महामानव लेनिनको विहङ्गम व्यक्तित्व : संक्षिप्त चर्चा

प्रकाशित मिति : २०७४ चैत्र २०

- ‘पर्जन्य’

महान् दार्शनिक कार्लमाक्र्सले जीवनभर लगाएर अन्वेषण, खोज, अनुसन्धान, विश्लेषण र संश्लेषण गरी निर्मित गरिदिनु भएको वैज्ञानिक समाजवादको दर्शनलाई विश्वमा प्रथमपटक सफल रुपमा क्रियान्वयन गरिदिने महामानव भी.आइ. लेनिनका ग्रन्थहरु पढ्ने धेरै छन्, उहाँका सिद्धान्तहरुबारे बहस–विवाद, जिकिर–जिरह गर्ने धेरै छन्; उहाँका भव्य फोटोहरुबाट घर, कोठा, हल सजाउने धेरै छन्; उहाँको पार्थिव शरीर भएको म्युजियममा पुगी लाल सलाम गर्ने र श्रद्धाञ्जली अर्पण गर्ने पनि धेरै छन् । उहाँको जस्तै बोके दारी पाल्ने पनि धेरै छन् र उहाँको नाममा शासन गर्ने पनि धेरै छन् तर वास्तवमा महान् लेनिन को–के हुनुहुन्थ्यो; उहाँको शारीरिक, मानसिक, आत्मिक र सामाजिक व्यक्तित्वका सर्वाङ्गिण रुप कस्तो थियो भनी विहङ्गम रुपमा अनुभूत गर्ने व्यक्तिहरु मैले एकदम कम भेटेको छु । मलाई लाग्छ विश्वमा भी.आई. लेनिनलाई सबभन्दा बढी बुझ्ने मान्छे महान अनुभूतिवान् स्रष्टा म्याक्सिम गोर्की नै हुनुहुन्थ्यो, त्यसपछि मात्र लेनिनकी जीवनसाथी विदुषी नारी नाजेज्दा कु्रप्सकायाको नाम आउँछ । अरुहरुले उहाँलाई जसरी बुझे, त्यो एकाङ्गी रुपमा मात्र बुझेका छन्, सर्वाङ्गीण रुपमा बुझेका छैनन् । उहाँलाई बहुआयामिक रुपमा बुझी उहाँको समग्र व्यक्तित्वको पहिचान गरी र त्यो व्यक्तित्व निर्माणमा उहाँको जन्मजात गुण, पारिवारिक र सामाजिक परिवेश, स्वअध्ययन र जीवनका उतार चढावले के कति भूमिका पूरा गरेको थियो भन्ने कुरा बुझ्न आवश्यक हुन्छ ।

महान् लेनिनको सम्पूर्ण जीवनको अन्तप्रेरणा के हो ? कसरी उहाँ त्यति उच्चतम्, विशिष्टतम् र सर्वोच्च हुनुभयो, जोसँग तुलना लायक हिजो पनि व्यक्तित्व थिएन र आज पनि अहिलेसम्म जन्मिएको छैन, अनि भोलिको कुरा त भोलिकै हातमा छोडिदिऔं । “लेनिनजस्तो मान्छे इतिहासमा आजसम्म जन्मिएको थिएन र भोली पनि मुश्किलैले जन्मिने छन्” – विश्वसाहित्यकार गोर्कीले धेरै ठाउँमा धेरै पटक लेख्नु र बोल्नु भएको छ ।

क. लेनिनका विहङ्गम बहुआयामिक व्यक्तित्वबारे प्रकाश पार्ने हो भने त एक महाग्रन्थ ‘लेनिनायण’ नै तयार हुनेछ तर यहाँ उहाँका केही अत्यन्त अनुकरणीय, उल्लेखनीय, समसामयिक, समयसान्दर्भिक र युगीन आवश्यकताका पक्षहरुबारे मात्र चर्चा चलाउने कोशिस गरिनेछ, जो जानकारी पाउँदा हामी सबैको हृदयमा दिव्य प्रकाश प्रज्वलित हुनेछ, हाम्रो सोच, संस्कार र चेतनामा ठूलो रुपान्तरण आउनेछ, जागृति जागरण छाउने छ । महान् लेनिनका ती विशिष्ट गुणहरु बुदाँगत रुपमा यसरी प्रस्तुत गर्न सकिन्छ–

(१) महान् प्रेमको भावना– क. लेनिनको सर्वाधिक उल्लेखनीय पक्ष यही नै हो । लेनिन प्रेमको महासागर हुनुहुन्थ्यो भन्दा पनि प्रेमको ब्रमाण्ड नै हुनुहुन्थ्यो । यो हाल विश्वका असंख्य लेनिनवादी नेता कार्यकर्ताको कल्पनाले आँकलन गर्न नसक्ने कुरा भयो, अनुभूत गर्नै नसकिने विषय हो । समष्टिमानव लेनिनको ‘प्रेम’ अनुभूत गर्न अर्को समष्टिमानव नै चाहिन्छ । उहाँको प्रेम आमाप्रति, बुबाप्रति, दाजुभाइ, दिदीबहिनीप्रति, साथीभाईप्रति, रुसी स्रष्टाहरुप्रति अनि आफैप्रति पनि अद्भूत, अपूर्ण, अनुपम र अपार थियो, जसको मापन गर्ने कार्य नै असंभव छ । उहाँको प्रेमको घनत्व, तीव्रता वा गहनता वा अगाधताको अनुभूति उहाँसँग समीपमा बस्दा जो कोहीलाई पनि हुने गथ्र्यो । दलभित्रका विपक्षी साथीहरु समेत लेनिनको यो पक्षबाट बढी प्रभावित थिए र यही कारणले उहाँका अघि ती मातृवात्सल्यतापूर्ण आमाका अघि मतमतान्तर बोकेका छोराछोरी जस्तै हुन्थे । उहाँ ट्राटस्कीलाई अति प्रेम गर्नुहुन्थ्यो, आफ्नो कट्टर विरोधी मार्तोभ (जो पछि शहीद भए) लाई जीवनका हर नयाँ मोडमा हुरुक्क भै याद गर्नु हुन्थ्यो, प्लेखानोभलाई पटक पटक भावुक भै सम्झिनु हुन्थ्यो । वास्तवमा क. लेनिनको दर्शन र सिद्धान्त बुझेर भन्दा पनि उहाँको प्रेमप्रभावबाट पछि लाग्ने मान्छेहरुको संख्या व्यापक थियो । आफू जेलको काल कोठरीभित्र कठोर सजायको जीवन विताइरहेको र कुनै पनि बेला जारशाहीबाट कुनै पनि बहानामा मारिने संभावना भएको जोखिम अवस्थामा पनि क. लेनिनलाई पार्टी, साथीको प्रेमभावले हृदय भरिन्थ्यो । जेलमा हुँदा उहाँले “फलानो साथीलाई एकदम कठिन छ, एकजना सुकन्या खोजी तुरुन्त बिहे गरिदिनु, फलानो साथीको आमा विरामी छिन्, उनलाई पैसा खोजी उपचार तुरुन्तै गराइदिनुः फलानी महिला सुत्केरी छिन्, उनलाई न्यानोतातो पोषिलो मीठो खुवाउने पैसा सहयोग जुटाइदिनु” भनी लेख्नुभएका चिठ्ठीहरु हेर्दा लाग्छ– क. लेनिनको सिङ्गो जीवन क्रान्ति र समाजवाद स्थापनाको मूल अन्तप्रेरणा नै सिर्फ ‘प्रेम’ थियो । क. लेनिनको यस पक्षमा उहाँका जीवनका बाल्यकालदेखि अन्त्यसम्मका अनेकौं दृष्टान्त दिई चर्चा गर्ने हो भने मात्र पनि एउटै ठूलो ग्रन्थ तयार हुनेछ ।

क. लेनिनको दिमाग विश्व जत्रो थियो भने दील ब्रह्माण्ड जत्रो थियो । उहाँ स्वयम् पनि दिमागभन्दा दीललाई अर्थात् मस्तिष्कभन्दा बढी मुटुलाई बढी महत्व दिनुहुन्थ्यो । “संसारभरका किताब पढेर मात्र कोही कम्युनिस्ट हुन सक्दैन, कम्युनिस्ट हुन त कम्युनिस्ट हृदय चाहिन्छ, शोषित पीडित जनतासँग मिल्ने, एकाकार हुने र उनीहरुलाई सच्चा निष्कपट प्रेम गर्न सक्ने हृदय चाहिन्छ” भनी उहाँले व्यक्त गर्ने भावनाको साक्षात प्रतिमूर्ति उहाँ स्वयम् नै हुनुहुन्थ्यो । भनिन्छ– ज्ञानीहरु थाक्छन्, कर्मीहरु पनि थाक्छन् तर प्रेमीहरु कहिल्यै थाक्दैनन् । क. लेनिन त्यस्तै महान प्रेमी हुनुहुन्थ्यो ।

(२) समदृष्टि भाव, अहंकार विहीनता र सरलता – क. लेनिनमा उच्चतम रुपमा समदृष्टि भाव थियो । उहाँ आफूलाई जसरी हेर्नुहुन्थ्यो, त्यसरी नै अरुलाई पनि हेर्नुहुन्थ्यो । अरुको पीडा दुख, भोक, सुख र हर्ष पनि उहाँ अनुभूति गरी ऐक्यवद्धता जनाउन सक्नुहुन्थ्यो । यो मान्छेको मामलामा मात्र नभै पशुपन्छीको मामलामा पनि लागू हुन्थ्यो । उहाँ आफू वरिपरी जम्मा हुने कुकुर, बिरालो, घोडाको भोक थाहा पाई उनीहरुलाई तत्कालै केही खुवाउनु हुन्थ्यो । ओइलाएका फूल बृक्ष देखे पानी लगेर हालिदिनु हुन्थ्यो । यो विवेक उहाँको बालककालदेखि नै हो ।

क. लेनिनमा ‘अहम’ शून्य थियो । उहाँलाई रुसी जनताले देवदूतको, देवता, महान चमत्कार, तारणहार (लर्ड) र स्वप्न नायक मानिसकेका थिए तर उहाँलाई यी सम्मान ताजले तीलभर पनि ‘प्रभावित’ पारेको थिएन । उहाँ त्यही ‘उल्यानोभ’ जो बालककालमा जस्तो थियो, त्यस्तै सरल र सहृदयी हुनुहुन्थ्यो । उहाँलाई भेट्दा सबै मजदूरले महान् नेता भन्दा पनि एउटै परिवारको दाजुभाइ वा एक विश्वसनीय साथी भेटेको अनुभूति गर्थे ।

क. लेनिनलाई सबैजनाले ‘कमरेड’ भनी सम्बोधन गर्थे । उहाँको ड्राइभर गिल, भान्से (अहिलेका रुसी राष्ट्रपति भाल्दिभिर पुटिनका पिता) बगैंचामा काम गर्ने माली, स्वीपर, कुल्ली सबैले ‘कमरेड’ भनी बडो भावुक र प्रेममय अनुहार बनाई सम्बोधन गर्थे । यो प्रचलन गराई “कमरेड” शब्दलाई विश्वप्रसिद्ध प्रिय शब्द बनाउने काम समदृष्टिवान महान् आत्मा लेनिनले नै गर्नुभएको हो । नेपालमा पनि पुराना राजनैतिक प्रतिबन्धित दलमा यो शब्द प्रयोग गरियो । प्रजा परिषद्का नेता कार्यकर्ताहरु एक आपसलाई ‘कमरेड’ शब्दबाट नै सम्बोधन गर्थे ।

क. लेनिनले आफ्नो जीवनकालमा आफ्नो जीवनी एउटा पनि छाप्न वा प्रकाशन गर्न कसैलाई पनि दिनु भएन । उहाँको जीवनी भएको पर्चा प्रथम पटक उहाँको निधन भएको दिन कम्युनिस्ट पार्टीले लेखी प्रकाशन गरी शवयात्रामा छरेको थियो । जब मानिसले क. लेनिनको जयजयकार गर्थे, जिन्दावाद गर्थे उहाँ हाँस्नु हुन्थ्यो र नजिकै बसेकी पत्नी नाजेज्दा वा आफ्नी जेठी दिदीलाई कानेखुशी गरी भन्नुहुन्थ्यो– “यी मान्छेहरुले औधी गरे मलाई, जारसाहेबलाई भन्दा पनि बढी गरे, यस्तो हो भने त भाग्नुपर्छ यहाँबाट ।” उहाँको यो भनाईमा ठट्टा मस्करी र व्याङ्ग हुन्थ्यो, अनि आफू केही होइन “यी जनता त्यतिकै कराउँछन्” भन्ने सरल निष्कपट भावना हुन्थ्यो । उहाँको यो कुरा सुनी नाजेज्दा र जेठी दिदिहरु पनि हाँस्थे, अनि लेनिन झन् हाँस्नु हुन्थ्यो । समग्रतामा आफू ठूलो मान्छे भएको क. लेनिनलाई कहिल्यै लागेन र त्यो ‘ठूलो मान्छे’को ‘गाम्भीर्यता’, ‘बडप्पन’, ‘धक’ वा ‘अहम भाव’ उहाँमा जीवनपर्यन्त भेटिएन ।

कसैले उहाँको प्रशंसा गरे कि त जोडले हाँसी त्यसलाई उडाउनु हुन्थ्यो, कि त अर्कोतिर दृष्टि लगाउनु हुन्थ्यो, कि त त्यो ठाउँ छोडी हिड्नु हुन्थ्यो । वास्तवमा उहाँ आफ्नो प्रशंसा सुन्न चाहनु हुन्नथ्यो । पूर्वीय दर्शनका नीतिले भन्छन्– आफ्नो आलोचना जति पनि सुन्नु तर प्रशंसा कहिल्यै नसुन्नु, त्यसले मति बिगार्छ । क. लेनिनमा पनि यो नीति थियो ।

क. लेनिनको जन्मको ५० औं वर्षीय कार्यक्रम पिटर्सवर्गमा हुँदा उहाँको निवासमा विहानदेखि ३÷४ चोटी उहाँलाई निमन्त्रणा गरी फोन आयो, लेनिन त्यस्तो कार्यक्रममा जानु हुँदैन भन्ने जानेर कार्यक्रम आयोजकले “तपाईको अति मिल्ने साथी गोर्की पनि आउँनुहुनेछ” भनी खबर गरे । पत्नी नाजेज्दा र जेठी दिदिले पनि त्यहाँ जानु भनी लेनिनलाई उर्दी लगाए तर लेनिन टसका मस हुनु भएन । जेठी दिदिले त गाली गर्न थालिन्– “बोलोद्या, तँ साह्रै घमण्डी भइस, तेस्तो श्रद्धा गरी बोलाएको ठाउँमा किन नजानी ?” लेनिनले त्यतिखेर भन्नुभयो– “तिमीलाई थाहा छैन दिदि, त्यहाँ साथीहरुले मेरो नाममा अनेक स्तुति गाउँछन्, जय गान गर्छन्, भजन गाउँछन् अनि मलाई सासै फेर्न मुश्किल हुन्छ । झन् त मेरो प्रिय साथी गोर्कीले त चौपट्ट गर्छ– गोर्की आएको भए त झन् जानुनै हुँदैन, कस्ता छन् ती भने नी….।” यति भनी लेनिन खित्का छोडीछोडी हाँस्नुभयो । क. लेनिन त्यो कार्यक्रममा पछि जानु त भयो तर भाषण प्रवचन सकिएर संगीत साँस्कृतिक कार्यक्रम शुरु हुनु ठीक अघि अकस्मात रुपमा जादूगर झैं मन्चमा प्रकट भै ‘धन्यवाद’ का दुई शब्द बोल्नुभयो र ‘आफ्नो प्राण रक्षा’ गर्न अघिल्लो कार्यक्रममा सहभागी नभएको भनी व्यङ्गात्मक कथन गरी सारा दर्शक र साथीहरुको बीचमा हाँसोको फोहोरा चलाइ अनि साँस्कृतिक कार्यक्रम पूरा हेरी फर्किनु भयो । यस्ता अनगिन्ती घटना छन्, जसबाट क. लेनिनको सरलता, अहमविहीनता, समदर्शिता भाव प्रष्ट हुन्छ ।

(३) स्वप्नद्रष्टा, सुक्ष्म अनुभूतिवान् र प्रगाढ अवलोकनकर्ता– क. लेनिन हिड्दा हिड्दै सपना देख्नु हुन्थ्यो– आफ्नो नेतृत्वमा समाजवादी क्रान्ति भएको, त्यो पनि एकदम कम रक्तपातमा र समाजवादी निर्माण भई रुस चिरिच्याट्ट भएको, दिव्य, भव्य र अनुपम भएको । यो सपना दुरुस्तै त्यस्तो सपना हो जुन सपना मान्छे सुतेको बेला देख्छ । यो मनोविज्ञानको एक तह हो । यस्तो सपनालाई पश्चिमी मनोविज्ञानले ‘भिजन’ भन्छ भने पूर्वीय शास्त्रले चाहि ‘दर्शन’ अर्थात् देखिनु भन्छन् । यो क्षमतामा पुगेको मान्छे आफ्नो काममा कहिल्यै पनि असफल हुन्न ।

१९१७ को ‘अप्रिल थेसिस’ प्रस्तुति पछि क. लेनिनले जब समाजवादी क्रान्तिको सपना देख्न थाल्नु भयो, तब एकदिन आफ्नो कोठामा बसी आफ्ना महान् गुरुहरु माक्र्स र एङ्गेल्सकाबारे सम्झना गरी मनोवाद गर्दै भन्नुभयो– “हे मेरा अग्रजहरु ! तपाईहरु महान् प्रतिभा, विद्वान र क्षमतावान हुनुहन्थ्यो । तपाईहरु जस्तो महान् प्रतिभाको दर्शन, विचार, सपनालाई व्यवहारिक रुपमा प्रयोग गर्न हामी खोजीरहेका छौं– तर म केही होइन–कसरी यो काम फत्ते गर्ने ? मलाई एकदम चिन्ता छ । घोषणा त गरँे तर काम कठिन छ”

अकस्मात् त्यति नै खेर माक्र्स र एङ्गेल्स कोठामा प्रकट हुुनुभयो अनि लेनिन बस्नु भएको खाटको दायाँबायाँ उहाँहरु बस्नु भयो र भन्नुभयो– “तपाई चिन्ता नगर्नुस्, आफ्ना अजेय शक्ति सर्वहारा मजदूरमाथि पूर्ण विश्वास गरी क्रान्ति गर्नुस्, पूर्ण सफल हुनुहुनेछ, हामीलाई पूरा विश्वास छ” त्यसपछि माक्र्स एङ्गेल्स दुबै अदृश्य हुनु भयो । यो क. लेनिनले देख्नु भएको सपनाहरुको उत्कर्ष थियो । स्वप्नद्रष्टा मान्छेले यस्तो सपना देखि रहन्छ । यो मनोवैज्ञानिक खेल हो, अवचेतनको मनको लिला हो । क्रान्तिको ज्वार अझै बाँकी छ । त्यो पढेपछि लेनिनलाई पक्का भो आफ्नो अनुमूति सही भएकोमा । त्यसपछि नै उहाँ क्रान्तिको वकालत खुलेर गर्न थाल्नु भयो । यो सुक्ष्मानुभूतिकै कुरो हो ।

क. लेनिन कुनै पनि मान्छे भेटेपछि त्यो मान्छे कस्तो परिवेशमा हुर्किएर आएको, अहिले कुन मानसिकतामा छ र पछि के हुने सम्भावना बोकेको छ भनी स्पष्ट भनिदिन सक्नु हुन्थ्यो । २०÷२५ वर्षपछि सम्मको कुरा उहाँले भनेको मिल्थ्यो । उहाँले प्लेखानोभलाई प्रथम पटक विदेशमा भेटेपछि पनि उहाँको भविष्यको सम्भावना त्यतिखेर मिल्ने साथीलाई बताउनु भएको थियो, जुन पछि हुबहु मिल्यो । यो पनि सुक्ष्मानुभूतिकै कुरो हो ।

क. लेनिन अवलोकनमा प्रगाढ हुनुहुन्थ्यो । क. माक्र्सले “रुसमा समाजवादी क्रान्ति हुन धेरै वर्षपछि मात्र संभव छ” भन्नु भएको थियो । अरुले पनि त्यही रट लगाइरहेका थिए तर जब लेनिनले रुसी आर्थिक क्षेत्रको प्रगाढ अवलोकन र अध्ययन गर्नुभयो; स्थिति अझै देखियो रुस समाजवादी क्रान्तिका लागि तयार भैसकेको उहाँले पाउनु भयो । उहाँले कृषि क्षेत्रमा समेत सामन्ती उत्पादन सम्बन्धको सट्टा पुँजीवादी उत्पादन सम्बन्ध प्रवेश गर्दै गरेको प्रत्यक्ष देख्नु भयो । उहाँले बोलीको ढाँचा, प्रकृत्ति, श्रमको तरिका र यन्त्रको प्रवेशले कसरी कृषि क्षेत्रमा पुँजीवाद प्रवेश ग¥यो भनी एक विस्तृत विश्लेषणात्मक अन्वेषण गरी लेख तयार गरी प्रकाशित गर्नुभयो, जसबाट रुसमा समाजवादी क्रान्तिका लागि एक ऐतिहासिक आधार तयार पा¥यो । यस्ता अनगिन्ती दृष्टान्त छन्– क. लेनिनका अवलोकन, परीक्षण र अन्वेषण क्षमतालाई पुष्टि गर्न ।

यसबाहेक क. लेनिनको अगाघ अध्ययनशीलता, चिन्तनशीलता, शारीरिक दक्षता र स्वास्थ्यका लागि गरिने व्यायाम, अभ्यास, मनोरञ्जन, संगीत श्रवण, घुमफिर आदिका प्रसङ्गहरु त हुँदै छन् । रक्सी, चुरोट, खैनी आदिबाट बाह्र कोश टाढा सँधै रहने, क. लेनिनमा एक महानायकमा हुनुपर्ने असंख्य गुणहरु थिए, जुन कुरा उहाँका विपरीत धु्रवका कट्टर विरोधीहरुले समेत बेलाबखत बोलेर लेखेर प्रकाश पारेका थिए । पवित्रता, प्रेम, प्रकाण्डता, पूर्णता, कटिबद्धता, द्वन्द्वात्मक चेत, अध्ययन, प्रसन्नता, सरलता, अन्तर्राष्ट्रिय भाव र उच्चतम मानवीय संवेदनाका अजस्र भण्डार विश्वमानव लेनिन वास्तवमा “न भूतो न भविष्यति अर्थात् ‘भूत भविष्य’ दुवैतिर हेर्दा नदेखिने, नपाइने त्यस्तो व्यक्तित्व हुनुहुन्थ्यो, जसका बारे कल्पना गर्दा पनि सबै पक्ष भेउ पाउन र आँकलन गर्न कठिन छ । उहाँबाट हालका माक्र्सवादी नेताहरुले सिक्नुपर्ने पनि धेरै कुरा छन् । अस्तु ।।