फाल्गुन २३, २०७९
काठमाडौँ — गोकर्ण फरेस्ट रिसोर्टमा मंगलबार हुने १६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसिपमा ११ देशका ६५ खेलाडीले प्रतिस्पर्धा गर्ने स्थानीय आयोजक नेपाल एथलेटिक्स संघले जनाएको छ ।
राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजीवविक्रम शाहले भने, ‘हामीले सुरुमा एसियाका ३० भन्दा बढी देशका ३ सय ५० बढी खेलाडी च्याम्पियनसिपमा सहभागी हुने अपेक्षा गरेका थियौं । तर, २२ वर्षअघि नेपालले आयोजना गर्दा १३ देशका खेलाडी आएका थिए । च्याम्पियनसिपमा सबैभन्दा धेरै १९ देशका खेलाडीले प्रतिस्पर्धा गरेको इतिहास रहेछ । हवाई टिकटको महँगी र विविध कारण यसपालि ११ देशका ६५ खेलाडीले मात्रै नाम दर्ता गरेका छन् ।’
एसियन एथलेटिक्स संघका अध्यक्ष धलन जमन बी अल–हामदले भने, ‘क्रसकन्ट्रीमा ट्र्याक एन्ड फिल्डमा जस्तै ठूलो संख्यामा खेलाडी हुँदैन । विश्व क्रसकन्ट्रीमा प्रशिक्षक र इन्स्ट्रक्टरमा युरोपेलीको बाहुल्य छ । सन् २०३० सम्म एसियामा पनि ठूलो संख्यामा जनशक्ति तयार पार्ने योजनामा छौं । एसियन च्याम्पियनसिपको १६ औं संस्करण आयोजना गरेकामा नेपाललाई धन्यवाद दिन चाहन्छु ।’ एसियन क्रसकन्ट्रीमा सिनियर पुरुष र महिला (१० किमि) तथा जुनियर (२० वर्षमुनि) पुरुष(८ किमि ) र महिला (६ किमि)गरी चार स्पर्धामा व्यक्तिगत र टिमको प्रतिस्पर्धा हुनेछ । यसपालि नेपालका १९ खेलाडी छन् । महिला सिनियरमा चार खेलाडी तथा अन्य स्पर्धामा ५–५ नेपालको सहभागिता हुनेछ ।
नेपाली धाविका पुष्पा भण्डारीले भनिन्, ‘च्याम्पियनसिप नेपालमा हुने थाह पाएदेखि नै तयारी थालेका थियौं । एक महिनायता ट्रेनिङ गरेका छौं । तयारी राम्रै छ । स्वर्ण पदक जित्ने लक्ष्य राखेका छौं ।’
एसियन क्रसकन्ट्रीको इतिहासमा नेपालले हालसम्म एकपल्ट मात्रै पदक जितेको छ । सन् २००१ मा गोकर्णमै आयोजना भएको संस्करणमा महिला जुनियरको कांस्य पदक नेपालले हात पारेको थियो ।