो । पहिलो दिन मैले जेल भन्ने अनुभुत नै गरिन । गाउँघरतिरका नयाँ नौला खबर सुन्न सुनाउनुले धेरै समय गयो । कति बेला निदाएछु ब्यूँझदा उज्यालो भइसकेछ । मूल ढोकाबाट बाहिर हेर्दा अग्लो पर्खाल ठडिएको थियो । भान्सामा स्टोभको एकोहोरो ध्यार ध्यार स्वर आइरहेको थियो ।