महासचिव किरणको उद्घोष : ‘क्रान्तिकारीहरुलाई एकीकृत र ध्रुवीकृत गरेर नयाँ ढंगले बन्दुक उठाउँछौं’

प्रकाशित मिति : २०७४ फाल्गुन १

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिष्ट पार्टीले संयुक्त रुपमा आयोजना गरेको जनयुद्धको २३ औं दिवसको ऐतिहासिक समारोहलाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले मुलुकमा क्रान्ति आवश्यक र सम्भव रहेको भन्दै त्यसका लागि छरिएर रहेका क्रान्तिकारीहरुलाई एकीकृत र ध्रुवीकृत गर्नुपर्ने र नयाँ ढंगले बन्दुक उठाउने उद्घोष गर्नुभयो ।

क्रान्तिकारीहरुले एकता र ध्रुवीकरणका लागि जड्ता र अहम्ता त्याग्न तयार हुनुपर्ने भन्दै महासचिव किरणले विज्ञान र प्रविधिको विकास, विश्व तथा नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासबाट शिक्षा लिएर छलफल र बहसका बीचबाट राजनीतिक तथा फौजी कार्यदिशाको थप विकास गरी अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनु भयो । विज्ञान प्रविधिले विस्थापित गरेका मजदुरहरु सर्वहारावर्गीय क्रान्तिका रिजर्भ सेना भएको बताउँदै महासचिव किरणले विज्ञान प्रविधि मुख्य कुरा नभएर मुख्य कुरा मान्छे भएकोले प्रविधिले मान्छेलाई होइन, मान्छेले प्रविधिलाई चलाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

एकातिर नवउदारवादी अर्थनीति र संसदवादीहरु बीचको सत्ताको खिचातानी र अर्कोतिर राष्ट्रियता, जनतन्त्र र जनजीविकाकाको बढ्दो समस्याका कारण क्रान्ति अपरिहार्य हुने भन्दै सर्वहारावर्गीय क्रान्तिले मात्रै समस्याहरुको वास्तविक समस्या गर्ने विचार व्यक्त गर्नुभयो र महासचिव किरणले भन्नुभयो, “क्रान्तिका लागि अब युवाहरु सशक्त रुपमा उठ्नुपर्ने बेला आएको छ । युवाहरु बन्दुक बोक्न तयार हुनुपर्छ ।”

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका स्थायी समिति सदस्य सुदर्शन ओलीले सशस्त्र क्रान्ति विना परिवर्तन सम्भव नरहेको विचार व्यक्त गर्नुभयो । क्रान्तिका निम्ति क्रान्तिकारीहरुबीचको एकता तथा ध्रुवीकरण अपरिहार्य रहेको बताउँदै नेता सुदर्शनले क्रान्तिकारीहरुलाई एकताबद्ध बनाउने गरी कार्यदिशामाथि बहस गर्न आफ्नो पार्टी तयार रहेको कुरा बताउनु भयो ।

माओवादी केन्द्र परित्याग गरेका नेता लोकेन्द्र विष्टले प्रचण्डमा खाराको कारबाहीदेखि नै विचलन देखापरेको दावी गर्दै प्रचण्डले माओवादी केन्द्रलाई एमालेमा विलय गराउने अन्तिम तयारी गरिरहेको बताउनु भयो । प्रचण्डको ओलीकरण भएपछि क्रान्तिकारीहरुका लागि मैदान खाली रहेको भन्दै विष्टले छरिएर रहेका सबै क्रान्तिकारीहरु एकजुट भएर क्रान्तिको प्रक्रियालाई अगाडि बढाउनु पर्ने र त्यसको लागि कमरेड किरणले पहलकदमी लिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

माओवादी केन्द्रको एमालेकरणका विरुद्ध विद्रोह गरिरहेका नेता गोपाल किरातीले जनताको गणतन्त्रका लागि फेरि क्रान्ति आवश्यक रहेको कुरा बताउनु भयो । अर्का नेता विश्वभक्त दुलाल आहुतीले माओवादी केन्द्र वैचारिक रुपमा विघटित र विसर्जित अवस्थामा पुगेको भन्दै भुमण्डलीकृत साम्राज्यवादका विरुद्ध सर्वहारावर्गीय क्रान्तिलाई अगाडि बढाउन कार्यदिशामाथि पर्याप्त बहस गरेर क्रान्तिकारीहरु एकताबद्ध भएर क्रान्तिको प्रक्रियालाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।

क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीसले अध्यक्षता गरेको उक्त समारोहको संचालन नेकपाकी पोलिटब्यूरो सदस्य उमा भूजेलले गर्नुभएको थियो । सम्बोधनको बीच बीचमा सामना साँस्कृतिक परिवारका कलाकारहरुले क्रान्तिकारी गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।