पेरिस कम्युन विश्वसर्वहारावर्गको महान् आदर्श

प्रकाशित मिति : २०७४ चैत्र २०

- हस्तबहादुर केसी

“पेरिस कम्युन मानिसलाई वर्ग शासनबाट सदाको लागि मुक्त गर्ने महान् सामाजिक क्रान्तिको प्रभात थियो ।” – कार्ल माक्र्स

पेरिस कम्युन सन् १८७१ मार्च १८ तारिखका दिन खडा गरियो र प्रतिक्रियावादीहरुद्वारा प्रतिक्रान्तिको मारमा परेर सन् १८७१ मई २८ तारिखमा ढल्यो । तर निर्माण गरिएको ७२ दिनमै शत्रुद्वारा ढालिएको भए पनि पेरिस कम्युन विश्वसर्वहारा वर्गको महान् आदर्श थियो, यो विश्व सर्वहारावर्गको प्यारो आदर्श थियो । किन कि विश्व मानव समाजले आदिम साम्यवाद पार गरि अगाडि बढ्ने क्रममा पहिलो वर्गीय समाज दास युगिन समाजमा प्रवेश गरे यता विश्व सर्वहारावर्गले पहिलो पटक आफ्नो प्यारो सर्वहारा वर्गीय राज्यसत्ता स्थापना गरिएको थियो । पेरिस कम्युन विश्व सर्वहारावर्गले पहिलो पटक सर्वहारा वर्गको अधिनायकत्व प्राप्त गरेको दिन थियो, त्यसैले सन् १८७१ को मार्च १८ को दिनलाई विश्व मानव समाजको विकासक्रमको इतिहासमा एक ऐतिहासिक र अविस्मरणीय दिन हो । एक गौरवशाली दिन हो ।

पेरिस कम्युन बर्बरतायुक्त दास युग र पुँजीवादी युगको पहिलो पटक नशछेदन गरिएको एक ऐतिहासिक एवं अविस्मरणीय दिन मात्र नभएर सर्वहारा वर्गलाई पहिलो पटक सत्तासित तुल्याएको परिघटनाको विराशत हो । त्यसैले ७२ दिनकै शैवकालमै यसको जग भत्काई दिएको भए पनि यसको इतिहास ज्यादै चम्किलो छ । बिहान ८÷९ बजेको सूर्यको किरण झै यो इतिहासमा चम्किरहेको छ, चम्किरहने छ ।

पेरिस कम्युनले विश्वसर्वहारा वर्गलाई संसारमा पहिलो सर्वहारावर्गको शासनको स्थापना ढोका खुलिदिने र जग बसाली दिन महान् कार्य पेरिस कम्युनले गरिदिएको थियो । हालको फ्रान्सको राजधानी रहेको पेरिसका सर्वहारा मजदुरहरुले सन् १८७१ मार्च १८ का दिन सामन्तवादी तथा पुँजीवादी लुटेराहरुबाट पहिलो पटक सत्ता छिनेर आफ्नो हातमा ल्याएर सर्वहारा वर्गको राज्यसत्ता खडा गरेको, सर्वहारावर्गले पहिलो पटक अधिनायकत्व प्राप्त गरेको त्यस ऐतिहासिक परिघटनालाई पेरिस कम्युन भनिन्छ । यो नै वैज्ञानिक समाजवाद स्थापनाको पहिलो घटना भएकाले यसको विशेष महत्व रहन गएको छ र यसको महत्व अनन्तकालसम्म रहीरहने छ ।

राष्ट्रिय सम्मानको रक्षा र शोषणबाट मुक्तिका लागि सन् १८७१ मार्च १८ मा पेरिसवासीहरुले संसारको पहिलो सर्वहारा राज्यसत्ताको स्थापना गरि दिएकाले आज पेरिस कम्युन विश्वसर्वहारा वर्गको महान् तथा प्यारो आदर्श बनेर चम्किरहेको छ ।

पेरिस कम्युनलाई शैशवावस्थामा नै पुँजीवादी र सामन्तवादीहरुले नष्ट गरि दिएका भएता पनि त्यो मानव हृदयविदारक प्रतिक्रान्तिको घटनामा २७ हजार पेरिसवासीहरुले ज्यान गुमाउनु र ३० औं हजार पेरिसवासीहरु घाइते र अपाङ्ग बन्न परेको भए तापनि पेरिस कम्युन सर्वहारावर्गका वीर वीरंगानाहरुको वीरताको ऐतिहासिक गाथा बन्न पुगेकाले पेरिस कम्युन विश्वसर्वहारावर्गको एक महान् आदर्श बन्न पुगेको छ ।

