नेपाली दूतावासमा एमाले नेता हावी, प्रवासी नेपालीलाई प्रम ओलीसँग भेट गर्न लगाइयो रोक

प्रकाशित मिति : २०७४ चैत्र २१

नयाँदिल्ली । नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको समयमा प्रवासी नेपालीहरुलाई प्रम ओलीसँग भेट गर्न रोक लगाइएको छ । दिल्ली स्थित नेपाली राजदूतावासले अप्रत्यक्ष रुपमा प्रम ओलीसँग भेट गर्न रोक लगाएको हो ।

विगतमा नेपालका पूर्व प्रधानमन्त्रीहरु भारत भ्रमणमा आउँदा प्रवासी नेपालीहरुलाई संबोधन गर्ने परिपाटी रहँदै आएको थियो । यस अगाडि प्रधानमन्त्रीको रुपमा गरिएको भारत भ्रमणमा केपी ओली, पुष्पकमल दाहाल, शेर बहादुर देउवा लगायतले पनि राजदूतावासमा प्रवासी नेपालीहरुलाई सम्बोधन गर्नु भएको थियो । यस पटक भने यस्तो कार्यक्रम तय नगरेर दूतावासले प्रधानमन्त्रीसँगको भेटलाई अप्रत्यक्ष रुपमा रोक लगाउन पुगेको छ ।

भारतलगायत सबै देशहरुका प्रमुखहरुले देश बाहिरको भ्रमण गर्दा प्रवासी समुदायलाई भेट्ने तथा सम्बोधन गर्ने परम्परालाई समाप्त पार्न खोजिएको भन्दै नेपाली एकता समाज, भारतका महासचिव विष्णु भट्टराईले दूतावासको यो कार्यप्रति विरोध जनाएका छन् ।

यसपटक प्रधानमन्त्री ओलीलाई भेट्न चाहने प्रवासी नेपालीहरुले दूतावास मार्फत नभएर आफ्नो पार्टीका नेता, कार्यकर्ताहरुबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्रीलाई भेट्न र प्रवासी नेपालीहरुको समस्याको बारेमा ज्ञापनपत्र दिन पाउनु पर्ने माग गर्दै दूतावासमा निवेदन दिन पुगेका नेपाली एकता समाज भारतका केन्द्रीय सदस्य शिव प्रसाद दहालका अनुसार दूतावासका अधिकारीहरुले दाहाललाई एमालेका नेता लोकनाथ भण्डारीलाई भेटर समय लिन भनेका छन् ।

दूतावासको यो कार्यप्रति विरोध गर्दै जारी गरिएको भट्टराईको विज्ञप्तिमा भनिएको छ, ‘आजसम्म जुनसुकै प्रधानमन्त्रीको भ्रमण हुँदा प्रवासी जनताका संगठनका प्रतिनिधिहरुले वहाँहरुलाई भेट गर्ने परम्परा रहेको छ । देशका प्रधानमन्त्रीले सबै जनताको प्रतिनिधित्व गरेको हुनाले राजदूतावासमा जनताको पैसामा हुने कार्यक्रममा पार्टीको आधारमा भेदभाव गरिएको थिएन तर यसपटक जनतासित सिधै भेटघाटको कार्यक्रमको जिम्मा दूतावासले एमालेका नेताहरुलाई सुम्पिएर गलत परिपाटीको जग हालेको छ ।’ नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष आनन्द थापाले, ‘प्रधानमन्त्रीले आफ्नै हनुमानहरुलाई मात्र भेट्न चाहनुहुन्छ भने सो कार्यक्रम पार्टीकै पैसामा गर्नु पर्दछ । प्रवासी जनताका समस्या नै सुन्न नचाहने र दलगत आधारमा मात्र भेट्न खोज्ने प्रधानमन्त्रीलाई नेपालको प्रधानमन्त्री कसरी भन्ने ?’ भन्नु भयो ।