बैतडीमा चट्याङ लागेर २२ सैनिक घाइते, ५ को अवस्था गम्भीर

प्रकाशित मिति : २०७४ फाल्गुन २

बैतडी, फागुन २ । चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् । मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति सेनानी सुदीप बानियाँले जानकारी दिए ।

उनका अनुसार घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको सेनानी बानियाँले जानकारी दिए ।सामान्य घाइते भएका १७ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।