काठमाडौं । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका महान नेता लेनिनको जन्मदिवस तथा कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा (क्रान्तिकारी माओवादी)ले एक वक्तव्य जारी गर्दै क्रान्तिकारी कम्युनिस्ट समूह तथा व्यक्तित्वहरुलाई एकताबद्ध भई दलाल तथा नोकरशाही पँुजीपति र सामन्तवर्ग सहित साम्राज्यवादी तथा विस्तारवादी उत्पीडनका विरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दैै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्न विशेष अपील गरिएको छ ।
पार्टी महासचिव मोहन वैद्य‘किरण’ले जारी गरेको वक्तव्यमा भनिएको छ, “यस ऐतिहासिक अवसरमा हाम्रो पार्टी नेपाली कम्युनिष्ट आन्दोलनमा विद्यमान दक्षिणपन्थी संशोधनवादको विरोध गर्दै क्रान्तिकारी कम्युनिस्ट समूह तथा व्यक्तित्वहरुलाई एकताबद्ध भई दलाल तथा नोकरशाही पँुजीपति र सामन्तवर्ग सहित साम्राज्यवादी तथा विस्तारवादी उत्पीडनका विरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दैै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्न विशेष अपील गर्दछ ।”
यस्तो छ वक्तव्यको पूर्णपाठ :
“आज २२ अप्रिल अर्थात बैसाख ९ गते अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका एक महान नेता लेनिनको जन्म दिवसका साथै नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस पनि हो । महान् लेनिनले रुसी धर्तीमा माक्र्सवादको प्रयोग र समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि सफल नेतृत्व प्रदान गरी विश्वमा नयाँ सन्देश दिन र विश्व सर्वहारा वर्गको पथप्रदर्शक सिद्धान्तलाई माक्र्सवाद–लेनिनवादका रुपमा विकसित तुल्याउन उल्लेखनीय योगदान गर्नु भएको थियो । ठीक लेनिनको जन्मदिवसकै दिन २००६ सालमा क.पुष्पलालको नेतृत्वमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।
हाम्रो पार्टी आजको ऐतिहासिक दिनमा महान् लेनिनको विशेष संस्मरण तथा सम्मान गर्दछ । साथै पार्टी स्थापना दिवसको विशेष संस्मरण गर्दै नेपाली क्रान्तिकारी कम्युनिस्ट आन्दोलन, जनवादी क्रान्ति, जनयुद्ध र जनआन्दोलनमा त्याग, वीरता र बलिदान गर्ने सम्पूर्ण जनसमुदाय र कमरेडहरुप्रति हार्दिक अभिवादन ब्यक्त गर्दछ ।
साथै, यस ऐतिहासिक अवसरमा हाम्रो पार्टी नेपाली कम्युनिष्ट आन्दोलनमा विद्यमान दक्षिणपन्थी संशोधनवादको विरोध गर्दै क्रान्तिकारी कम्युनिस्ट समूह तथा व्यक्तित्वहरुलाई एकताबद्ध भई दलाल तथा नोकरशाही पँुजीपति र सामन्तवर्ग सहित साम्राज्यवादी तथा विस्तारवादी उत्पीडनका विरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दैै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्न विशेष अपील गर्दछ ।”