सन् १८५० पछि युरोपमा औद्योगिक क्रान्तिले गर्दा सर्वरा मजदुरवर्ग पनि शक्तिका रुपमा उदय भए र बेलायत, जर्मनी, फ्रान्समा ठूला ठूला मजदूर आन्दोलन भए । यसै क्रममा माक्र्स र एंगेल्सले सन् १८६४ मा अन्तर्राष्ट्रिय मजदुर संघ स्थापना गरेका थिए । यसलाई प्रथम इन्टरनेशनल भनिन्छ । यसको पहिलो महाधिवेशन सन् १८६६ मा जेनेभामा भएको थियो । जर्मनी र फ्रान्सबीचको युद्धमा फ्रान्स पराजित भई सन्धि गर्न बाध्य भए पछि फ्रान्सका जनतालाई राष्ट्रियताको संवद्र्धन गर्ने पनि जिम्मेवारी आएको थियो । युद्ध समाप्त भएपछि सन् १८७१ को फेब्रुअरीमा निर्वाचन गरियो । युद्धको समयमा मजदुरहरुको हातमा आएको हतियार खोस्ने प्रयास भएपछि मजदुरहरुले यो हतियार बुझाउनुको सट्टा विद्रोह गरेर सत्ता कब्जा गरेका थिए जो परिस कम्युनको रुपमा स्थापित छ ।

पेरिस कम्युन कसरी निर्माण भयो भने देश बेचुवा सरकारको राष्ट्रघाती क्रियाकलापले पेरिसका क्रान्तिकारी जनतालाई क्रोधित पा¥यो । तबसम्म सुरक्षात्मक नीति लिएर बसेका सशस्त्र मजदुरहरुले कुन कुरा बुझे भने उनीहरुले देशको र आफ्नो भाग्यलाई आफ्नै हातमा लिनु पर्छ । आफ्ना हतियारहरु सुम्पनुको सट्टा राष्ट्रिय गार्डले पेरिसका क्रान्तिकारी जनतासित मिलेर पुँजीवादी सरकारको विरुद्ध धावा बोले । राष्ट्रिय गार्डको विरुद्ध लड्न पठाइएका सरकारी सैनिकहरुले पनि देशप्रेमी नागरिकहरुको विरुद्ध आफ्नो बन्दुक फर्काउनुको सट्टामा जनताका शत्रु ठूला ठूला पुँजीपति र जमीन्दारहरु र तिनका सरकार विरुद्ध फर्काए । राष्ट्रिय गार्ड पेरिस शहरको केन्द्र तर्फ विजयका साथ अघि बढेर होटेल द भिले कब्जा गरे । पुँजीवादी सरकारका सदस्यहरु र तिनका सहयोगीहरु आफ्नो पुच्छर लुकाई भर्साइलतिर सुँइकुच्चा ठोके । पेरिस क्रान्तिकारी जनताको पूर्ण नियन्त्रणमा आयो र राष्ट्रिय गार्डको केन्द्रीय कमिटीको अस्थायी सरकार बन्यो ।
होटेल द भिलेमा पेरिस कम्युनको रातो झण्डा, सर्वहारावर्गको राज्य–सत्ताको झण्डा फहराइयो । यसरी कार्ल माक्र्सकै शब्दमा “मानिसलाई वर्ग शासनबाट सदाको लागि मुक्त गर्ने महान् सामाजिक क्रान्तिको प्रभात” को उदय भयो ।

