साढे ३३ केजी सुन काण्डको एक अभियुक्तद्वारा हिरासतभित्रै आत्महत्या

प्रकाशित मिति : २०७४ चैत्र ३०

काठमाडौं, चैत ३० । केही समय पहिले साढे ३३ केजी सुन प्रकरणमा पक्राउ परेका एक जना अभियुक्तले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् ।

बर्दियाको राजापुर नगरपालिका–७ का प्रेमराज चौधरीले महानगरीय प्रहरी वृत्त, अनामनगरको हिरासतमा आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार उनी नेपाल वायु सेवा निगममा लोडरको रूपमा कार्यरत थिए । काठमाडौं प्रहरी परिसरका अनुसार उनले बिहान ५ बजे गाडी बाथरुममा आत्महत्या गरेको थिए ।

यसअघि माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । र, त्यो सुन खोज्ने क्रममा भरिया शनम शाक्यलाई टर्चर दिएर हत्या गरिएको थियो ।

घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ । यसबारे छानविनका क्रममा महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमख एसएसपी दिवेश लोहोनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल हेडक्वार्टर तानिएका छन् ।

घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको छ भने प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कलराज रेग्मीको नेतृत्वको समिति बनाएको थियो ।

घटनामा संलग्न भएको आरोपमा अहिलेसम्म १९ जना पक्राउ परेका छन् । घटनामा प्रहरीकै उच्च अधिकारीहरुको समेत संलग्नता रहेको हुन सक्ने अनुसन्धान समितिले आशंका गरेको छ ।