काठमाडौं । चार कम्युनिस्ट पार्टीको संयुक्त निर्वाचन बहिस्कार÷अवज्ञा सभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले यो कथित लोकतन्त्र अभिजातन्त्रमा परिणत भएको बताउनु भएको छ । उहाँले यो कथित लोकतन्त्रमा गरिबहरुका लागि, दलित, महिला, मधेसी, आदिवासी जनजाति, मजदुर, किसान, भूमिहिन सुकुम्बासी सबै श्रमजीवी वर्ग र उत्पीडित समुदायको लागि ठाउँ नरहेको चर्चा गर्दै यो अभिजाततन्त्रीय लोकतन्त्र फालेर नयाँ जनवादी गणतन्त्रको स्थापना गर्न अब नयाँ क्रान्तिको तयारीमा जुट्नुपर्ने आवश्यकता औल्याउनु भयो । त्यसका लागि छरिएर रहेका क्रान्तिकारीहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनु भयो । महासचिव किरणले नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिस् पार्टी नेपालको संयुक्त निर्वाचन बहिस्कार÷अवज्ञा आन्दोलन त्यसैदिशातर्फ अगाडि बढिरहेको पनि बताउनु भयो ।

झापा विद्रोह, दशवर्षे जनयु्द्ध लगायत विभिन्न आन्दोलन देशमा रहेको संसदीय व्यवस्थाको अन्त्य गरेर नयाँ जनवादी व्यवस्था स्थापनाका लागि गरिएको र यति धेरै रगत बगाएर पनि नेतृत्वको धोका र गद्दारीका कारण पुनः संसदीय व्यवस्था नै संस्थागत हुन पुगेको सुनाउनु भयो । उहाँले लोकतान्त्रिक गणतन्त्र नामको अहिलेको संसदीय व्यवस्थामा सामन्तवर्ग, नोकरशाही पुँजीपति वर्ग र दलाल पुँजीपति वर्गमा मूलतः दलाल पुँजीपतिवर्गको हालीमुहाली बढेको चर्चा गर्दै यो व्यवस्थाभित्रका तीनवटा अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका पूर्णरुपमा असफल भइसको ठोकुवा गर्नुभयो ।

उहाँले भन्नुभयो, “संसदीय व्यवस्थाका तीनवटै अंग पूर्ण रुपमा असफल भइसकेका छन् । यो व्यवस्था टिकेको संसदवादी दलाल शक्तिहरु बलियो भएर होइन क्रान्तिकारी शक्तिहरु कमजोर भएर मात्र हो । क्रान्तिकारी शक्तिहरु बलियो भएपछि यो व्यवस्था एक धक्का मै धरासायी हुनेछ ।”

देउवा–प्रचण्ड लगायतको गठबन्धन सरकारले शान्तिपूर्ण रुपमा चुनाव प्रचारमा खटिएका नेता कार्यकर्तामाथि ठाउँ ठाउँमा धरपकड गर्ने, कार्यक्रममाथि हस्तक्षेप गर्ने, माइक भाँच्ने, पर्चा पोस्टर खोस्ने कार्य गर्नु र वाक स्वतन्त्रतामाथि अघोषित रुपमा प्रतिबन्ध लगाउनुले देउवा प्रचण्डको गठबन्धन सरकार घोर प्रतिगामी रहेको र फासिवादी दिशातर्फ उन्मुख रहेको बताउनु भयो र प्रश्न गर्नुभयो, “के यो लोकतन्त्र हो ? यो घोर प्रतिगामन हो, फासिवाद हो ।”

देशमा विद्यमान राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु यो संसदीय व्यवस्थाबाट समाधान नहुने चर्चा गर्दै उहाँले संसदवादीहरुले अहिले घोषणा पत्रमा अनेक झुठ कुरा गरेर जनतालाई भ्रमित तुल्याउने काम गरिरहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “भारतीय विस्तारवादसँग गरिएको असमान सन्धि सम्झौताहरुको खारेजी, सिमाको व्यवस्थापन र साम्राज्यवादी नवउदारवादी अर्थनीति परित्याग परित्याग गरी नयाँ जनवादी तथा समाजवादी अर्थनीति नअँगालेसम्म देशमा समृद्धिको कुरा गर्नु सरासर जनतालाई ढाँट्नु, ठग्नु मात्र हो ।”

उहाँले स्वतन्त्र उम्मेदवारहरुको बारेमा टिप्पणी गर्दै भन्नुभयो, “स्वतन्त्र उम्मेदवारहरुले यी नेता काम लाग्दैनन् त भन्ने गरेको सुनेको छु । तर उनीहरु किन यी नेतासँगै यो संसदीय व्यवस्था पनि काम लाग्दैन भनिरहेका छैनन् ?”

