अन्ततः प्रचण्ड निकै निराश भएको बेलामा केपी ओलीले पार्टी एकताको साइत जुराए । प्रचण्डले एकताको टीका थापे, ओलीले आफ्नै घरआँगनमा स्वपरम्पराअनुसार टीका फुकाइदिए । ब्यानर उद्घाटन भयो । नेपाल कम्युनिष्ट पार्टी भनी नाम उच्चारण गरियो । यो बोलाउने नाम लिएर निर्वाचन आयोगका ज्योतिषकहाँ उनीहरु छिट्टै नै पुगे । नाम जुध्यो ऋषि कट्टेलको नेपाल कम्युनिष्ट पार्टीसँग । ओलीप्रचण्डले ‘गाउँघरमा काले भन्ने मान्छे र माले भन्ने गोरु त कति पाइन्छन् कति, कसो ?’ भनी एकापसमा टाउको हल्लाउँदै हाँसे । ‘नेकपा पनि धेरै हुनसक्छन् ।’ उनीहरुले अन्डरलाइन नेपाल कम्युनिष्ट पार्टी लेखेर ज्यातिषलाई दर्ताश्रेस्ताका लागि बुझाए ।

ओलीले मनमनै सोचे ‘सुरुमा हो पछि त … आ ! एमाले भने पनि के भो त, पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद, चुनाव चिन्ह सूर्य भइसकेपछि पार्टी एमाले । माक्र्सवाद–लेनिनवाद विचार स्थापित, सूर्य स्थापित भएपछि एमाले विस्थापित हुने पनि कहाँ युक्तिसंगत भयो र ? भो अहिले नबोलूँ । हरे हार, दैव नटार ! तरङ्गित हुन के बेर ।’ ओलीले प्रचण्ड बेलाबेलामा ‘तरङ्गित’ हुने गरेको पनि थाह पाएका रहेछन् । हुन पनि हो त, उनलाई कसो राँची नपु¥याएका प्रचण्डले । पु¥याउन सुझाव त दिएकै थिए । तर सुन्नु पर्नेले सुनेनन् र पो !

ओली–प्रचण्ड एउटै म्यानमा दुई तरवार झैं एउटै टेबुल राखेर त्यसको वरपर बसे । दुईवटै अदक्ष ! दक्ष भएको भए ओलीले एमाले किन बिघटन गर्नु ? र प्रचण्डले माओवादी केन्द्र किन बिघटन गर्नु ? फेरि एकजना मात्र दक्ष भइदिएको भए एउटैलाई अध्यक्ष बनाइने थियो । ओली मुस्कुराए– ‘प्रचण्डको ‘महावाम एकता’को हावादारी गफ समाप्त ।’ प्रचण्ड गम्न थाले– ‘अब केही वर्ष ढुक्क । कति कुराउन लगाएको यो ओलीले पनि । पर्खंदा पर्खंदा प्राणपखेरु नै उड्ला जस्तो । हाइऽय ! यो एमालेको जात भन्दा त काङ्ग्रेस कहाँ हो कहाँ सजिलो ।’

विचार विमर्श र सैद्धान्तिक वैचारिक लाइनका कुरा सकिए । संझौता र भाग बण्डाको परिपाटी स्थापित गरिसकेपछि सैद्धान्तिक र वैचारिक कुराहरु सकिए । आमूल परिवर्तनको विचार त दुवै नेता र दुवै पार्टीमा थिएन । अन्डरलाइन नेपाल कम्युनिष्ट पार्टीमा पनि त्यसको ‘जिन’ सम्म रहने छैन नै । केवल गणितीय जोडघटाऊ वा भागबण्डा नै एकताको आधार र मापदण्ड बनेको छ । एमालेले भन्ने गरेको मदन भण्डारीले दस्तावेजीकरण गरेको बहुदलीय जनवाद र माओवादी केन्द्रले भन्ने गरेको बाबुराम भट्टराईले दस्तावेजीकरण गरेको एक्काइर्सौं शताब्दीको जनवाद एकता विशेष महाधिवेशनमा टुङ्गो लगाइने भनिएको छ ।

अब हुने यो अधिवेशनमा प्रचण्डले पैसाको खोलो बगाउने र ओलीले दोहोलो काढ्ने योजनामा छन् । कतै ठूला नेताहरु नै पाखा लाग्न नपरोस् भनेर संझौता र समझदारीको भाषा पनि राखिएको छ । टीका थापेपछि प्रचण्डले विगतको छोटो समीक्षा गरे हुनन् पनि ।

मूलतः २०४८ सालबाट जनयुद्धको तयारीदेखि मोहन वैद्य किरणलाई सिलगुढीको जेलमा नहालिंदासम्म प्रचण्डलाई उनैले नै डो¥याएका थिए । र, जनयुद्ध रणनीतिक प्रत्याक्रमणको तयारीसम्म पुग्न सकेको थियो । तर किरणलाई जेलमा हालिएपछि प्रचण्ड निकै लकपकाएका थिए । एकातिर दिल्लीसँग आत्मसमर्पणका लागि सुलह गर्न थाले भने अर्कातिर टनेल वार भनेर कार्यकर्ता र जनतालाई झुक्याउन थाले । अन्ततः घचक्क घुँडा टेके दिल्लीका अघिल्तिर ।

बाबुराम भट्टराईले उनलाई डो¥याउन थाले । दिल्लीको सुलह सफल भयो । त्यसपछि निरन्तर र मूलतः चुवाङ बैठकपछि बाबुराम भट्टराईले प्रचण्डलाई डो¥याउँदै वर्तमान संविधान लेखनसम्म ल्याइपु¥याए ।

बाबुरामले डो¥याउन थालेदेखि नै प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न पनि बारम्बार भनिरहे । संविधान लेखनसँगैपछि बाबुरामलाई नेतृत्व हस्तान्तरण गर्ने बाबुराम–प्रचण्डबीच सहमति भएको पनि थियो । तर प्रचण्ड नेतृत्व हस्तान्तरणमा सहज देखिएनन् । त्यसपछि बाबुरामले पार्टी (माओवादी केन्द्र) छाडेर नयाँ शक्ति नामक भिन्न पार्टी खोल्न पुगे ।

यहाँ गहिराइका साथ बुझ्नु पर्ने कुरा के हो भने किरणको स्वभाव सामूहिकता, सामूहिक नेतृत्व र जनवादी केन्द्रीयता र सिद्धान्तनिष्ठतामा जोड दिने प्रकृतिको छ । तर प्रचण्डको भने व्यक्तिवादी, एकल नेतृत्व, स्वेच्छाचारिता र हिरोइज्ममा विश्वास गर्ने प्रकृतिको छ । उनी मूलतः ‘क्यारियरिस्ट’ हुन् ।

कमरेड किरणमा अर्कोलाई नेता बनाएर आफूपछाडि बसेर पनि पूर्ण सहयोग गर्ने धैर्यता छ । प्रचण्डमा त्यो राजकीय गुण छैन । उनलाई जानिनजानी अगुवा नै हुनुपर्छ ।

बाबुराम सारमा ‘डेमोक्र्याट’ हुन् । तर पनि उनी लामो र कठीन नेपाली वर्गसंघर्षमा हामफाले । निरन्तर फरक मत राख्दै आए । सँगै रहँदासम्म प्रचण्ड बाबुरामसँग निकै तर्सन्थे र मलाई खाइदिन्छ भनेर बारम्बार राजनीतिक आक्रमण गरिरहन्थे । पढाइमा बाबुराम कहिल्यै पनि दोस्रो भएका थिएनन् । त्यसैले प्रचण्डले उनलाई ‘नेभर सेकेण्ड’ को व्यक्तिवादी सोंच भन्दै कार्यकर्ताको कानमा राखिदिइरहन्थे । यो राजनीतिक आक्रमणले क्रान्तिकारीहरुलाई प्रचण्ड ‘महान् नै छन्’ भन्ने भ्रम पारिरहन्थ्यो । अर्कोतिर बाबुरामलाई तह लगाउन प्रचण्डलाई आरोप भन्दा अर्को सहारा पनि त थिएन । जनवादी र समाजवादी विचारको स्तरबाट प्रचण्डले बाबुरामको ‘डेमोक्र्याट’ लाइनलाई खण्डन गर्न सक्दैनथे । बाबुराम किरणको वैचारिक स्तर, तर्क र खण्डनबाट मात्र ठण्डाराम पर्थे । यो प्रचण्डका लागि राहत र मल्हमपट्टी सरह हुन्थ्यो ।

विचारमा क्रान्तिकारी, नवसंशोधनवादी तथा दक्षिणपन्थी जनविरोधी हुँदै सांगठनिक रुपमा अन्डरलाइन नेपाल कम्युनिस्ट पार्टी बन्दासम्म प्रचण्डले आफ्नो जीवनमा तीन फरक विचार, तीन फरक वैचारिक कार्यदिशा र तीन फरक नेताहरु आफ्ना गुरुका रुपमा स्वीकार गर्न पुगेका छन् । दुईजना उपयुक्त क. किरण र क. बाबुराम अनि तेस्रोमा केपी पर्छन् । तेस्रो गुरुको मात्र एउटै उखानटुक्काले प्रचण्डका हजार शब्द स्वाहा हुन्छ । प्रचण्डका हजार भाषण र वक्तव्यबाजी ओलीको टीका फुकाउँदाको आशीर्वादले साम्य पारिदिन्छ । जग एक खालको र घर अर्कैखालको बनाउँदै जाने प्रचण्ड प्रवृत्तिले गर्दा उनको र उनका सहयात्रीहरुको भविष्य नामेट हुन नब्बे सालको भूकम्प दोहोरिएर आउनु पर्ने देखिदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर