नेपाल मण्डलको साख्खै छिमेकी मण्डलमा पर्भु माराजको पुनर्उदय भएको छ । उता पर्भुको पुनर्उदय भएपछि यता नेपाल मण्डलमा भक्तजनहर्मा खुसियाली छाएको छ । भक्तहरू हर्षविभोर छन् । तँछाड मछाड गरेर पर्भुलाई बधाई र शुभकामना दिने होडबाजी चलेको छ । रनिङसिल्ड पाउनलाई ज्यानको माया मारेर दोडेझैँ गरेर यताका भक्तहर्ले बधाई तथा शुभकामना दिएर पूजा अर्चना गरिरहेका छन् । पर्भुलाई कृतकृत्य पारिरहेका छन् । उनीहर्लाई पर्भुको साक्षात् दर्शन गरेर उनलाई खुसी पार्ने दक्षिणा भेटी कतिखेर चढाम् भनेर हुटहुटी पैदा भएको छ । छटपटी पैदा भएको छ । बेचैन बनाएको छ । पर्भुको साक्षात् दर्शन गर्न पाए यो मत्र्यलोकमा त छँदैछ स्वर्गमा पनि सरखारी कुर्चीको सुरक्षा गर्न पाइन्यो कि भन्ने आशा छ । विगतमा जस्तै पर्भुलाई खुसी पारेर सरखारी कुर्चीलाई बेल्डिङ गरेर बलियो बनाउने सोचमा छन् । सरखारी कुर्ची बाहिर बसेकालाई कतिखेर कुर्चीमा पुगम् भन्ने छटपटी छ । सरखारी कुर्चीमा विराजमानलाई स्थायी रूपले बसिराख्ने व्यवस्था मिलाउने चिन्ता छ भने कुर्ची बाहिर बसेकालाई कुर्चीमा पुग्ने हतारो छ ।
पर्भुका मण्डलतिर चुनाउ थ्यो । दुई मैना लाएर पर्भुले चुनाउ गरा’थे । पर्भु आफैँले साक्षात् चुनाउ गराउने मौका पा’का थे । मौका फाइदा नउठाउने भनेको मुर्ख हुनु हो भन्ने कुरो पर्भुलाई था’थ्यो । त्यसैले आफ्नो हात जगन्नाथ गर्नु उनले पाएको अधिकारै भयो । आफ्नो अधिकार प्रयोग गरेर पर्भु पुनर्उदय भए । उनले पुनर्उदय हुने सबै उपाय विधि प्रकिया प्रयोग गर्न रत्तिभर पनि कन्जुस्याइँ गरेनन् । आफ्नो दुनो साझिने भए कोरी पाउ मल्नु भन्ने त नेपाली उखानै छ । हाम्रो मण्डलका पर्धानमन्तरीलाई यस्ता उखान टुक्काका खानी नै हुन् । उनले यताबाट केही उखान टुक्का उता पर्भुलाई केशेली दे’का पनि त हुन सक्चन् । त्यसैले होला पर्भुले चुनाउमा नेपाली उखान प्रयोग गर्दै भोट माग्दा गरिबगुरुवाहर्को पाउ ढोग्दै हिँडे । चौकीदार बनेर, चियापसले बनेर, हली गोठालो बनेर अनेक भेष धारण गरेर देशाटन गर्दै भोटको भिक्षाटन गरेर पर्भुले पुनर्उदय भएर नयाँ अवतार धारण गरे ।
पुनर्उदय भएपछि पर्भुले पनि नेपाल मण्डलका भक्तजनहर्लाई टुइटरे मार्फत् तथास्तु भनेर आशिर्वचन दिए । भक्तहर्को भक्तिभावबाट प्रफुल्लित भएको जनाउ दिएर सरखारी कुर्चीको सपथ खाएपछि साक्षात् दर्शन् दिने बाचा गरे । यसरी पर्भु र भक्तहर्को बार्तालाप भयो । सरखारी भक्तले त पर्भुलाई मोविलबाट फुन गरेर पनि उनीप्रतिको भक्तिभाव पर्कट गरे । पैला जनकपुरमा पर्भुको सेवामा हाजिर भएजस्तै पर्भुलाई आफ्ना सेनामेना सहित भएर नेपाल मण्डलको कुनाकाप्चासम्म देशाटन गर्ने निम्तो पनि दिए । आफ्नो सुरक्षा आफैँ गर्ने गरी आफ्नै मण्डलका सेनामेनाको ठूलै दलबल लिएर आउने चाँजोपाँजो मिलाउने बाचा बन्धन गरे ।
उता पर्भुले पनि यसपाला आपूm अझ शक्तिशाली भएर उदाएको बताए । पहिलाचोटी नेपाल मण्डलमा नाकाबन्दी गरेर घाँटी थिचे जस्तै अबका दिनमा आफ्ना भक्तहर्ले आफ्नो आदेश खुरुखुरु नमानेका खण्डमा नाकाबन्दी मात्रै नभएर नौनाडी गल्ने गरी चौतर्फी घेराबन्दी गरेर आन्द्रा सुकाइदिन सक्ने ताकत पैदा भएको जनाउ दिए । यी सबै कुरा नेपाल मण्डलका सरखारी भक्तसँगको फुनबार्तामा भए । आफ्नो आदेशको खुरुखुरु पालना गरेका खण्डमा यता नेपाल मण्डलको सरखारी भक्तलाई आर्को चुनाउमा पूर्ण सहयोग गरेर जिताइदिने कुरा पनि भयो । नत्र भने पञ्चप्रेत ब्युँताएर ठिक पार्न पनि सक्ने कुरा भयो । यसरी पर्भुसँगको प्ररम्भिक चरणका सम्बादहरू भए ।
११ जेठ २०७६