उहाँले यो संसदीय व्यवस्थाको भण्डाफोर, निर्वाचन बहिस्कार÷अवज्ञा आन्दोलनसँगै नयाँ जनवादी क्रान्तिको तयारीमा जुट्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

सभालाई सम्बोधन गर्दै नेकपा (बहुमत)का सयोजक धर्मेन्द्र बास्तोलाले युद्ध आन्दोलनबाट ल्याएको परिवर्तन(लोकतान्त्रिक गणतन्त्र)लाई दलाल पुँजीपतिहरुले हाइज्याक गरेको चर्चा गर्दै अब नयाँ जनवादी गणतन्त्रको स्थापना गर्दै वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो । यो संसदीय व्यवस्थाबाट देउवा, प्रचण्ड, केपीहरुले सामान्य सुधारको पनि काम गर्न नसक्ने भन्दै संसदीय व्यवस्थाको यो निर्वाचन खारेज गरेर सडक संघर्षमा आउन संसदवादी दलका नेताहरुलाई चुनौती दिनुभयो । उहाँले भन्नुभयो, “अब सडक संघर्षको विकल्प छैन । यो संसदीय व्यवस्था मक्कि सकेको छ । अब यो एक धक्कामा ध्वस्त हुनेवाला छ । क्रान्तिकारी शक्तिहरुले एकजुट भएर अब त्यो धक्का दिनेछन् र नेपालमा नयाँ जनवादी गणतन्त्रको स्थापना गर्दै वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना हुनेछ ।”

त्यसैगरी सभालाई सम्बोधन गर्दै नेकपा (मसाल)का संयोजक सन्तबहादुर नेपालीले यो दलाल संसदीय व्यवस्थाले गरेका राष्ट्रघात र जनघातका फेहरिस्त प्रस्तुत गर्दै यो व्यवस्था रहुन्जेलसम्म श्रमजीवी शोषित वर्ग र समुदायले दुःख पाइरहने बताउनु भयो । उहाँले यो व्यवस्था फालेर नेपालमा नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्ने दिशातर्फ क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने विचार राख्नुभयो ।

माओवादी कम्युनिस्ट पार्टीका महासचिव रामनारायण पालले निर्वाचन बहिस्कार गर्नुका कारणहरु प्रस्तुत गर्दै सिंगो देशका अधिकांश जनतामा निर्वाचनप्रति कुनै आकर्षण नरहेको स्पष्ट पार्नुभयो । उहाँले भ्रष्ट, अनैतिक, तस्कर, माफियाहरुले जित्ने चुनावबाट देश र जनताको हिन नहुने भन्दै आम जनतालाई निर्वाचनमा सहभागी नहुन, मत खसाल्ने ढ्वाङहरु रित्तो पार्न अपिल गर्नुभयो ।

नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम तथा प्रदेश ३ का इन्चार्ज चन्द्रहरि सुवेदीको अध्यक्षतामा भएको सभाको सञ्चालन नेकपा (बहुमत)का युवा नेता शरदचन्द्र रसाइलीले गर्नुभएको थियो । सभामा नेकपा (मसाल)का प्रवक्ता रामबहादुर बुढाले स्वागत मन्तव्य राख्नुभएको थियो भने माओवादी कम्युनिस्ट पार्टीका नेता पासाङ शेर्पाले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सभा सुरु हुनुअघि नारा जुलुससहित नगर परिक्रमा गरिएको थियो । सभामा सामना साँस्कृतिक परिवार र रक्तिम परिवारका कलाकारहरुले क्रान्तिकारी गीतहरु प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर