नयाँ जनवादी क्रान्ति र साम्राज्यवाद

प्रकाशित मिति : २०७४ चैत्र २७

- अटल

नेपाल अर्ध–सामन्ती तथा अर्ध–औपनिवेशिक एवं नवऔपनिवेशिक देश रहिआएको छ । नयाँ जनवादी क्रान्तिले यो समस्याको हल गर्दछ । विगतमा नयाँ जनवादी क्रान्तिको पक्षमा उभिएका क्रान्तिकारी पार्टीहरु र नेता तथा कार्यकर्ताहरु साम्राज्यवादी तथा विस्तारवादी आतंकका कारण आफ्नो रंग बदल्न पुगेका छन् । विगतमा देश, जनता, पार्टी र क्रान्तिको पक्षमा गरिएका त्याग, तपस्या, बलिदान जेल, नेल, घाइते अपाङ्गको कुनै मूल्यबोध नहुने गरी विचारमा स्खलित हुन पुगेका छन् । ती नयाँ खासगरी एमाले, मा.के. र नेमकिपा पार्टीहरु र तिनका नेता तथा कार्यकर्ता पर्दछन् ।

आज पनि नेपाली समाजको अन्तरविरोध दलाल एवं नोकरशाही पुँजीपति र समान्तवर्ग मिलेर बनेको घरेलु प्रतिक्रियावाद, जसलाई साम्राज्यवाद र विशेषतः भारतीय विस्तारवादद्वारा निर्देशित र परिचालित गरिएको छ, त्यो वर्ग नै नेपाली जनताको प्रमुख वर्ग दुश्मन रही आएको छ र यो वर्गअन्तरविरोध नै नेपाली समाजको प्रमुख अन्तरविरोध हो । यसबाट छुटकारा नपाइकन नेपालको स्वतन्त्र अर्थतन्त्रको विकास हुन सक्दैन । नेपाल स्वाधीन राष्ट्र बन्न सक्तैन ।

विगत नेपालको इतिहास हेर्ने हो भने नेपाल निकै सम्पन्न दक्षिण एशियामा राम्रो अर्थतन्त्र भएको देश थियो । मध्यकालमा त्यही आर्थिक समृद्धिका कारण बनेका कैयौं कला संस्कृति अहिले पनि विश्व सम्पदाको सूचीमा सुचिकृत छन् । जब सन् १८१६ को सुगौली सन्धि भयो, त्योदेखि यता हाम्रो देश अर्ध–औपनिवेशिकतामा बदलिएको छ र हिजोआज अझ रुप परिवर्तन भएर नव–औपनिवेशिकतामा समेत बदलिएको छ । यही समस्याको हल गर्नु नै नयाँ जनवादी क्रान्ति हो । नयाँ जनवादी क्रान्तिका मुख्य दुई कर्याभार छन्, प्रथम– राजनैतिक रुपमा सर्वहारा वर्गको नेतृत्वमा किसान–मजदुर एकतामा आधारित राज्य व्यवस्था, द्वितीय– साम्राज्यवाद र विस्तारवाद मुक्त स्वाधीन अर्थतन्त्र । यी कुरा पुरा नभई नयाँ जनवादी क्रान्ति पुरा भयो भन्नु सिद्धान्तअनुसार आफू बदलिनु नभई आफू अनुकूल सिद्धान्त बदल्नु हो । वर्षको सात खर्ब ब्यापार घाटा पालेर नेपाल स्वाधीन अर्थतन्त्र भएको देश हो भनेर फलाको हाल्नु सुतुरमुर्गले बालुवामा टाउको घुसारेर लुक्नु र लौ कुत्ता मेरो खुट्टा खा भने झै शिकारीको सजिलो शिकार बन्नु हो । हाम्र्रा बाबुबाजेको पालासम्म पनि ब्यापार सन्तुलन हाम्रो पक्षमा थियो ।

तराईको चारकोशे झाडी विट्रिश–भारतलाई बेचेर रेलको लीक ओछ्याउन दिँदा नेपालको मुद्राकोष मूल्य पहिला ६० नेपाली बराबर १०० भारु पछि गएर क्रमशः १०० को १०४ र बराबरी हुँदै अहिले उल्टो दिशामा गएर १०० भारु किन्न १६० नेपाली दिनुपर्ने अवस्थामा पुग्यो । यो पनि वास्तविक मुल्य होइन । नेपालका सम्पूर्ण दक्षिणी एवं पूर्व र पश्चिमी बजार सबै नेपाली ग्राहकले भरिएका छन् । नेपाली बजारभन्दा भारतीय समान निकै सस्ता छन् । भारतीय व्यापारीको रजगज छ भने नेपाली व्यापारी झिंगा धपाएर बस्दछ । भारु सटही समेत हुँदैन नेपाली मुद्रामा । भाइबहिनी छोरा छोरीले विदेशमा कमाएको डलरबाट भारु साटेर कारोबार गर्नु परेको छ । नेपालको स्वाधीन अर्थतन्त्र चलाउने हो भने नेपालमा उत्पादन बढाउने र नेपाली मुद्राको तुरुन्त अवमूल्यन गर्न जरुरी भइसकेको छ । जसरी होस् भुक्तान सन्तुलन नेपालको पक्षमा बनाएर राणाहरुले आफ्नै लागि भएपनि बनाएका विलासी भवनहरुमा नै नेपालको मूलभूत राज्यसत्ता र प्रशासनयन्त्र सञ्चालन भइरहेको छ । के यो २० वर्षे पञ्चायतीकाल र अबको पाँच वर्षपछि ३० वर्षे संसदीय बहुदलीय व्यवस्थाको लागि कुरी कुरी गर्ने विषय होइन ? पासोमा काठको बिँड राखेर सम्पूर्ण काठ भएछु भनेर बञ्चरोले भने जस्तो, सात खर्बको बार्षिक व्यापार घाटा पालेर नेपाल नवऔपनिवेशिक र अर्धऔपनिवेशिक देश होइन भन्नु हत्केलाले सुर्यलाई छेक्नु जस्तो हो । माकेका केही नेताहरु हेटौडा महाधिवेशनसम्म सन्ध्या भाषामा नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादी क्रान्ति सम्पन्न गर्ने भन्दै थिए तर असोज १७ गतेको ७ बुँदे सम्झौताले त्यसको पनि धोती लगाई सके । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, एशियाली विकास बैंकका गलत स्वार्थ र शर्त स्वीकार गरेर साम्राज्यवादी पुरस्कार थाप्ने नेपाली अर्थमन्त्रीहरु नै हुन् नेपाली अर्थतन्त्रलाई ध्वंश पार्ने खल पात्र ।

अहिले वाइवलभित्र तरबार र तरबार पछि पछि सेना ल्याएर उपनिवेश बनाउने जमाना गइसक्यो । त्यसो गर्नासाथ तीन करोड नेपाली सेना बनेर लखेटी हाल्छन् । अहिले त नेपालीलाई थाहै नदिई आकाशबाट पैसा सोहर्छन् । एनसेलले खर्बाैं रुपैयाँ नेपाललाई कर र लाभांश नतिरिकन, यहाँका दलाल र नोकरशाहहरु प्रधानमन्त्री, संचारमन्त्री र न्यायाधिसलाई घुस खुवाएर विदेश लगिसक्यो । मदनकृष्ण हरिवंशले २०४० सालतिर हँसाउने जोक गरे जस्तै काक्रोबाट थाक्रो हुँदै फेरि काक्रोमा जाने के हो ? भन्दा विदेशबाट आएको पैसा फेरि विदेशमा लाने भन्ने सिद्धान्त अजय सुमार्गी जस्ता ब्यापारीले प्रयोग गरिसके । यो त एक सय सत्तरी वर्ष अगाडि नै माक्र्स बुढाले भनिसकेका थिए– राज्यसत्ता भनेको सेना, पुलिस, अड्डा, अदालत पर्दा पछाडिका नोकरशाही यन्त्र हुन् र यी विरोधी वर्गलाई दबाउने हतियार बाहेक केही होइनन् भनेर । संसद त गफ गर्ने गफाडीको अखडा मात्र हो– भने । यो कुरा नेपाली समाजमा अक्षरशः लागु भइरहेको छ । आज साम्राज्यवाद र भारतीय विस्तारवादी सेना, एम–१६, इन्सास राइफल लिएर नेपाल आएर लुट्नै पर्दैन । बाजुराका हाड र छालामात्र भएका नेपाली जनतालाई हेर्दा हुन्छ । नेपालको सबैभन्दा गरिब जिल्लाका जनतालाई कसरी वित्तीय शोषण गरेर आकाश मार्गबाटै शोषण गरेर नेपाली जनता मार्दैछ भनेर । बाजुरा त एउटा उपमा मात्रै हो सम्पूर्ण नेपालको हालत त्यही हुँदैछ ।

वीरवलले खिचडी पकाएको जस्तै नेपाली जनताको जुनकिरीको प्रकाश जस्तो उत्तरतिर चीनलाई हेर्दै छन् । भारतीय नाकाबन्दीबाट वाक्क भएर चाइनाबट तेल, पूर्वपश्चिम रेल भन्ने गीत गाएर भावात्मक सन्तोष लिन खोजेका छन् । चीन माओकालिन चीन होइन र पुँजीवादी बाटोमा हिँडेको पुँजीवादको चरम विकास हुँदै गरेको र अमेरिकालाई जित्दै गरेको देश हो । पुँजीवादको अन्तिम अवस्थामा साम्राज्यवाद हो भन्ने कुरा लेनिनले उहिल्यै भन्नुभएको थियो । त्यो कुरा वैज्ञानिक रुपमा पुष्टि भइपनि रहेको छ । चीनले आफ्नो व्यापारलाई कायम राख्न र बढाउन साम्राज्यवादी नीति अख्तियार नगरी सुखै छैन । अमेरिकासँगै हालको वाकयुद्ध त्यसैको परिणाम हो । नेपालको सन्दर्भमा पनि भारत चीनका बीच लिपुलेक मार्ग सम्बन्धी सम्झौता गरेर नेपालको राष्ट्रिय स्वाधीनतामाथि चीनद्वारा पनि गम्भीर आघात पु¥याउने काम भइसकेको छ । मानौ रे– हिन्दमहासागरको कलकत्ता बन्दरगाहबाट भन्दा प्रशान्त महासागर हुँदै रेलमार्गबाट केरुङ हुँदै ब्यापार ग¥यो रे । फेरि पनि ब्यापार घाटा सात खर्ब हुँदै बढ्ने नै हो । बाघले खाए पनि किलो रित्तै, भीरबाट लडे पनि किलो रित्तै । यदि चीन साँच्चैको नेपालको मित्र हुने हो भने चीनले हामीलाई त्यति मात्र वा अझ थोरै बेच्नु पर्छ, जति उसले हामीसँग किन्छ । हामीसँग बस्तु छैनन् भने अनुदान पनि पर्दैन, उसलाई आवश्यक पर्ने वस्तु नेपाली कच्चा पदार्थमा आधारित उद्योग खोली दिओस्, ऋणमा पछि उसलाई निकासी गरेर तिर्न सकियोस् । विगमा जतिखेर रुसले आफूलाई समाजवादी भन्थ्यो, नाटोसँग मुकाविला गर्न सिटो गठन गरेर समानताको आधारमा व्यापार गथ्र्याे, मित्र देशहरुसँग पछि रुसी अर्थतन्त्र सामाजिक साम्राज्यवादको कारण ध्वंस भयो र सिटो भंग भयो । नाटो अझै कायम छ । पुँजीवादले पुँजीबाहेक कसैलाई माया गर्दैन । त्यसैले त एंगेल्सले पुँजीपतिले नाफा हुन्छ भने विष बेचेर पनि नाफा गर्छ भनेर भन्नु भएको छ । सच्चा समाजवादी देश बाहेक अरुबाट उपरोक्त कुराको अपेक्षा गर्नु भनेको धतुरो रोपेर आँपको आशा गर्नु जस्तै हो ।

वर्तमान पश्चगामी संविधान अन्तर्गत बनेको प्रतिक्रियावादी राज्य सब सञ्चालक जुनसुकै नाममा भएपनि प्रतिक्रियावादी नै हुन् । उनीहरुले गर्ने काम पनि विगतका रा.प्र.पा, कांग्रेस र मधेवादी दलले गर्ने जस्तै हुन् । तर उनीहरु कथित वाम र कम्युनिष्ट नाममा गरएका हुँदा झन् ठुलो भ्रम पार्दछन् । जसरी हरियो घाँसमा लुकेका हरेउ सर्पलाई सजिलै देख्न सकिँदैन । यिनीहरुको भ्रमलाई पनि नेपाली जनताले सजिलै चिर्न सक्तैनन् । नेपालमा वामपन्थी शब्द निकै लोकप्रिय छ । यो अmण्डै कम्युनिष्ट कै समानान्तर शब्दको रुपमा बुझ्ने काम हुँदै आएको छ । बेलायतमा सरकार विरोधी शब्दको रुपमा विकास भएको र सभामुखको देव्रे लाइनमा बस्ने सांसदलार्य प्रयोग हुने शब्दार्थको हिसाले पनि एमाले र माके सरकारमा बसेकोले दक्षिणपन्थी हुन् । एमाले र माकेले नयाँ जनवादी क्रान्ति पुरा भयो अब समाजवादी क्रान्ति गर्ने भन्नु साम्राज्यवाद हाम्रो सन्दर्भमा मुख्यतः भारतीय विस्तारवाद माथि पर्दा हाल्नु हो । साम्राज्यवाद र विस्तारवादले जब आफ्ना पुराना चाकरहरु शक्तिका हिसाबले संगठनका हिसाबले कमजोर र काम नलाग्ने हुन्छन्, त्यसपछि नयाँ चाकर खोज्छन् । यद्यपि एमाले भारतीय विस्तारवादको विश्वास पात्र भइसकेको सन्दर्भमा उनीहरुलाई विस्तारवादले प्रयोग गर्न कुनै कठिनाई छैन । केही समय राष्ट्रवादीको मुकुण्डो प्रयोग गरेर जनतालाई भ्रम दिएका मात्र हुन् । सत्ता र सरकारमा नजाँदै कुटनीतिक मर्यादा नाघेर सरकारलाई छलेर विस्तारवादका प्रतिनिधिसँग गोप्य मन्त्रणा गरिसकेका छन् । ओलीको भारत भ्रमणलाई राष्ट्रप्रेमी नेपालीले बडो चनाखोका साथ हेरेका छन् ।

कुनै पनि राष्ट्रघाती सन्धि, सम्झौता भयो भने देशभक्त नेपालीहरुले आगो ओकल्ने छन् । त्यसकाकारण नयाँ जनवादी क्रान्ति पुरा भयो भन्नु साम्राज्यवाद र विस्तारवादको दलाल बन्नु हो । नेपाली जनताका शत्रु दुई पहाड– दलाल नोकरशाही पुँजीवाद र सामन्तवाद मिलेर बनेको घरेलु प्रतिक्रियावाद र साम्राज्यवाद हाम्रो सन्दर्भमा भारतीय विस्तारवाद हन् । यी दुई पहाडलाई फोरेर सम्म नबनाएसम्म जसले जतिसुकै कानका जाली फुट्ने गरी चिच्याए पनि नेपालमा नयाँ जनवादी क्रान्ति पुरा भएको मानिने छैन । जतिसुकै पुराना दलालहरु नाँगिएर नयाँ दलाल आएर भ्रम दिए पनि त्यो पिसाबको न्यानो मात्र हुनेछ । त्यसैले वामपन्थीको नाममा, कम्युनिष्टका नाममा प्रतिक्रियावादी सत्ता र सरकारमा गएका एमाले र माकेले पश्चगामी र यथास्थितिवादी राप्रपा, मधेसवादी र कांग्रेसभन्दा राष्ट्रवादी, वामपन्थी एवं कम्युनिष्टप्रिय नेपाली जनतालाई कैयौं गुणा भ्रम दिने छन् । नेकपा (क्रान्तिकारी माओवादी) प्रष्ट छ,– प्रतिक्रियावादी राज्यसत्ताको कुर्सीमा जो बस्छ उही नेपाली जनताको प्रधान शत्रु हो । विगतका नांगिएका दलालहरुलाई जसरी सजिलै भण्डाफोर गरेर वर्तमान प्रतिक्रियावादी सरकारलाई पुग्दै सैद्धान्तिक र व्यवहारिक रुपमा कयौं गुणा आफ्नो क्षमता, योग्यता, अध्ययन, क्रियाशिलता बढाएर मात्र भ्रमलाई वास्तविकतामा बदल्न सकिन्छ, यो कुरामा सबैले ख्याल गर्नु पर्छ ।