माेहन वैद्य ‘किरण’

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले विश्व मजदुर दिवसको अवसरमा एक वक्तव्य जारी गर्दै नेपाल लगायत विश्वभरिका आम श्रमजीवि तथा उत्पीडित वर्गलाई आ–आफ्नो देशको विशेषता अनुसार सर्वहारा वर्गको नेतृत्वमा सम्पन्न हुने नयाँ जनवादी वा समाजवादी क्रान्ति हुँदै साम्यवाद प्राप्तिको दिशामा अगाडि बढ्न हार्दिक आह्वान गरेको छ । क्रान्तिकारी माओवादीका महासचिवले आज विहान जारी गरेको वक्तव्यमा भनिएको छ, “आज मई १, २०१९ तदनुसार वैशाख १८, २०७६ गते विश्व मजदुर दिवश हो । विश्वभरीका श्रमजीविहरुले आज यो दिवश हर्षोल्लासका साथ संसारभरी मनाईरहेका छन् । यस अवसरमा हाम्रो पार्टी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले नेपाल तथा विश्वभरका श्रमजीवि वर्गप्रति हार्दिक क्रान्तिकारी लाल अभिवादन व्यक्त गर्दछ ।”
वक्तव्यमा अन्तर्राष्ट्रिय मजदुर आन्दोलनको स्मरण गर्दै भनिएको छ, “अमेरिकाको सिकागोका मजदुरहरुले आफ्नो हक अधिकार प्रप्तिका लागि १८८६मा चलाएको भीषण बलिदानीपूर्ण सङ्घर्षको स्मरणमा दोस्रो अन्तराष्ट्रियको १९०४मा सम्पन्न भएको छैटौं सम्मेलनले ८ घण्टा श्रमको माग राखेर संसारभरिका सामाजिक जनवादी पार्टी र ट्रेड युनियनहरुले यो दिवस मनाउने भन्ने निर्णय गरे अनुरुप यो दिवस संसारभरी मनाईदै आएको छ । तर विडम्वना, रुसी तथा चिनीया क्रान्तिको प्रक्रियामा यसको कार्यान्वयन भए पनि १०० वर्ष भन्दा बढीको निरन्तर सङ्घर्षको प्रक्रियामा श्रमिक वर्गको यो माग आजसम्म पनि पुरा हुन सकेको छैन ।”
वक्तव्यमा अगाडि भनिएको छ, “मजदुर वर्गमाथिको शोषण तथा उत्पीडनको समस्या ८ घण्टा श्रम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आरामले मात्र समाधान हुने समस्या होइन । यो विश्व साम्यवादको स्थापनापछि आम मानवजातिको मुक्तिको प्रक्रियामा समाधान हुने वर्गीय उत्पीडनको समस्या हो । तसर्थ विश्व मजदुर दिवसको यो ऐतिहासिक अवसरमा हाम्रो पार्टीले नेपाल लगायत विश्वभरिका आम श्रमजीवि तथा उत्पीडित वर्गलाई आ–आफ्नो देशको विशेषता अनुसार सर्वहारा वर्गको नेतृत्वमा सम्पन्न हुने नयाँ जनवादी वा समाजवादी क्रान्ति हुँदै साम्यवाद प्राप्तिको दिशामा अगाडि बढ्न हार्दिक आह्वान गर्दछ ।”

प्रतिक्रिया

सम्बन्धित खवर