चितवन, चैत २३ । पहिचान नभएको शंकास्पद रोगका कारण चितवनको रत्ननगर नगरपालिका–१५ माधवपुरको लामिछाने पोल्ट्री फार्मका तीन हजार ५०० लेयर्स कुखुरा मरेका छन् ।
फर्मका सञ्चालक द्रोणप्रसान लामिछानेको अनुसार कुन रोग लागेको भन्ने पहिचान भएको छैन चैत १५ गतेदेखि करीब एक हप्ताको अन्तरालमा यसरी कुखुरा मरिरहेको छ ।
उनी भन्छन्, “एक्कासि कुखुरा झोक्राउने र मर्ने भयो, ल्याबमा चैत १६ गते र २० गते नमूना पठाए पनि अहिलेसम्म केही जानकारी आएको छैन फार्ममा बाँकी रहेका एक हजार ६०० कुखुरासमेत मर्ने अवस्थामा छ ।”
सो जानकारी आएपछि बिहीबार जिल्ला पशुसेवा कार्यालय, चितवनले फार्मको स्थलगत निरीक्षण गरेको छ । पशुसेवा कार्यालयका पशु चिकित्सक डा. विकास श्रेष्ठले कुखुराको मृत्युदर धेरै रहेको जानकारी दिँदै परीक्षणको रिपोर्ट नआएसम्म यसै भन्न नसकिने बताए ।
चैत २० गते भरतपुरस्थित पक्षीरोग अन्वेषण प्रयोगशालाबाट नमूना थप परीक्षणका लागि काठमाडौँ पठाइएको श्रेष्ठ बताउँछन् । उनले बर्डफ्लूसँग मिल्ने लक्ष्यण भने नदेखिएको दाबी गर्दै कुन रोग भनेर यसै भन्न नसकिने बताए ।
अण्डा दिन थालेको तीन महिना नहुँदै अचानक रोग लागेर कुखुरा मरेपछि अहिलेसम्म ४० लाखभन्दा बढी क्षति भइसकेको जनाइएको छ । शुरुमै पशुसेवा कार्यालयलाई जानकारी दिँदा चासो नदिएको आरोप कुखुरापालक किसानको छ ।