‘राष्ट्रिय स्वाधीनताको लागि दलालहरुका विरुद्ध आन्दोलन केन्द्रित गर्नुपर्छ’

प्रकाशित मिति : २०७४ चैत्र २४

काठमाडौं । राष्ट्रघाती सन्धिसम्झौताका विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा (विप्लव) र नेकपा (ऋषि कट्टेल)ले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा वक्ताहरुले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि दलालहरुका विरुद्ध आन्दोलन केन्द्रित गर्नुपर्ने विचार व्यक्त गरेका छन् । क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीसले प्रम ओलीले भारत जानुअघि नै भारतसँग गरिएका असमान तथा राष्ट्रघाती सन्धि सम्झौताहरु कार्यान्वयन गर्ने बताएर आफ्नो राष्ट्रघाती चेहेरा उदांगो पारेको बताउनु भयो । राष्ट्रिय स्वाधीनतामाथि साम्राज्यवाद तथा भारतीय विस्तारवादका दलालहरुबाट नै मुख्य खतरा रहेकोले अब दलालहरुका विरुद्ध नै आन्दोलन केन्द्रित गर्नुपर्नेमा नेता श्रीसले जोड दिनुभयो ।

नेकपाका अध्यक्ष ऋषि कट्टेलले राष्ट्रिय स्वाधीनताको आन्दोलनको थालनी भइसकेको चर्चा गर्दै ५१ अर्ब कमिसन बुझेर जिएमआरलाई माथिल्लो जलविद्युत आयोजना सुम्पने एमाले, कांग्रेस र माकेका दलाल नेताहरुले त्यस्तै कमिसन लिएर नै अरुण तेस्रो पनि भारतलाई सुम्पेको आरोप लगाउँदै अब दलालहरुका विरुद्ध नै आन्दोलन लक्षित गर्नुपर्ने बताउनु भयो । सन् पचासयता गरिएका राष्ट्रघाती सन्धि सम्झौताको सविस्तार चर्चा गर्दै अध्यक्ष कट्टेलले शान्तिपूर्ण गरिएका कार्यक्रममा समेत दमनमा उत्रिन थालेको दलाल सरकारका विरुद्ध आन्दोलनलाई सशक्त बनाउनु पर्ने बताउनु भयो ।

त्यसैगरी मसालका प्रवक्ता रामप्रकाश पुरीले अरुण तेस्रो लगायत सबै राष्ट्रघाती सन्धि सम्झौताको आफ्नो पार्टीले विरोध गर्दै आएकोले अब संयुक्त आन्दोलनमार्फत् राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई सशक्त बनाउनु पर्नेमा जोड दिनुभयो ।

नेकपा (विप्लव)का नेता अनिल शर्मा विरहीले सन् पचासलगायतका असमान तथा राष्ट्रघाती सन्धि सम्झौताहरु खारेज गरिनु पर्ने माग राखेर शान्तिपूर्ण आन्दोलन गर्दा समेत राज्य दमनमा उत्रिएको भन्दै राष्ट्रिय स्वाधीनता र परिवर्तनका पक्षधर जनताले आवश्यक परे हतियार उठाउने चेतावानी दिनुभयो । विस्तारवाद तथा साम्राज्यवादका दलालहरुका विरुद्ध नै अबको आन्दोलन केन्द्रित हुने पनि नेता विरहीले बताउनु भयो ।

क्रान्तिकारी माओवादीका नेता श्रीसले अध्यक्षता गरेको कार्यक्रमको सञ्चालन नेकपा (विप्लव)का नेता विरहीले गर्नुभएको थियो । कार्यक्रममा चारवटै पार्टीका नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।