काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन यही २०७५ साल चैत्र २४, २५ र २६ गते काठमाडौंको भृकुटी मण्डपमा व्यापक जनताको उपस्थितिमा भव्य रुपमा सम्पन्न भएको बताइएको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका नव निर्वाचित अध्यक्ष सीपी गजुरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त कुरा बताइएको हो ।
विज्ञप्तिको सुरुमा भनिएको छ– “देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन यही २०७५ साल चैत्र २४, २५ र २६ गते काठमाडौंको भृकुटी मण्डपमा व्यापक जनताको उपस्थितिका बीचमा भव्य एवं सभ्यरुपमा उद्घाटन भएर सफलतापूर्वक सम्पन्न भएको छ । उक्त राष्ट्रिय सम्मेलनले पारित गरेका महत्वपूर्ण नीति, कार्यक्रम र निर्णयहरुको सार्वजनिक जानाकारीका लागि यो प्रेस विज्ञप्ति प्रकाशित गरिएको छ ।”
कार्यक्रम सञ्चालनको विवरणसहित विज्ञप्तिमा भनिएको छ– “देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष क. सी.पी. गजुरेलको अध्यक्षता र सचिव परि थापाको सञ्चालनमा भएको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका महासचिव क. मोहन वैद्य ‘किरण’ ले मसाल प्रज्वलन गरेर गर्नु भएको थियो । विभिन्न मित्र पार्टी र संगठनहरुका तर्फ बाट आमन्त्रित प्रतिनिधिहरुले सम्मेलन सफलताको लागि शुभकामना दिनुभएको थियो भने सामना सांस्कृतिक परिवारका तर्फबाट प्रगतिशील गीत एवं नृत्यहरु प्रस्तुत भएको थियो ।”
विज्ञप्तिमा यस कार्यक्रमको बन्दसत्रबारे भनिएको छ– “राष्ट्रिय सम्मेलनको दोस्रो र तेस्रो दिनमा काठमाडौंको पुरानो वानेश्वर स्थित न्यू ओम साई पार्टी प्यालेसमा वन्दसत्र सञ्चालन भएको थियो । वन्दसत्रमा अध्यक्ष क. सी.पी. गजुरेलद्वारा राजनीतिक प्रस्ताव र सचिव परि थापाद्वारा विधान प्रस्तुत भएको थियो ।
राष्ट्रिय सम्मेलनमा उपस्थित सम्पूर्ण (३३०) प्रतिनिधिहरुलाई नौवटा समुहमा विभाजन गरेर दस्तावेजहरु माथि व्यापक छलफल गराएर सुझावहरु लिईएको थियो । दस्तावेज माथि प्राप्त सुझावहरुको दस्तावेज प्रस्तोताहरुले स्पष्टीकरण दिएपछि सर्वसम्मतिद्वारा पारित भएको थियो ।
सम्मेलनले बाह्र बँुदे समसामयिक प्रस्ताव पनि पारित गरेको छ । राष्ट्रिय सम्मेलनले पन्चानब्बे (९५) सदस्यीय नयाँ केन्द्रीय समिति सर्वसम्मतिबाट चयन गरेको छ । समितिको प्रथम बैठकले क. सीपी गजुरेललाई अध्यक्ष र क. परि थापालाई महासचिवमा निर्वाचित गरेको छ । समितिका अन्य पदाधिकारीहरुपछि चयन गरिने छ र बाँकी केन्द्रीय सदस्यहरु पनि थप गरिने छ ।”
विज्ञप्तिको अन्त्यमा भनिएको छ– “देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई भव्य एवं सभ्यरुपमा सफल पार्नका लागि आर्थिक, भौतिक र नैतिक समर्थन गर्नुहुने सम्पूर्ण जनसमुदाय र त्यस दौरानमा सम्पूर्ण ढंगले लागि पर्ने संगठनका नेता एवं कार्यकर्ताहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।”