एजेन्सी । बंगलादेशमा रहेका रोहिङ्ग्या म्यान्माली शरणार्थीलाई फिर्ता गर्ने सम्बन्धमा बंगलादेश र म्यानमारका अधिकारीबीच मङ्गलबार छलफल भएको समाचार छ । यसअघि बंगलादेश र म्यानमारबीच करिब दुई महिना भित्रमा रोहिङ्ग्या शरणार्थी फिर्ता गर्ने सहमति भएको जनाइएको थियो । उक्त सहमतिको पूर्ण कार्यान्वयन नभए पनि केही शरणार्थीहरु स्वदेश फर्केका छन् ।

मङ्गलबार यी दुई देशका उच्च अधिकारीबीच यस बिषयमा छलफल सुरु भएको अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार मङ्गलबार म्यानमारको राखिन राज्यको तुङ पो लेतामा छलफल सुरु भएको हो ।

खासगरी केही शरणार्थीहरु बंगलादेश जानेक्रममा र अरु केही राखिनमा फर्किने क्रममा दुवै देशको ‘जिरो लाइन’ मा ती शरणार्थीहरु रहेका छन् । यस विषयमा थप छलफलका लागि मङ्गलबार बंगलादेशका अधिकारीहरु म्यानमार पुगेका हुन् । यससम्बन्धी उच्च अधिकारीहरुबीच भेटवार्ता भएको म्यानमारको सरकारी समाचार समितिद्वारा प्राप्त समाचारमा जनाइएको छ ।

म्यानमारमा पछिल्ला केही महिनाअघि भएका हिंसात्मक गतिविधिपछि सेनाले चलाएको सैनिक अभियानबाट बस्न नसकेर म्यानमारको रोहिङ्ग्या समुदायका लाखौँ नागरिकले देश छोडेर भागेका थिए । विशेषगरी रोहिङ्ग्याहरुको बसोबास रहेको म्यानमारको राखिन राज्यबाट छ लाख भन्दा बढी नागरिक भागेर बंगलादेश पुगेका थिए । यसरी भागेका शरणार्थीहरु अझै पनि अधिकांश बंगलादेशको कोक्स बजार क्षेत्रमा बस्दै आएका छन् ।

मङ्गलबार सोही राखिन राज्यमा नै यस विषयमा वार्ता भएको छ । उक्त राज्यमा भएको छलफलमा यहाँका उच्च अधिकारीका साथै सीमा क्षेत्रमा रहेका केही सीमा अधिकारीहरुलाई पनि सहभागी गराइएको बताइएको छ ।
तर यी दुई देशबीच शरणार्थी फिर्ताका विषयमा सहमति पत्रमा हस्ताक्षर भइसकेको छ । दुई देशको विदेश मन्त्रालयका अधिकारीहरुले सो सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । तर व्यक्तिगत रुपमा केही शरणार्थी आफ्नो देश फर्किएको भए पनि त्यस सहमति बमोजिम भने रोहिङ्ग्याहरुलाई फिर्ता गर्ने काम सुरु गरिएको छैन ।

गएको अगष्ट २५ देखि ती शरणार्थीहरुले देश छोडेका हुन् । उनीहरुलाई स्वदेश फिर्ता गर्नका लागि भन्दै गत अक्टोबर महिनामा एक समिति नै गठन गरिएको र सोही बमोजिम सहमति पनि भएको हो । म्यानमारको सुरक्षाकर्मीले चलाएको पछिल्लो अभियानलाई अमेरिकाले अल्पसङ््ख्यक रोहिङ्ग्या समुदायलाई राखिनबाट हटाउने प्रयास भनी आलोचना पनि गर्दै आएको छ । विश्व समुदायले नै म्यानमार सरकारको यो कदमको निकै विरोध गरेको छ ।

विश्वभरबाट म्यानमारको शरणार्थीलाई फिर्तागर्न माग गरिरहेको समयमा म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसान सुकी र बङ्गलादेशका विदेशमन्त्री ए एच महमद अलिबीच म्यानमारको न्यापितमा दुई महिना अघि नै भएको बैठकले शरणार्थीलाई फर्काउने सहमति भएको थियो ।

रोहिङ्ग्यालाई स्वदेश फर्काइदैछ र यो प्रक्रिया कहिलेसम्म सम्पन्न हुनेछ भन्ने बिषयमा दुवै पक्षले प्रष्ट बोलेका छैनन् । तर यस बैठकले यी विषयमा पनि निर्णय गर्ने अपेक्षा गरिएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर