काठमाडौं । थाइल्यान्डमा जारी टी–२० महिला स्माश क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले आफ्नो स्थान पक्का गरेको छ । जारी प्रतियोगिता भरी आफ्नो अपराजित यात्रालाई कायम राख्दै नेपालले इन्डानेसियालाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको हो । नेपालले उपाधिका लागि आजै हुने आयोजक थाइल्यान्ड र यूएईबीचको बिजेताले भोली खेल्नेछ ।
नेपालले दिएको १ सय २० रनको लक्ष्य पछ्याएको इन्डोनेसिया १२ औं ओभरमा २७ रन बनाउँदै अलआउट हुन पुग्यो । इन्डोनेसियाको लागि युलिया आनग्राईनीले केही दोहोरो अंक जोड्दा अन्य ब्याट्वुमन्स्ले भने डक आउटको सामना गर्नु पर्यो ।
११ रन जोड्दा पहिलो विकेट गुमाएको इन्डोनेसियाले थप १६ रन जोड्न ९ विकेट खर्चेको थियो । इन्डोनेसियालाई सस्तैमा समेट्न रुविना क्षेत्रीले ४ तथा कविता कुँवर, नेरी थापा, सीता राना मगर र सरिता मगरले समान १–१ विकेट लिए । २ जना रन आउट भए । यसअघि, बैंककस्थित टर्डथाई रङ्गशालामा जारी खेलमा इन्डोनेसियाले फिल्डिङ रोजेपछि व्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाएर ११९ रन बनाएको थियो ।
सीता राना मगर र इन्दु वर्माले दोस्रो विकेटका लागि ७० रनको साझेदारी गरेपछि नेपाल सम्मानजनक योगफल बनाउन सफल भयो । सीता ४८ रनमा रनआउट हुँदा इन्दु ३७ रन र क्याप्टेन रुविना क्षेत्री २ रनमा नटआउट रहे । काजल श्रेष्ठ १४ र नेरी थापा ५ रनमा क्याच आउट भए । नेपाल लिग चरणमा सतप्रतिशत नजिता सहित समुह ए को विजेता बन्दै र इन्डोनेसिया समुह बीको उपविजेता बन्दै अन्तिम चारमा पुगेका थिए ।