आइतबार २५ अप्रिल सन् १९७१ को कुरा हो । अरू बेलाको झैं उपवास बसेका थिए । आज कुराकानी र भेटघाटको दिन पनि थियो । कल्पना र मैले गाउँको तरिकाबाट खाना बनाउने अभ्यास गरेका थियौं । सबेरै म अगेनुको छेउमा तहतह पारेर राखिएको कम्बलमाथि बसेर मटरदानाको पुवा बनाइरहेकी थिए । यो पुरूष साथीहरूकहाँ लिएर जानका लागि थियो ।

चुल्होको वरिपरिको लेदो बनाइएको मटर टाँसिएको थियो । मेरो साडीमा तेलको धब्बा लागेको थियो । अचानक मेटिन दौड्दै आइन् “दिदी तपाईंको कोही कुरा गर्ने मानिस आएको छ । तपाईं अफिसमा आउनुहोस् ।” पहिले त मलाई विश्वास नै लागेन । हामीले एक अर्कासँग यस्तो ठट्टामजाक गर्दथ्यौं । हेड वार्डर मलाई लिन नै आए, त्यसपछि मैले बुझे कि मेटिन साँचो बोलिरहेकी थिइन् ।

जेलमा लगातार एघार महिना बसेपछि पहिलोपटक म यस्तो कुनै मानिससँग भेट्न गइरहेको छु जो ब्रिटिस वाणिज्य दूतावासको कर्मचारी होइनन् । छिटछिटो मैले काँधसम्म आएको लामो कपाल काइयोले कोरे । मसँग दोस्रो साडी थिएन । त्यसैले मैले त्यही तेलको धब्बा लागेको साडी लगाइरहे । मेरो आफ्नो टी–शर्ट र स्ल्याक्स पहिल्यै फाटिसकेका थिए । यसकारणले म भारतीय पोसाक लगाउन बानी परेकी थिएँ ।

चारैतिर छरिएका कागजपत्र तथा फाइलहरू र कैदीहरूको नाम लेखिएको अस्तव्यस्त अफिसमा अमलेन्दुका बूढा बाआमा सागरमा शान्ति र गरिमाको रूपमा टक्क देखिने द्वीप जस्तै बसेका थिए । उनीहरूले मलाई बस्ने इशारा गरे । त्यहाँ बसेका मानिसहरू यो देखेर हैरान भए कि म एक कर्तव्य परायण बुहारीको जस्तो गरी उनीहरूको पाउ छुन झुकेन । अमलेन्दु र उसको भाइसँग उनीहरूले भेटिसकेका थिए ।

तर हामी तीनैजनालाई एकैसाथ भेट्न स्वीकृति थिएन । हामीहरूलाई भेट्न उनीहरू पाँच सय माइलको यात्रा गरेर आएका थिए । यो सोचेर मेरो हृदय भारी भएर आयो । उनीहरूले आफ्नो साथमा कपडा, घरमा बनाइएको मिठाइहरू, सुगन्धित साबुन र गर्मीमा चिसो बनाउन खजुरको पातबाट बनाइएको पङ्खा लिएर आएका थिए ।

उनीहरू मेरो स्वास्थ्य र कुशल क्षमताको बारेमा चिन्तित देखिन्थे । मैले तिनीहरूको चिन्तालाई भगाउन खुबै नै कोसिस गरेँ । उनीहरूसँग कुराकानी गर्न मात्र दस मिनेट पाइयो, यसपछि म महिला वार्डमा फर्केर आएँ ।

दिनको बाँकी समय मैले आफ्नो कोठीमा आहतका साथ बेचैन भएर सोच्दासोच्दै बिताएँ । मलाई आफूसँग रिस उठिरहेको थियो कि यसरी अचानक भेट्न जाँदा मैले सबै कुरा भुले । उनीहरूलाई देखेर म खुसी पनि भएँ र अपराधबोध पनि भयो । उनीहरूले यत्रो दुःख गर्नुपर्यो र पैसा पनि खर्च भयो ।

अमलेन्दुलाई देख्न नपाउनु मेरो लागि दुःख थियो । त्यो कुराकानी सधैंभरि बेचैनले भरिएको अनुभव हुन्छ । प्रत्येक कुराकानी र भेटघाटपछि बाहिरको संसारको याद आउँछ । आफ्नो प्रियजनको याद आउँछ । ती कुराहरूको याद आउँछ, जुन हामीहरूले गुमाइसकेका छौं । यसपछि मलाई ‘सामान्य’ अवस्थामा आउन दुई दिन लाग्यो ।

नरिवलको मिठाइले एउटा समस्या ल्याइदियो । कल्पना र मैले चाहन्थ्यौं कि यो मिठाइ अरू बन्दीहरूको बीचमा बाडौं भनेर किनकि यो मिठाई धेरै नै थियो हामीहरूसँग । अरू महिलाहरूले घरबाट थोरै मात्र पनि जे आउँथ्यो, त्यो तुरून्तै बाँड्दथे । उनीहरू खुसीको खबर सबै बीच बाँड्दथे ।

बाँड्दा हामीहरूले यो कुरालाई धनमा राख्थ्यौं कि कसैलाई कम र कसैलाई बढी नपरोस् । अत्याधिक कठिनाइमा रहेको जेलको अवस्थामा कसैलाई कम र कसैलाई बढी दिनुले ईष्र्याको भावनाको विकास हुन्थ्यो । जो एकदिन बढ्दै गएर एकअर्कालाई अपमानित गर्ने रूपमासम्म प्रकट हुन सक्दथ्यो ।

अस्वाभाविक र कठिन परिस्थितिमा एकैसाथ रहेका महिलाहरूबीचको आपसी कटुता ससाना कुराले निम्त्याउँथ्यो । कल्पनाले रोहिनीलाई पढाउन थालेको देखेर मेटिन निकै ईष्र्याले जलेकी थिइन् । हरेक कुराहरूमा उनले आफूलाई प्राथमिकता दिइनु पर्ने सोच्दथिन् । उनले रोहिनी शिक्षित हुनुलाई आफूमाथि आइपरेको चुनौतीको रूपमा सम्झन्थिन् ।

रातमा जब हामीहरूलाई अलग अलग कोठीमा बन्द गरिइन्थ्यो, मेटिनको आवाज कानसम्म पुग्न पाउँदैनथ्यो, तब उनले रोहिनीसँग रस्साकस्सी गर्दथिन् । यी ससाना अपमानहरूको कारणले ऊ हरेक दिन रूँदै हाम्रो साथमा आउँथी । एकदिन मेटिनको यो नीच कार्यबाट उत्तेजित भएर हामीहरूले उसलाई चेतावनी दियौं कि रोहिनीको काममा अवरोध नदेऊन् । उनलाई एक्लै स्वतन्त्रतापूर्वक काम गर्न देऊन् ।

हामीहरूले यसो भनेर धेरै ठूलो गल्ती गरेका थियौं । उनले हामीहरूसँग बदला लिने योजना बनाउन लागेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर