नेताका अभिभाराहरु

प्रकाशित मिति : २०७४ माघ २८

- चाउ एन लाइ

कामरेड माओ चतुङ के भन्नुहुन्छ भने कार्यकर्ताहरुको राम्रो प्रयोग गर्नु र नीति कार्यान्वित गर्नु नेताका अभिभाराहरु हुन् । यो साँचो हो । तिनलाई टुक्रयाउँदा ती निम्न प्रकारका हुन्छन् :

क) नेतृत्वदायी कार्यकर्ताहरुले विचारधारात्मक र राजनीतिक नेतृत्वप्रति निकट ध्यान दिनुपर्छ । यसको निम्ति उनीहरुले निरन्तर रुपमा आफ्नो विचारधारात्मक स्तर उठाउनु र आफ्नो राजनीतिक प्रशिक्षणलाई बलियो पार्नुपर्छ । हामी के माग गर्छौ भने हाम्रा कार्यकर्ताहरुले निम्न कुराहरुमा आफ्नो ध्यानलाई केन्द्रित पारुन् :

१) महत्वपूर्ण कुरोमा जोड दिनु ।
२) राजनीतिक चनाखोपनलाई तिखार्नु ।
३) आफ्नो सैद्धान्तिक स्तर उठाउनु ।
४) पार्टीभित्र र बाहिर विचारधारात्मक संघर्षलाई तीब्र पार्नु, र
५) पार्टीका नीति र उपलब्धिहरुलाई सक्रिय रुपमा जनतामा प्रचार गर्नु ।

ख) नेतृत्वदायी कार्यकताहरुले संगठनात्मक नेतृत्वप्रति राम्रो ध्यान दिनुपर्छ । राजनीतिक कार्यदिशाको प्रतिपादन भएपछि,संगठनात्मक कामले सव कुराको फैसला गर्छ । हामी तलका कुराहरुप्रति आफ्ना कामरेडहरुको ध्यान आकृष्ट गर्छौ :

१) संगठनात्मक नेतृत्वलाई राजनीतिक नेतृत्वको स्तरसम्म उठाइनु पर्छ, अर्को शब्दमा भन्ने हो भने, सबै खालको कामलाई सैद्धान्तिक आधारमा राख्नुपर्छ,
२) सारा संगठनात्मक तथा दैनिक कार्यले पार्टीका राजनीतिक अभिभाराहरुको परिपुर्तिलाई र त्यसको कार्य योजनाको सिद्धिकरणलाई सुनिश्चित पार्ने काम गर्नुपर्छ ।
३) पार्टीको दैनिक नेतृत्वलाई महत्व दिइनुपर्छ, जसले गर्दा पार्टी संगठनहरु तलसम्म घनिष्ठ रहन्छन् र तिनीहरुको काम अझ बढी ठोस बन्छ ।
४) सारा अप्ठ्याराहरुलाई हटाउनका लागि पार्टी संगठनहरु र जनसाधारणहरुलाई संचालित गरिनुपर्छ ।
५) हामीले सबै खालको अवसरवाद जस्तो कि लापरवाही, ब्यर्थको बकवाद, हठीपन, नोकरशाही, औपचारिकतावाद, र लालफित्ते रुटिनवाद, भ्रष्टाचार, पतन, आदिको विरोध गर्नुपर्छ ।

ग) कार्यकर्ताहरु छान्नमा र कामको जिम्मा लगाउनमा विवेकको प्रयोग गरिनुपर्छ । यो पनि संगठनात्मक कार्यको हिस्सा हो, तर यसलाई छुट्टै रुपमा गर्न सकिन्छ । राजनीतिक योग्यता र कार्य क्षमता दुवै कार्यकर्ताहरुको चयनमा अपरिहार्य कसी हुन्, तर राजनीतिक विश्वासयोग्यता प्राथमिक रहन्छ । एकपल्ट स्टालिनले मानिसहरुले सिद्धान्तअनुसार नियुक्ति नगरिदिंदा पार्टीलाई भएको हानीतर्फ औल्याउनुभएको थियो । उहाँले के भन्नुभयो भने यस्ता मानिसहरु जहाँ गए पनि तिनको पछाडि “चाकडीबाजहरु”को ठूलो भीड लाग्छ र उनीहरुले आफूलाई “आफ्नै” मान्छेजस्तो लागेकाहरुलाई मात्र नियुक्ति दिन्छन् ।

शुद्धीकरण आन्दोलनबारे आफ्नो एउटा प्रतिवेदनमा कामरेड माओत्सेतुङले पनि “बेइमान” भएकोमा यस्ता मानिसहरुको आलोचना गर्नुभएको छ । त्यो “जहाँतहीं दौडाहामा जाने साम्राजी दूतहरु” को कमजोरी हो । कार्यकर्ता राजनीतिक दृष्टिले विश्वासयोग्य भए पनि उसलाई (समय, ठाउँ र स्थिति हेरेर) उचित ढंगबाट प्रयोग गर्नु महत्वपूर्ण छ ।

घ) कामको समीक्षा हुनुपर्छ । कार्यकर्ताहरुको काम र कार्ययोजनाको कार्यान्वयनको समीक्षा हुनुपर्छ । स्टालिनको भनाइअनुसार, समीक्षाका उद्देश्यहरु यी हुन् ः पहिलो, कार्यकर्ताहरुको योग्यता जान्नु, दोस्रो, कार्यकारिणी यन्त्रका गुण–अवगुणहरुलाई निर्धारित गर्नु, र तेस्रो, प्रस्तुत अभिभारा वा निर्देशनहरुका गुण र दोषहरुलाई निर्धारित गर्नु । .. कोही नेताहरु के ठान्छन् भने, यस खालको समीक्षाले उनीहरुका आफ्ना कमजोरीहरुको पर्दाफास गरेर उनीहरुको प्रतिष्ठालाई धमिल्याउनु वा उनीहरुको आत्मविश्वासलाई धर्मराउनु सम्भव छ । यो गलत कुरा हो । आफ्ना गल्तीहरुलाई ढाकछोप गरेर होइन, बरु तिनलाई ‘सच्याएर’ र फाइँफुट्टी र घमण्ड गरेर होइन, बरु आफूलाई कठिन काममा लगाएर नेताहरु आफ्नो प्रतिष्ठालाई उठाउँछन् । गल्तीहरु सच्याउँदा विश्वास कमजोर हुँदैन, बरु बलियो मात्र हुनेछ । घमण्डी र लाज बचाउन चाहने मानिसहरु मात्र गल्तीको पर्दाफास होला भनी डराउँछन् ।

ङ) जनताको बीचमा जाऊ । नेताले जनसाधारणलाई सिकाउने मात्र होइन, उनीहरुबाट सिक्नु पनि पर्छ । कारण के भने नेताहरुको आफ्नै ज्ञान अधुरो हुन्छ र उनीहरुको अनुभव अपर्याप्त रहन्छ । नेतृत्वदायी स्थान आफैले ज्ञान र अनुभव दिन सक्दैन । त्यसैले जनतामा गएर उनीहरुबाट अनुभव लिनु आवश्यक छ । हामी के माग गर्छौ भने १. कामरेडहरु जनताको निकट रहून्, उनीहरुसित सम्पर्क राखून् र केही हदसम्म उनीहरुसित एक होऊन्, २. उनीहरुले जनआवाजप्रति ध्यान दिऊन्, ३. तिनीहरुबाट सिकून्, र ४. तिनीहरुको पिछ्लग्गू बन्नुको सट्टामा तिनीहरुलाई शिक्षित पारुन् । (अनुः कृष्णदास श्रेष्ठ)