सुर्खेत । सत्तारुढ डबल नेकपा परित्याग गरी सुर्खेतका जिल्ला नेताहरु नेकपा (क्रान्तिकारी माओवादी)मा समाहित भएका छन् । प्राप्त जानकारी अनुसार बिहिबार एक कार्यक्रमका बीच सत्तारुढ डबल नेकपाका जिल्ला नेताहरु डम्बर रोकाया र निराजन जैसी लगायतका नेता कार्यकर्ताहरु क्रान्तिकारी माओवादीको सुर्खेत जिल्ला कमिटिमा समाहित भएका छन् ।
क्रान्तिकारी माओवादीमा समाहित भएका डबल नेकपाका नेताहरुले सत्तारुढ पार्टी प्रतिक्रियावादी कित्तामा पतन हुन पुगेको र त्यो पार्टीले दलाल पुँजीपतिवर्गमा मात्र सेवा गर्ने भएकाले नेपालमा नयाँ जनवादी क्रान्तिको ऐतिहासिक कार्यभार क्रान्तिकारी माओवादी बाहेक अन्य पार्टीबाट सम्भव नदेखिएकोले आफूहरु क्रान्तिकारी माओवादीमा समाहित हुन आइपुगेको बताए ।
क्रान्तिकारी माओवादीका केस तथा कर्णाली प्रदेशका निमित्त सचिव कृष्ण गुरुङ र केस तथा दैलेख इन्चार्ज दिपक शाहीले उनीहरुलाई खादा र अबीर लगाएर पार्टीमा समाहित गराएका थिए ।
यसैबीच, क्रान्तिकारी माओवादी सुर्खेत जिल्लाको विस्तारित बैठक सम्पन्न भएको छ । नेता गुरुङ र शाहीको विशेष उपस्थितिमा भएको बैठकले श्याम कार्कीलाई जिल्लाको सेक्रेटरीमा चयन गरेको छ । बैठकले पार्टी र क्रान्तिबाट पलायन भई प्रतिक्रियावादी कित्तामा गएका तत्कालीन जिल्ला सेक्रेटरी खडानन्द लामिछानेलाई पार्टीको साधारण सदस्तय समेत नरहने गरी कार्वाही गरेको छ ।