७ अर्बको सामानमा राजस्व छली

प्रकाशित मिति : २०७४ चैत्र ७

काठमाडौं, चैत ७ । भारतबाट नेपालमा आयात गरिने वस्तुहरुमा झण्डै ७ अर्ब रुपैयाँको राजस्व छली भएको पाइएको छ । व्ययभारका कारण सरकारलाई साधारण खर्च धान्नै हम्मे परिरहेका बेला भारतबाट आउने  वस्तुमा यति ठूलो रकमको छली भएको छ ।

खुला सिमाना र भन्सारको खुकुलोपनाको फाइदा उठाएर पाँच महिनामा ६ अर्ब ८८ करोड रुपैयाँको सामान भारतबाट बिनाभन्सार नेपाल आएको छ । भारतको वाणिज्य विभागमा अभिलेख भएको तर नेपालको भन्सारमा अभिलेख नभएको सामानको अन्तर निकाल्दा यस्तो पाइएको हो । नेपालले भारतबाट आयात गरेको र भारतले निर्यात गरेको तथ्यांकबीचको फरकले यस्तो देखाएको हो ।

सन् २०१७ को अन्तिम पाँच महिना अर्थात् अगस्टदेखि डिसेम्बरसम्म भारतबाट नेपालमा तीन खर्ब १२ अर्ब चार करोड रुपैयाँ बराबरको सामान आयात भएको छ । सोही अवधिमा नेपाली भन्सारमा भने तीन खर्ब पाँच अर्ब १६ करोड रुपैयाँको सामान आयात भएको देखिन्छ ।

भारतीय वाणिज्य विभागको तथ्यांकमा यो अवधिमा एक खर्ब ७४ अर्ब १४ करोड भारतीय रुपैयाँ बराबरको सामान नेपाल आएको देखिन्छ । यसलाई नेपाली रुपैयाँमा रुपान्तरण गर्दा दुई खर्ब ७८ अर्ब ६३ करोड रुपैयाँ हुन आउँछ ।

भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी शिव भण्डारी भारतबाट आयात गरिएका सामानमा १२ प्रतिशत ढुवानी भाडा र बिमा खर्च जोडेर भन्सार गर्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘भाडा र बिमाको खर्च आयातित सामानको मूल्यमै जोडिन्छ । त्यसपछि मात्र भन्सारको अभिलेखमा सामानको आयात मूल्य कायम हुन्छ ।’ भाडा र बिमालाई जोडेको रकम समावेश गर्दा सन् २०१७ को पछिल्लो पाँच महिनामा भारतबाट आयात भएको सामानको मूल्य तीन खर्ब १२ अर्ब चार करोड रुपैयाँ हुन आउँछ । विभागका निर्देशक भण्डारी भारतबाट नेपालमा अनौपचारिक रूपमा सामान आउने भएकाले उताबाट आएको भन्दा कम सामान भन्सारमा अभिलेख भएको बताउँछन् ।

भारतको वाणिज्य विभागको तथ्यांकले सन् २०१७ को डिसेम्बरमा भारतबाट नेपालमा ४० अर्ब १६ करोड ११ लाख भारतीय रुपैयाँको सामान आएको देखाउँछ । नेपाली रुपैयाँमा रूपान्तर गर्दा आयातमूल्य ६४ अर्ब २५ करोड ७७ लाख हुन आउँछ । यसमा १२ प्रतिशत खर्च जोड्दा ७१ अर्ब ९६ करोड रुपैयाँ हुन आउँछ । यही अवधिमा भारतबाट ७० अर्ब २९ करोड रुपैयाँको सामान आयात भएको देखिन्छ । एक महिनामा मात्र भारतले निर्यात गरेभन्दा एक अर्ब ६७ करोड रुपैयाँ कमीको सामान नेपाल आएको देखिन्छ । वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेल भारतीय भन्सार आधुनिक नहुँदा तथ्यांक तल–माथि पर्ने बताउँछन् । उनले भने, ‘भारतीय भन्सारले कागजमा राख्ने अभिलेखका कारण आयातको तथ्यांक सही नहुन सक्छ ।’

राष्ट्र बैंकले ०७३ सालमा गरेको अध्ययनअनुसार नेपालको भन्सार र भारतको भन्सारको अभिलेखमा आयात–निर्यात भिन्नता औसत ३५ दशमलव पाँच प्रतिशत रहेको देखिएको छ । गैरकानुनी व्यापार बढेको भन्दै गत वर्ष भारतले गुड फर सर्भिस ट्याक्स (जेएसटी) लगाउने निर्णय गरेको थियो ।

राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा भारतबाट हुने गैरकानुनी आयात रोक्न अर्थमन्त्रीले सन्दर्भ मूल्यको विषय अगाडि सारेको बताउँछन् ।