५ चैत उत्तर कोरिया ।
उत्तर कोरियामा अमेरिकासँग लड्न भन्दै ८ लाख युवाले नाम टिपाएको खवर प्राप्त भएको छ । उत्तर कोरियाका ८ लाख युवाले ‘अमेरिकी साम्राज्यवाद’ सँग लड्न स्वयंसेवक बन्ने निर्णय गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले बताएका छन् ।
यो वर्ष उत्तर कोरियाले कीर्तिमानी संख्यामा क्षेप्यास्त्र परीक्षण गर्नुका साथै आणविक हतियार प्रयोगको धम्की पनि दिइरहेको छ । पछिल्लो समय दक्षिण कोरिया र अमेरिकाले सैन्य सहकार्य पनि बढाइरहेका छन् । यही साता यी दुई मुलुकले गत पाँच वर्षकै सबैभन्दा ठूलो सैन्य अभ्यास सुरु गरेका छन् ।
यी सबै अभ्यासलाई उत्तर कोरियाले आक्रमणको पूर्वाभ्यास भन्ने गरेको छ । त्यसको जवाफ दिने चेतावनी पनि उसले दिँदै आएको छ ।
जारी सैन्य अभ्यासलाई सरकारी न्युज एजेन्सीले आणविक युद्ध उक्साउने अमेरिकाको प्रयास भनेको छ । त्यसैले अमेरिकासँग लड्न लाखौँ मानिसले नाम टिपाएको उसले जनाएको छ ।
‘८ लाखभन्दा बढी युथ लिगका अधिकारी र विद्यार्थीहरु कोरियाली सेनामा भर्ती हुन तयार छन्,’ केसीएनएले भनेको छ, ‘उनीहरु युद्ध उन्मादीहरुलाई निर्दयतापूर्वक नामेट पार्न र मुलुकको रक्षा गर्न दृढ छन् । ’
बिहीबार मात्रै उत्तर कोरियाले आफ्नो सबैभन्दा शक्तिशाली ह्वसङ–१७ क्षेप्यास्त्र परीक्षण गरेको थियो ।
एजेन्सी
ताजा समाचार
© 2024, All right reserved to मूलबाटो