काठमाडौं, असोज ४ । चाम्पियन्स लिगको समूह ए अन्तरगतको भ्यालेन्सियाविरुद्धको खेलमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले २९ औं मिनेटमा रातो कार्ड खाँदै मैदान छोड्नु परेको थियो । यो सँगै युभेन्टसले भ्यालेन्सियाबिरुद्ध २–० को जित त निकाल्यो तर निकै संघर्षपूर्ण रुपमा ।
युभेका लागि च्याम्पियन्स लिगमा डेब्यु गरिरहेका रोनाल्डोले पहिलो हाफको मध्यतिर भ्यालेन्सियाका डिफेन्डर जेसन मुरिलोको कपाल तानेको देखिएको थियो । रेफ्री फेलिक्स ब्रिचले गोलपछाडि रहेका एसिस्टेन्टसँग सल्लाह गरेपछि रोनाल्डोलाई सिधै रातो कार्ड देखाएका थिए ।
निर्णयबाट स्तब्ध बनेका रोनाल्डो रुँदै मैदानमा ढलेका थिए । उनलाई समकक्षी र टोलीका स्टाफले सम्हाल्दै मैदानबाहिर लगेका थिए ।
१० खेलाडीमा सिमित बनेको युभेन्टसले मिरालेन पिजानिकको पेनाल्टीबाट अग्रता लिएको थियो भने दोस्रो हाफको शुरुवातमै उनले अर्को पेनाल्टीबाट गोल गरे ।
खेलको अन्त्यतिर भ्यालेन्सियाले पनि पेनाल्टी पाएको थियो । तर, ड्यानियल पारेहोको प्रहारलाई युभेका गोलकिपर सिजेस्नीले बचाउ गरेका थिए ।
अब रोनाल्डोले कम्तिमा एक खेल गुमाउनेछन् । तर, हिंस्रक व्यवहारका लागि उनले दुई खेलसम्मको प्रतिबन्ध खेप्न सक्ने बताइएको छ । यसले गर्दा उनले यङ ब्वाइजबिरुद्धको घरेलु मैदानको खेल तथा अक्टोबर २३ मा ओल्ड ट्राफोडमा हुने म्यान्चेस्टर युनाइटेडबिरुद्धको खेल पनि गुमाउन सक्नेछन् ।