जनयुद्ध र वार्षिकोत्सव

प्रकाशित मिति : २०७४ चैत्र २०

- ‘अटल’

वर्ग संघर्ष कसैको इच्छा आंकक्षा, चाहना र सनकले हुने र रोकिने विषय होइन । यो देश, काल परिस्थिति र जनताको चेतना अनुसार वर्गसंघर्ष कहिले शान्तिपूर्ण कहिले नारा जुलुसको रुपमा कहिले भुसको आगोझैं भित्र–भित्र त कहिले बन्दुकको गड्गडाहट र रातो ब्यारल (नाल)को रुपमा व्यक्त हुन्छ र भइरहन्छ । यो वस्तुगत जगतको स्वतन्त्र नियम अनुसार निरन्तर चलिरहन्छ । त्यसकारण २०६३ मंसीर ५ गते आजका मितिदेखि “जनयुद्धको अन्त्य भयो” भनेर गिरिजासँगै हस्ताक्षर गरेर प्रचण्डले वर्गसंघर्ष परित्याग गरेपनि भिन्न वहुआयामिक रुपमा नेपाली विशेषता अनुसारको वर्गसंघर्ष छताछुल्ल रुपमा नेपाली समाजमा चलिरहेको छ । “सशस्त्र बल विना राज्य सत्ता परिवर्तनको कुरा गर्नु पागलपन हो” भनेर स्टालिनको भनाई हजार पल्ट दोहो¥याउने प्रचण्ड अहिले आएर आफ्नो मूल्य, मान्यता, सिद्धान्त विपरीत पछिल्लो आफ्नै हेटौंडा महाधिवेशन ०६९ माघको विपरीत कुनै भेला सम्मेलन महाधिवेशन जस्ता निकायबाट अनुमोदन वा पारित नगरी “संविधानसभाबाट पारित नेपालको संविधानको रक्षा र प्रयोगको क्रममा लोकतान्त्रिक प्रणाली र शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट….समाजको आधारहरु तयार गर्ने साझा निश्कर्षमा आइ पुगेका छौं ।” (सहमति पत्र असोज १७), मा सही धस्काउन पुग्दछन् ।

एमालेले पनि जनयुद्धप्रति सम्मान प्रकट गरेको छ भनेर आफ्ना अनुयायीहरुलाई थामथुम पार्न खोजे पनि केपी ओलीले “हिंसात्मक क्रियाकलापको समर्थन गर्न सकिदैन” भनेर पेरिसडाडाँको निम्तो अस्वीकार गरेर फागुन १ को कार्यक्रम बहिष्कार गरेको र “माओवादीजनले हिंसात्मक क्रियाकलाप जनयुद्धको गुणागान गाईरहदा म आततायी जत्थाबाट तीन पटक घेरामा परेर बल्ल–बल्ल बाँचेको घटना सम्झिरहेको छु ।” भनेर ईश्वर पोखरेलले मुखभरिको जवाफ दिएर लोप्पा खुवाई सकेका छन् । एमालेले त २०३५ साल पौष ११ बाटै मालेको स्थापना दिनकै दिन (जुन पछि गएर ०४७ मा माक्र्सवादीसंग एकता गरेर एमाले भएको हो) बाट अबदेखि हतियार नउठाउने र शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोमा हिड्ने भनेर खु्रश्चोभी बाटो पक्डिसकेको हो, उसलाई केही थप भनिरहनु जरुरी पनि छैन । एमालेको बाटोमा हिडेर जनयुद्धको सम्झना गर्नु महिमा माण्डित गर्नु जनयुद्धकै अवमूल्यन हो । नयाँ जनवाद–समाजवाद र साम्यवादको नारा घन्काउँदै शहीद भएकाहरुको सम्झना गर्न लायक पार्टी बनेको छ– माके । जसरी २०२९ फागुन २१ गते राजतन्त्र मुर्दावाद भन्दै सुखानीमा रामनाथ दाहाल, नारायण श्रेष्ठ, कृष्ण कुईकेल, नेत्र घिमिरे र वीरेन राजवंशीले सहादत प्राप्त गरे । त्यही भ्रुण झापाली समुहले माले हुँदै एमाले बनेर २०४७ कार्तिक २३ गते संवैधानिक राजतन्त्रात्मक संविधान बनाएर शहीदको अपमान गरेको थियो ।

त्यसैगरी ‘संसदीय व्यवस्थाको भ्रममा नपरौं, नयाँ जनवादी क्रान्तिको तयारी गरौं’ भनेर आह्वान गरिएको जनयुद्धले राष्ट्र तथा अन्तर्राष्ट्र थर्काउँदै सत्र हजारले वलिदान गरिसकेपछि त्यही संसदीय प्रतिक्रियावादी व्यवस्थामा आत्मसमर्पण गर्न पुगेका छन्–प्रचण्ड र उनको भजन मण्डली (माओवादी केन्द्र) । भजन गाउन अस्वीकार गर्ने केही साथीहरुले सम्बन्ध विच्छेद गरेकोमा धन्यवाद ! स्मरण रहोस् २०७३ साल वैशाखमा प्रचण्डले पार्टी एकताका पाँच शर्त लेखेर पठाएको पत्रमा वर्तमान राज्य सत्तालाई प्रतिक्रियावादी राज्यसत्ता भनेका छन् जुन पत्रको छायाँ कपि नेकपा (क्रान्तिकारी माओवादी) का हरेक केन्द्रीय सदस्यसँग सुरक्षित छ ।

तात्कालीन नेकपा (माओवादी) जतिखेर जनयुद्धमा थियो । फागुन महिना उत्सव उमंग र रक्त संचार गर्ने महिना हुन्थ्यो । अछामको मंगलसेन लगायतका ठूल–ठूला विजय अभियान यही फागुन महिनामा सम्पन्न हुने गर्थे । ०५३ साल फागुनदेखि एउटा रुटिन नै बनाइएको थियो । पहिलो हप्ता ०५२ फागुन (१९९६ फेब्रुअरी १३)को सम्झना १ देखि ७ गतेसम्म अवीर वरण, मिठाई वितरण, मीठामीठा खानेकुराको एकआपसमा आदान–प्रदान, दोश्रो हप्ता ८ गतेदेखि १४ गतेसम्म रचनात्मक क्रियाकलाप, खेलकुद हाजिरी जवाफ, जनवादी गीत, नृत्य, लोक तथा प्रगतिशील दोहोरी जुवारी गीत प्रतियोगिता गोष्ठी तथा अन्तरक्रिया तेस्रो हप्ता १४ गतेदेखि २१ गतेसम्म शहीद सप्ताह शहीद परिवारको भेला, शहीद परिवारको घर–घरमा भेटघाट, शहीदको कोटा चुक्ता गर्ने प्रतिवद्धता, शहीद परिवारबाट प्रोत्साहन प्राप्त गर्ने आर्शिवाद लिने, शहीद परिवारलाई सल दोसल्ला खादा, ओढाउने बाटोखर्च र खाजा खुवाउने फूल अवीर अर्पण आदि र अन्तिम हप्ता २२–२९ वा ३० सम्म समीक्षात्मक कार्यक्रम । २०६२ फागुनसम्म यसरी १० वर्ष बिते भने । त्यहाँदेखि यता १३ वर्ष प्रतिबद्धता व्यक्त गर्ने शहीदले देखाएको बाटोमा श्वास रहुन्जेल हिडिरहने प्रतिवद्धता व्यक्त गर्ने । संशोधनवाद, नवसंशोधनवाद, अवसरवाद, प्रतिक्रियावादको भण्डाफोर, विचार, सिद्धान्त, दर्शन, राजनीतिक रुपमा स्तर उठाउने, खारिने र अझ स्पातिलो बन्ने क्रममा विताइएको छ । सबैले कान खोलेर सुन्दा हुन्छ, एमालेले जस्तो आफ्नो पौरखप्रति धिकार्ने, गलत बाटो हिडियो भनेर कान समाएर अब हिंसाको बाटो कहिल्यै समाइदैन भनेर देश तथा विदेशका प्रतिक्रियावादीहरुका अगाडि तीन ताल बाचा गर्दै उठबस गरेर माओवादी आन्दोलन सिद्धिदैन ।

क. किरणको नेतृत्वमा नव–संशोधनवादको विरुद्ध ०६९ असार २ गते विद्रोहको झण्डा उठिसकेको छ । सके हाम्रै पालामा नव–संशोधनवाद–संशोधनवाद प्रतिक्रियावादको विरुद्ध विद्रोह गरेर नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न हुनेछ र विश्वले एउटा नयाँ पाठ पढ्ने छन् । सकिएन भनेपनि झापा आन्दोलनको झैं विउ नै नरहने गरी माओवादी आन्दोलन सकिएन भनेर नेपालका सन्तान दर–सन्तानले पढ्ने गरी नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास स्वर्ण अक्षरले लेखिई सक्यो । यो विद्रोहको पाठ आगामी पुस्ताले पढ्नेछन् । महान् माओले भने झैं पर्वत फोर्ने मुर्ख बुढोझैं पल्लो गाउँबाट आउदा पहाड चढ्नु पर्ने, घाम छेकेर विस्कुन सुकाउन नदिने दलाल पुँजीवाद, नोकरशाही पुँजीवाद र सामन्तवाद लगायत विस्तारवाद र साम्राज्यवाद रुपी अग्लो पहाड फोरेर सम्म पार्ने अभियानको थालनी हाम्रा अग्रजले गर्दै आए हामी बाचुन्जेल गरिरहने छौं र हाम्रा छोरा–छोरीहरुले गर्नेछन् र नाती–नातीनाहरुले गरिरहने छन् । एक न एक दिन मानिसले मानिसलाई शोषण गर्ने प्रतिक्रियावादी राज्य व्यवस्था ध्वस्त हुनेछ । “सल्यानको तीते फापर चितवनको तोरी ! एकै नाश बनाउनु छ– डाँडाकाडाँ फोरी !! भने झैं साम्यवादसम्म संसार बनि छाड्ने छ । बाटो बिराएर हिड्नेहरुका लागि पश्चाताप बाहेक केही हात लाग्ने छैन । बाचुन्जेल पनि गाली र हरेक मोडहरुमा पदम कुँवरहरुको डर रहिरहने छ भने मरेपछि पनि प्रुधो, वाकुनिन, वर्नस्टीन, काउत्सकी, खु्रश्चोभ, लिउ–तेङ र मिलेराँ कित्ताको नकारात्मक इतिहासको फोहोरको डंगुरमा थन्किने छन् ।

नेपाल राष्ट्रिय रुपमा स्वाभिमानी, उपनिवेश नभएको राष्ट्रिय स्वाधीनता, क्षेत्रीय अखण्डता कायम रहेको हिमाली पुरानो राष्ट्र भएपनि सामाजिक क्रान्तिका हिसाबले नकार–सकारको हिसाबले पुरानोलाई ध्वंश र नयाँ निर्माण गर्न नसक्दा ज्यामितीय हिसाबले फड्को मारेर विकास गर्न सकेन । प्रगति, परिवर्तन, क्रान्तिको लागि जनता उठेपनि नयाँले पुरानोलाई खाने, निल्ने, चपाउने र पचाएर विस्थापित गर्न नसक्दा लड्ने र लडिने नयाँ र पुराना दुबै शासकलाई पाल्नु पर्दा जनता वाक्क भएका छन् । १०४ वर्षसम्म राजा र राणा दुबैलाई पाल्नु पर्ने २००७ सालपछि पनि वि.पी. र मोहन सम्शेर अर्थात् राणा र कांगे्रस दुवैलाई पाल्नु पर्ने । ०६२÷०६३ सालपछि पनि कांग्रेस–एमाले–माके र ज्ञानेन्द्रलाई पनि पाल्नु पर्दा पुराना शासकका सम्पत्ति राष्ट्रले कब्जा गरेर देश विकाशमा ल्याउन नसक्दा वेलायतको औद्योगिक क्रान्ति, फ्रान्स को राज्य क्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम, रुसको अक्टोवर क्रान्ति र चिनियाँ नयाँ जनवादी क्रान्ति जस्तो, चाल्र्स प्रथम, लुई सोह्रौं र जारलाई फाँसी दिने र अमेरिकाले वेलायती साम्राज्यवादलाई र चीनले च्याङकाई शेक जस्तालाई लखेट्ने काम नेपालमा हुन सकेन । त्यसकारण वस्तुस्थितिलाई ख्याल गर्दै, सोभियत संघमा जारको ठाउँमा लेनिन चीनमा च्याङकाइशेकको ठाउँमा माओ उदाएझैं आगामी क्रान्तिमा निकै सावधानी अपनाउन जरुरी छ । दुई विश्व दृष्टिकोण दुई विचार दुई वर्गका बीच सहमती, सम्झौता, सौदावाजी, सहकार्य र स्वर्ग र नर्क लाई एकै ठाउँमा राख्ने होइन एउटालाई सकार्ने र अर्कोलाई नकार्ने खालको क्रान्तिबाट मात्र पुराना लुटेराको सम्पत्ति राष्ट्रले कब्जा गर्ने र नयाँ पूनर्जागरणको युग शुरु गर्ने काम गर्नु पर्छ । सबैले यसमा गहन रुपमा विचार विमर्श गरेर निचोडमा पुग्नु पर्दछ ।

माेहन वैद्य ‘किरण’

हामीले जनयुद्धको वार्षिकोत्सव मनाइरहँदा इतिहासबाट यही पाठ सिक्नु पर्दछ । झट्ट हेर्दा इतिहास दोहोरिए जस्तो देखिएपनि एगेल्सको भाषामा “इतिहास एकपल्ट साँच्चिकै दोहोरिन्छ र अर्को पटक हास्याँस्पद रुपमा दोहोरिन्छ, भने झैं नेपालको इतिहास दोहोरिएजस्तो देखिएपनि त्यो वार्तुलाकारको रुपमा भिन्न र उच्च रेखामा विकास भइरहेको हुन्छ । हामीले इतिहासको त्यो गतिलाई अध्ययन गरेर आगामी दिनमा गुणात्मक छलाङ लगाउने गरी शिक्षा लिनु पर्छ, जनयुद्ध दिवसको वार्षिकोत्सव मनाउनुको वास्तविक अर्थ पनि यहि हो ।