झर्रोटर्रो : शुभकामनाको खेति

प्रकाशित मिति : २०७५ बैशाख १

- (कैलुब्राह) [email protected]


आज नेपालमा प्रचलित पात्रोअन्सार नयाँ वर्ष २०७५ को शुभारम्भको दिन । आज नेपाल मण्डलका रैती मनुखेहरू शुभकामनाको समुन्द्रमा डुब्छन् । अर्थात् सबै मनुखेले शुभकामना पाउँछन् । शुभकामना पनि एक दुई तीन मात्रै हैन थोकका थोकमा पाउँछन् । आज पाएको शुभकामना भकारीमा राख्ने हो भने नेपाली मनुखेको घर भरिएर राख्ने ठाउँ नै हुँदैन । त्यति धेरै शुभकामना पाउँछन् मनुखेहरू । यहाँ मनुखेले पाउने भनेकै शुभकामना नै त हो । कति सन्तोकी छन् हाम्रा रैती मनुखेहरू । तिनलाई राज्यबाट वा अरूबाट विकास, निकास, गास, बास, कपास, ओक्तोमुलो, ज्ञानगुन क्यै पनि चाहिँदैन । शुभकामना खान्छन्, शुभकामना लाउँछन्, शुभकामना ओढ्छन्, शुभकामनामै सुत्छन्, शुभकामनामै बस्छन् । शुभकामनाले ओक्तोमुलो गर्छन्, शुभकमनाले आफ्ना लालावाला पढाउँछन् । कति गतिला छन् हाम्रा रैती मनुखेहरू ।

आज राष्ट्रका पति र उपपतिहर्काे शुभकामना आउँछ पहिला । त्यसपछि पर्धानमन्त्रीको । आज विहानै हाम्रा पर्धानमन्त्री शुभकामनाको कुम्लो बोकेर आफ्ना देशबाट पर्देशमा गए र रारा तालका डिलमा बसेर देश र पर्देशका रैतीहरूलाई अठार पन्ने एकतीस बुँदे शुभकामनाको पोको बाँटे । त्यो पनि विना पैसा निशुल्क वितरण गरे । कति दानी छन् हाम्रा पर्धानमन्त्री । त्यसपछि शुभकामना दिने पालो आउँछ गच्छेअन्सारका लाउके दलहर्का मुखियाहर्काे । त्यसपछि मन्त्रीहर्काे । त्यसपछि पर्देशका पतिहरू र मुखियाहर्काे । त्यसपछि देश र पर्देशका सभामुखहर्काे शुभकामना आउँछ । त्यसपछि देश र पर्देशका माननीयहर्काे आउँछ । यसै गरेर देश र पर्देशका थाई सरकार अर्थात् सरकारका नोकर चाकरका प्रमुखहर्काे पनि शुभकामनाको ओइरो लाग्छ । यसै गरेर उद्योगी, ब्यापारी, दलाल, गुप्त ब्यापारी, सुनदेखि नुनसम्मका डन कारोबारीहरू, जग्गादेखि मनुखेसम्मका दानी ब्यापारीहर्का तर्फबाट पनि शुभकामनाकै ओइरो लाग्छ । डलरका खेति गरेर कहिल्यै नअघाउने एनजीओ र आइएनजिओहर्का शुभकामना एफएमले भट्याउन थालेको, दुईपैसेदेखि डन पत्रिकाहरूसम्मले शुभकामना छाप्न थालेको त महिना दिन पुगिसक्यो । चैतको महिनाभरी शुभकामनाको खेति गरे उनीहर्ले ।

यसरी नयाँ वर्षको उपलक्ष्यमा शुभकामना दिनेहरू यति धेरै भए कि कुरै गरिसाध्य छैन । लिने भन्दा दिने धेरै भए । अझ फेसबुक, टुइटर र केके जाति अनेकथरीका भित्ताहरूमा त झन् कति हो कति शुभकामना । रङ्गीचङ्गी फुलहर्ले सजिसजाऊ, अविर माला, ध्वजा पताका, पटाकाको धमाकाले भरिभराऊ हुन्छन् फेसबुके भित्ताहरू । शुभकामना लिनेले पनि कहाँको लिने, कस्को लिने, सरकारी लिने कि प्राइभेटको लिने, फेसबुके भित्ताहर्काे लिने कि कानै टट्टाउने गरी भट्याएका एफएमहर्का लिने । दुईपैसे पत्रिकादेखि डन पत्रिकाहर्का पन्नाबाट लिने कि हातहातमा भएका मोबाइलमा आउनेलाई ग्रहण गर्ने । बडो अलमलमा पर्छन् विचरा शुभकामना लिने मनुखेहरू ।

यो शुभकामनाको खेति नेपाल मण्डलमा वर्षैभरी फलिरहन्छ । आजबाट फल्न शुरु गरेको खेति महिनै पिच्छे एउटा न एउटा अवसर पारेर फलि रहन्छ यो खेति । बैशाख एक गतेबाट फल्न शुरु गरेको शुभकामनाको खेति ११ गते लोकतन्त्र दिवस, वौद्ध पूर्णिमा, जेठ १५मा गणतन्त्र दिवस, त्यसपछि कृष्णाष्टमी, जनैपूर्णिमा, आधा आकाशको दह«ो चाड तीज, दशैँ, तिहार, छठ, तीनवटा लोसार, माघी, बसन्त पञ्चमी, इद, क्रिसमस, अङ्ग्रेजी नयाँ वर्ष, पुस २७ को एकता दिवस, फागुन ७ मा प्रजातन्त्र दिवस हुँदै फागु पूर्णिमा, वसन्त पञ्चमी, रामनवमी, चैत २६ को जनान्दोलन दिवसमा गएर टुङ्गिन्छ । त्यसपछि फेरी बैशाख १ गते आउँछ । एवम् रितले शुभकामना फल्ने खेतिपाति चलिरहन्छ । रैती मनुखेहर्लाई स्याहार्नै मुस्किल पर्छ । कति शुभकामना त स्याहार्नै नपाएर आँगनमै कुहिएर जान्छन्, पत्तोभाँती नै हुँदैन विचरा मनुखेहर्लाई ।

वर्षौं भयो नेपाल मण्डलमा शुभकामनाको खेतिपाति फल्न थालेको । पञ्चप्रेतहर्को व्यवस्थामा भन्दा ०४७ पछिको बहुदलकालमा यो खेति डबल उत्पादन भयो । अहिले गणतन्त्र र सङ्घीयताकालमा त यो यति तीव्र र ग्रेट छलाङका रूपमा विकास भयो शुभकामनाको खेति । सरकारीदेखि प्राइभेटसम्म डलरवादीदेखि संस्थादेखि टोलटोलका क्लवसम्म यसैको खेति छ । शुभकामनाको विकसले गर्दा नेपाल मण्डल पनि अव विश्वमहाशक्तिका रूपमा उदाउन थालेको छ । भर्खरै मात्र हाम्रा मण्डलका पर्धानमन्त्री छिमेकी मुलुक गएर नेपाल मण्डलमा पानीजहाज चलाउने घोषणा गरेर आएका छन् । त्यसको सर्वेक्षण गर्न र त्यहीबाट पानीजहाज चलाउने तारतम्य मिलाउन आज विहानै शुभकामनाको कुम्लो बोकेर मुगुको रारा ताल पुगे । अब रारा तालबाटै पानीजहाज कुदाउने र कर्णालीबाट सिधै काठमाण्डु जोड्ने रेल बनाउने योजनाको शुभकामना दिए । मुलुकमा त अब वर्ष होइन, महिना र दिन पनि होइन क्षणभरमा समृद्धि फलेर त्यसले हरेक मनुखेका घरघरमा समाजवाद ल्याउने छ । अब त्यो दिन धेरै टाढा छैन । यस्तो छ नेपाल मण्डलमा फल्ने शुभकामनाको करामत ।

शुभकामनाको यत्रो ठूलो महिमा र करामत देखेर यो कैलुब्राहले कनि नयाँ वर्षको अवसर पारेर सबैका सबैमा शुभकामना दिन आतुर छ । शुभकामनाले नै मनुखेको भलो हुनेदेखि देश विकास भएर समृद्धि फलेर समाजवादै आउने भएपछि शुभकामना पनि धेरै धेरै मात्र हैन लाख लाख पनि हनै मुरीका मुरी क्वीण्टलका क्वीन्टर, टनका टन, मेट्रिक टन र त्यो भन्दा पनि धेरै मिलियन, विलियन र ट्रिलियन क्वीन्टलमा शुभकामना दिन्छ । लौ सबैको शुभ होस् । कसैले अशुभ र कुभलो भएको गुनासो गर्न नपरोस् । भूकम्पले कुभलो गरेका, बाढि पहिरोले सताइएका, कोशीले बगाएका, डुबाएका सबैले शुभकामनाले आफ्नो जिविका चलाउनू । सरकारसँग, यो भएन र त्यो भएन भनेर गुनासो गर्ने, थानीय जनप्रतिनिधिहर्लाई सताउने, पर्देशका मुख्खेहरूसित गनगन गर्ने हैन । अब शुभकामना खाने, शुभकामना प्युने, शुभकामना ओढ्ने, विच्छाउने, शुभकामनाकै घर बनाउने र त्यसैमा बस्ने, शुभकामना लाउने, शुभकामना पढ्ने, सुन्ने, हेर्ने मनोरञ्जन लिने आदि इत्यादि त्यसैबाट गर्ने हो । सबैलाई चेतना भया ।
१ बैशाख २०७५