मानव समाजको ऐतिहासिक विकासका क्रममा यसरी पेरिसका वीर मजदुरहरुले प्रतिक्रियावादीहरुको “स्वर्गमा धावा बोल्ने” वीरताका साथ विश्वमजदुर आन्दोलनको इतिहासमा एउटा सुनौला पाना शुरु गरेका थिए । यो क्रान्ति विश्वमा तबसम्म भएका क्रान्तिहरुबाट मूलरुपमा फरक थियो । पहिले पहिलेका क्रान्तिहरुमा शोषक वर्गहरुको एउटा डफ्फाबाट अर्को डफ्फामा सत्ताको हस्तान्तरणमात्र हुन्थ्यो र जनदमनको साधन रहेको पुँजीवादी राज्य–यन्त्र झनझन बढी दमनात्मक र परिपूर्ण हुन्थ्यो । श्रमजीवी जनता माथि झन बढि शोषण र थिचोमिचो हुन्थ्यो । तर यस क्रान्तिमा नौलो समाजका निर्माता मजदुर वर्गको हातमा सत्ता आयो र त्यसको उद्देश्य नोकरशाही पुँजीवादी राज्य–यन्त्रलाई ध्वस्त पार्नु थियो । यस क्रान्तिले स्पष्टसँग के देखाइदियो भने वर्तमान समाजमा इतिहासलाई अघि बढाउनमा नेतृत्व गर्न सक्ने एकमात्र मजदुर वर्ग हो र यो वर्ग नै सबभन्दा क्रान्तिकारी, सबभन्दा दृढ र सबभन्दा बलिदानी वर्ग हो इतिहाससिद्ध कुरा हो, पेरिस कम्युन सर्वहारावर्गको अधिनायकतन्त्रको पहिलो राज्य थियो । एउटा यस्तो राज्य थियो, जसको उद्देश्य मुठ्ठीभर पुँजीपति र जमिन्दारहरुको स्वार्थरक्षामा होइन बर तिनीहरुका विरुद्ध विशाल बहुसंख्यामा रहेका मजदुर वर्ग र अरु श्रमजीवी जनताको स्वार्थरक्षामा साधन बन्न पुग्यो । पेरिस कम्युनको बारेमा माक्र्स भन्नु हुन्छ,– “प्रमुख रुपमा पेरिस कम्युन एउटा मजदुर वर्गीय सरकार थियो । चुसाहवर्गको विरुद्ध उत्पादकवर्गको संघर्षको उपज थियो । श्रमको आर्थिक मुक्तिको लागि आखिरमा पत्ता लगाइएको राजनीतिक रुप थियो ।” माक्र्स र एंगेल्स चुनिएका रचनाहरु भाग १, पृष्ठ ४७३ । अतः सर्वहारावर्गको राज्यको राजनीतिक रुप, पेरिस कम्युनको मूल लक्ष्य श्रमजीवी जनतालाई आर्थिक, सामाजिक र मानसिक रुपले मुक्त गर्नु थियो ।

शत्रुका बिरुद्ध लड्न सक्ने सबै पेरिसका नागरिकहरुले बनेको राष्ट्रिय गार्ड पुँजीपतिवर्गमाथि सर्वहारा वर्गको अधिनायकत्वको एउटा शसक्त ज्वाला थियो । कम्युनको यस विशेषतालाई लेनिनले “कम्युनको सारतत्व” भनेर संशलेषण गर्नु भएको छ ।
इतिहासबाट हामीलाई यो शिक्षा प्राप्त भएको छ कि, पेरिस कम्युन सर्वहारा अन्तर्राष्ट्रियतावादको एउटा चम्किलो प्रतिमूर्ति थियो । पेरिस विद्रोहमा र पेरिस कम्युनको स्थापना र सुरक्षामा धेरै देशहरुका मजदुर योद्धाहरुले संक्रिय हिस्सा लिएका थिए र कम्युनका योद्धाहरुले ती विदेशी सुपुत्रहरुको हार्दिक रुपमा स्वागत सम्मान गरेका थिए । किनभने कम्युनको निर्वाचन आयोगको घोषणापत्रमा भनिएको छ, “कम्युनको झण्डा विश्वगणतन्त्रको झण्डा हो ।” यसरी पेरिस कम्युनले पुँजीपति र सामन्तवर्गहरुको संकीर्ण राष्ट्रवाद तथा अन्धराष्ट्रवादको पुरै धज्जी उडाएर विपरित सर्वहारा अन्तर्राष्ट्रवादको उज्ज्वल ध्वजालाई उच्चो उठाएको थियो ।

विडम्बना पेरिस कम्युन ७२ दिनसम्म मात्र टिक्न सक्यो तर यस ज्यादै छोटो अवधिमा पनि यसले श्रमजीवी जनताको मुक्ति र फ्रान्सको पुनरुद्धारको लागि निकै महत्वपूर्ण पाइलाहरु चाल्यो । बलपूर्वक आफूबाट कब्जा गरिएको राजनीतिक सत्तालाई कम्युनले पुँजीवादी शोषण, भ्रष्टाचार र राष्ट्रिय अपमानलाई मिटाउने र देशको पुननिर्माण गर्ने संघर्षमा प्रयोग ग¥यो । सत्ता कब्जा गरिसकेपछि कम्युनले पुरानो राज्य–यन्त्रलाई ध्वस्त पार्नमा र पुँजीपति र जमिन्दारहरुको आर्थिक र बौद्धिक बन्धनहरु तोड्नमा पाइलाहरु चाल्यो । जन कदमहरु चाल्यो ती विश्व सर्वहारावर्गको अधिनायकतन्त्रको लागि महान् र अमर देनहरु रहेका छन् ।
कम्युनले कानून पारित गरेर सबैभन्दा पहिले स्थायी सेना र भर्ती प्रथालाई खारेज ग¥यो । बहुसंख्यामाथि, अल्पसंख्याको, श्रमजीवि जनतामाथि मुठ्ठिभर पुँजीपति र सामन्तहरुको वर्गशासनको सशस्त्र संगठित शक्ति, स्थायी सेनालाई खतम पारियो र त्यसको ठाउँ सबै नागरिकहरुबाट बनेको राष्ट्रिय गार्ड, राष्ट्रिय जन मिलिसियाले लियो । यसरी शोषक र शासकहरुको हातमा हिंसात्मक दमनको हतियारलाई खतम पारी पुँजीपति र सामन्तवर्गहरुमाथि अधिनायकतन्त्रको हतियारका रुपमा राष्ट्रिय जनपल्टनलाई स्थापित गरिएको थियो ।
त्यहाँ कम्युनको निर्वाचन गरियो र राष्ट्रिय गार्डको केन्द्रीय कमिटीले कम्युनको हातमा सत्ता सुम्पि दियो । बालिक मताधिकारको आधारमा जनताद्वारा र जनताबाट चुनिएका सरकार बन्यो । यो सही अर्थमा प्रजातन्त्र सर्वहारावर्गीय प्रजातन्त्र थियो । पेरिस कम्युन यथार्थमा सच्चा प्रजातान्त्रिक राजनैतिक सत्ता थियो ।

त्यस्तै आर्थिक क्षेत्रमा कम्युनले पुँजीवादी शोषकहरुलाई शोषण गर्ने अवस्थाबाट बञ्चित पार्ने क्रान्तिकारी पाइला चाल्यो । कम्युनले सबै मिल र कारखानाहरुको तथ्याङ्क लिन र तिनीहरुको सञ्चालन गर्ने योजना बनाउन एउटा आयोगको गठन ग¥यो र ती सबै मिल र कारखानाहरु सञ्चालन गर्ने जिम्मा सम्बन्धित मजदुरहरुको सहकारी संस्थालाई सुम्पने र सहकारी संस्थालाई मिलाई एउटा ठूलो संघ बनाउने तर्जुमा गरियो ।

कम्युनले मजदुर किसानहरुको सुविधा हुने र हक, अधिकारहरु सुरक्षित हुने कानूनको तर्जुमा गरेको थियो । बालबालिकाहरुको सुरक्षाको ग्यारेन्टी गरेको थियो ।
आफ्नो अस्तित्वको निकै छोटो अवधिमा कम्युनले उठाएका यी र यस्तै अरु पाइलाहरुले कम्युनको सच्चा वर्ग–चरित्रलाई स्पष्टसित देखाएका थिए । ती पाइलाहरुबाट स्पष्ट देखिने कुरा के थिए भने कम्युन केही ठूला पुँजीपति र सामन्तहरु र तिनका पिछलाग्नेहरुलाई छाडी मजदुरवर्ग, किसानवर्ग र निम्न पुँजीपतिहरुको प्रतिनिधि सरकार थियो ।

सत्ता प्राप्ति पछि कम्युनले पुरानो समाज व्यवस्थालाई ध्वस्त पारी नौलो समाजको स्थापना गर्ने र श्रमजीवी जनताको आर्थिक, राजनीतिक तथा मानसिक मुक्ति गर्ने तर्फ महान् अभियानको शुरुवात गरेको थियो । यस शुरुवात मात्रले पनि पेरिसमा चमत्कारिक हेरफेर ल्याई दिएको थियो । यस विषयमा माक्र्सले लेख्नु भएको छ,– “वास्तवमा कम्युनले पेरिसमा अद्भूत हेरफेर ल्याइदियो । अब दोस्रो साम्राज्यको समयको भ्रष्ट आडम्बरी पेरिसको नामनिशान बाँकी रहेन । अब पेरिस अंग्रेजी जमिन्दारहरु, आयरलैंडका अनुपस्थित जमिन्दारहरु, अमेरिकाका भूतपूर्व दास–मालिकहरु र अरु फोहरी व्यक्तिहरु, रस्सियाली भूतपूर्व भूदास–मालिकहरु र वालाशियाली अभिजातवर्गका मानिसहरुको पेरिस रहेन । मुर्दाखानामा लासहरु थिएनन्, रातमा चोरी बन्द भयो, कुनै ठगीको कुरा सुनिएन । वास्तवमा १८४८ को फरवरी महिनापछि पहिलोपल्ट पेरिसको सडक निर्भय भयो –– त्यो पनि कुनै प्रकारको पुलिस नराखिकन । कम्युनको एउटा सदस्यले भनेका छन्ः “हत्या, चोरी र व्यक्तिमाथि हमलाको घटना अब सुनिँदैन । साँच्चिकै यस्तो लाग्छ, मानो पुलिसले आफ्नो साथमा पुस्तैनी साथीहरुलाई पनि भर्साइलमा नै बोकेर लगेको छ ।” माक्र्स र एंगेल्स चनिएका रचनाहरु, भाग १, पृष्ठ ४६९÷४८० ।
अतः सर्वहारावर्गले पेरिसमा सन् १८७१ मार्च १८ देखि सन् १८७१ मई २८ सम्म इतिहासमा सर्वप्रथम राज्य सत्तामाथि कब्जा ग¥यो र सर्वहारावर्ग सधैं शोषित र शासित हुने वर्ग मात्र होइन, त्यसले शासन पनि गर्न सक्छ र झन राम्रो प्रकारको शासन गर्न सक्छ भन्ने कुरा सिद्ध ग¥यो ।

७२ दिनसम्म कायम रहेको त्यो प्रथम सर्वहारावर्गको सत्तालाई पेरिस कम्युन भनिन्छ । माक्र्सवादीहरुको भन्दा ब्लाँकीवादीहरुको आधिक्पता रहेकोले पेरिस कम्युनले न त सोचे जति ठोस कार्यक्रम बनाएको थियो न त ठोस योजना नै । सत्तामाथि कब्जा गरेर सर्वहारावर्गले चुनाव गरायो । चुनावबाट ७२ जनाको परिषद गठन भएको थियो । १८ जना पार्षद मात्र माक्र्सवादी थिए । पेरिसमा मात्र गठन हुन सकेको पेरिस कम्युनले देशव्यापी रुपमा चुनाव गराउँने साँच राखेको थियो । तर बनिबनाउ पुँजीवादी राज्यपत्रलाई ध्वस्त पार्ने कुनै योजना बनाएन अर्कोतिर जनतामाथि लुट, शोषण र थिचोमिचो गरी मोटाएका पूँजीवादी र सामन्ती परजीविहरुको निमित्त मजदूरवर्गबाट थालिएको महान् सामाजिक क्रान्ति कसरी सह्य हुन सक्थ्यो ? होटेल द भिलेमा नौलो समाजको प्रतीक बनेर शानदाररुपमा फरफराइरहेको पेरिस कम्युनको रातो झण्डा भ्रष्ट, गन्दा र मरणोन्मुख पुरानो संसारको लागि आँखामा बिझेको काँडा थियो । उक्त रातो झण्डालाई देखेर पुरानो व्यवस्थाका पक्षधरहरु रिसले मुरमुरिए र डाहले छटपटाए । मजदूरहरुको पेरिसलाई ध्वस्त पार्न ती तत्वहरु स्वभावतः विभिन्न षडयन्त्रमा पूरा शक्तिका साथ जुटे ।

थियेर्सले पेरिस कम्युनको विरुद्ध आफ्नो प्रतिक्रान्तिकारी हमला अप्रिलको शुरुमा थाल्यो । पेरिसमाथि लगातार बमबर्षा गरियो । उत्तर र पूर्वी किल्लाहरुमा कब्जा गरिबसेका प्रशियाली सेनाले पेरिसका जनताको हत्याको लागि भर्साइलका सैनिकहरुलाई पेरिस पस्न बाटो छाडिदिए । मई २१ तारिखमा थियर्सका भरौटे सैनिकहरु पेरिसभित्र पसे र मई २१ तारिखदेखि २८ तारिखसम्म थियेर्सको सेना र वीर कम्युन–योद्धाहरुको माझमा संग्राम चल्यो । पेरिस कम्युनका योद्धाहरु बडो वीरताका साथ आफ्नो रगतको अन्तिम थोपासम्म पेरिस कम्युनको सुरक्षा गर्न लडे । मई २८ तारिखका दिन पेरे ला चायसे च्याहानका पर्खालहरुको सामु कम्युनका अन्तिम योद्धाहरु लड्दै मरे । कम्युनका बहादुर योद्धाहरुले, पेरिसका सुपुत्र–सुपुत्रीहरुले शत्रुको सामु कहिल्यै शिर झुकाएनन्, तर “पेरिस कम्युन अमर रहोस् ।” को नारा गुन्जाउँदै र बन्दुक हातमा लिई लड्दै वीरगति प्राप्त गरे । पेरिस कम्युनको हारपछि पुरानो समाजका रक्तपिपासु पूँजीवादी पिशाचहरुले निशस्त्र र निस्सहाय नरनारी र बालबालिकाहरुको आमहत्या गरी पेरिसमा रगतको खोलो बगाए । अन्तिम आम जन–हत्या भएको “कम्युनार्डहरुको परखाल” पूँजीवादी न्याय र सभ्यताको बर्बरता र पशुत्वको एउटा स्पष्ट प्रमाण बनेको छ ।

पेरिस कम्युनको हार भयो, तर हातमा बन्दुक लिई राजनैतिक सत्ता कब्जा गर्नमा, पूँजीवादी राज्य–यन्त्रलाई ध्वस्त पारी सर्वहारावर्गको अधिनायकतन्त्र कायम गर्नमा र पेरिस कम्युनको सुरक्षा गर्नमा पेरिसका बहादुर मजदूरहरुले जुन “स्वर्गमा धावा बोल्ने” वीरता र आत्मबलिदानी भावना देखाए, त्यो नौलो विश्वका निर्माता विश्व सर्वहारावर्गको लागि प्रेरणाको र उत्साहको कहिल्यै नसुक्ने स्रोत बनेको छ र सर्वहारा मुक्ति संघर्षमा एउटा मार्गदर्शक ज्योति बनी चम्केको छ ।

पेरि कम्युनको असफलताले विश्व सर्वहारावर्गको लागि अमूल्य ऐतिहासिक शिक्षा र अनुभवहरु प्रदान ग¥यो ।
विभिन्न वस्तुगत र मनोगत अवस्थाहरुले गर्दा पेरिस कम्यून असफल भयो । पेरिस कम्यूनको समयमा सर्वहारा क्रान्तिको लागि आवश्यक अवस्थाहरुको विकास भइसकेको थिएन । मजदूरवर्गको आन्दोलनमा माक्र्सवादी सिद्धान्तले व्यापक र दरो प्रभाव पारिसकेको थिएन । खास गरी उक्त आन्दोलनमा निम्न–पूँजीवादी डफ्फाहरु, प्रुधोंवादी र ल्बैंक्वीवादी डफ्फाहरुको गहिरो प्रभाव थियो र पेरिस क्रान्तिको नेतृत्व पनि उनीहरुकै हातमा थियो । मूल कुरा त के भने मजदूर संघर्षमा नेतृत् वगर्ने एउटा सच्चा सर्वहारा राजनैतिक पार्टी, माक्र्सवादी पार्टीको अभाव थियो । यै मूल कारण थियो जसले गर्दा कम्यूनको तर्फबाट कतिपय राजनैतिक, आर्थिक र कार्यनैतिक गल्तीहरु भए ।
कम्यूनको एउटा सबभन्दा ठूलो र भयानक गल्ती कुन कुरामा रहन गयो भने मार्च १८ तारिखमा क्रान्तिको विजयपछि त्यसले भर्साइलमा भागेर गएको पूँजीवादी सरकारको प्रतिनिधि डफ्फालाई ध्वस्त गर्नेतर्फ आफ्नो हमलालाई बढाएन । त्यसको उल्टो, उक्त देशद्रोही र खुंखार डफ्फालाई भर्साइलमा बसेर कम्यूनको विरुद्ध विदेशी शत्रुसंग मिली विभिन्न षडयन्त्र गर्ने र शक्ति बटुल्ने मौका दिइयो । यो एउटा साँच्चिकै ठूलो राजनैतिक गल्ती थियो ।
कम्यूनको तर्फबाट भएको अर्को ठूलो गल्ती के थियो भने त्यसले क्रान्तिको एउटा ठूलो सहयोगीको रुपमा किसानहरुको भूमिकालाई र मजदूर–किसान मेलको महत्वलाई बुझ्न सकेन ।

कम्यूनबाट हुन गएको अर्को गल्ती के भने त्यसले बैँक अफ फ्रान्सलाई आफ्नो हातमा लिएन । लुटाहाहरुको सम्पत्ति जफ्त गर्ने कार्यमा कम्यूनले दरोसित जसरी अघि बढ्नुपर्ने थियो, त्यो गरिएन र बैँक अफ फ्रान्सलाई पूँजीपतिवर्गकै हातमा रहन दिइयो । यो, कम्यूनको एउटा गंभीर राजनैतिक गल्ती थियो । राजनैतिक सत्ता त कब्जा गरियो, तर पूँजीपतिवर्गको आर्थिक शक्तिलाई पूरैसित ध्वस्त पारिएन । फलस्वरुप, पूँजीपतिहरुले बैँकबाट सुन, चाँदी र पैसा ओसार्न पाए र त्यसलाई कम्यूनको विरुद्ध उपयोग गर्ने अवसर पाए ।
यसरी, क्रान्तिको सही नेतृत्व गर्ने, माक्र्सवादी सिद्धान्तअनुसार बनेको सच्चा सर्वहारा राजनैतिक पार्टीको अभावमा कम्यूनबाट कतिपय गंभीर गल्तीहरु भए । यस्ता गल्तीहरु भए तापनि पेरिस विद्रोह सर्वहारावर्गको एउटा निकै गौरवशाली कार्य थियो, र कम्यूनले नौलो, वर्गहीन समाजको अग्रणीको गौरवशाली स्थान ओगटेको छ ।
पेरिसको हारबाट शिक्षा लिई कार्ल माक्र्सले “सर्वहारावर्गको अधिनायकत्वको सिद्धान्त प्रतिपादन गर्नु भयो किनकी पेरिसका कम्यून क्रान्तिकारी कम्युनिष्ट पार्टी पनि थिएन र त्यसको मातहातमा जनताको सेना पनि थिएन, जसको कारण कम्यूनले नराम्रोसँग प्रजाय भोग्नु परेको थियो ।”

पेरिस कम्यून विश्व सर्वहारावर्गको मुक्ति संघर्षको रक्तरंजित इतिहासमा एउटा सुनौलो पृष्ठ रहेको छ । पेरिस कम्यूनको सर्वहारा क्रान्तिमा पेरिसका मजदूरहरुको क्रियाकलाप मजदूरवर्गमा रहेका लडाकू भावना, वीरतापूर्ण बलिदान क्रान्तिकारिता, महान् ऐतिहासिक तत्परता र त्यसमा निहित क्षमताको स्पष्ट अभिव्यक्ति थियो । संसारलाई फेरिनु पर्छ र फेर्न सकिन्छ र यस हेरफर ल्याउने महान ऐतिहासिक अभिभारालाई पूरा गर्नसक्ने एकमात्र वर्ग मजदूरवर्ग हो –– पेरिस कम्यूनले दिएकोे मूल सन्देश यै हो । यस विषयमा माक्र्सले भन्नु भएको छ “आफ्नो कम्यूनसहित मजदूरहरुको पेरिस एउटा नौलो समाजको गौरवशाली अग्रणीको रुपमा हमेशा जन–सम्मानको पात्र बनिरहनेछ । त्यसका शहीदहरुले मजदूरवर्गको महान ह्ृदयमा सदाको लागि ठाउँ ओगटेका छन् ।”