संगठन विस्तार र क्रान्तिकारीहरु बीचको एकता र ध्रुवीकरण आजको आवश्यकता

प्रकाशित मिति : २०७४ माघ २५

- धनेश्वर पोखरेल

क्रान्ति गर्नका लागि मालेमावादी सिद्धान्तमा आधारित कम्युनिस्ट पार्टी हुनै पर्छ । त्यसका साथै बलियो र दरिलो संगठन चाहिन्छ । कम्युनिस्ट पार्टी मास पार्टी नभएर कार्यकर्ता वेस पार्टी हो । सहि नीति सिद्धान्तमा आधारित कम्युनिस्ट पार्टी र संगठन एक अर्कामा अन्तर संबन्धत हुन्छ । कार्यकर्ता विनाको कम्युनिस्ट पार्टी लंगडो हुन्छ भने सहि नीति–सिद्धान्त विनाको संगठन अन्धो र अराजक हुन्छ । संगठित जनतालाई आमूल परिवर्तनको दिशातिर डो¥याउने मूल कडी भनेको वैचारिक दृष्टिकोण र त्यस अनुरुपको वैज्ञानिक योजना हो । नीति–सिद्धान्त मात्र सहि भएर पुग्दैन त्यसलाई व्यवहारमा प्रयोग गर्ने र परिणाम निकाल्ने शक्ति भनेको संगठन हो । अर्कोतर्फ संगठन मात्र ठूलो भएर पनि परिवर्तन संभव हुदैन त्यसलाई सचेत ढंगले परिवर्तनको दिशातिर धकेल्ने शक्ति भनेको क्रान्तिकारी पार्टी हो । आफ्नो वर्गको पहिचान गर्ने र त्यसलार्य संगठित गरी क्रान्तिको दिशामा अगाडि बढाउने मुख्य काम भनेको कम्युनिस्ट पार्टी नै हो । कम्युनिस्ट पार्टीको सचेत पहल र प्रयत्नद्वारा मात्र कुनै पनि देशको वर्गीय तथा राष्ट्रिय मुक्ति र आमूल परिवर्तनको संभावना रहन्छ । त्यसको निम्ति कम्युनिष्ट पार्टी आत्मगत रुपले बलियो बन्नै पर्छ । अर्को तर्फ क्रान्तिकारी शक्तिहरु विभिन्न खेमामा विभक्त रहदा सम्म क्रान्तिकारी आन्दोलन प्रभावकारी ढंगले अगाडी बढ्नै सक्दैन ।

कम्युनिस्ट पार्टीमा विचार–सिद्धान्त महत्व जैलेसुकै अग्रस्थानमा हुन्छ । त्यसको साथै संगठन त्यत्तिकै आवश्यक हुन्छ । संगठन विना संघर्षका कामहरु प्रभावकारी ढंगले अगाडी बढ्न सक्दैनन् । त्यसमा अझ जतिवेला सिंगो कम्युनिस्ट आन्दोलनमा आउने उत्तार चढावका कारण कम्युनिस्ट पार्टी रक्षाको अवस्थामा धकेलिन पुग्छ त्यतिवेला संगठनको आवश्यकता झनै खड्काएको हुन्छ । वैचारिक रुपमा पार्टी जतिसुकै सशक्त, जुझारु भएतापनि सांगठनिक रुपमा कमजोर छ भने प्रतिक्रियावादी र अवसरवादीहरुले हेप्ने र पेलेर लैजाने गर्छन । त्यतिमात्र हैन उनीहरु कम्युनिस्ट आन्दोलनालाई नै समाप्त पार्नका लागि अनेक हथकाण्ड अपनाउने गर्छन् । यो उनीहरुको आम नियती र प्रवृत्ति नै हो । कम्युनिस्ट आन्दोलनलाई जोगाउन र विस्तार गर्दै निर्णायक विन्दूमा पु¥याउनको लागि क्रान्तिकारी विचार सिद्धान्त सहितको वलियो क्रान्तिकारी पार्टी संगठन निर्माण गर्नैपर्छ । संगठन निर्माण, विस्तार सहित राष्ट्र र जनताका जल्दावल्दा समस्याहरु संकेन्द्रीत गरी संघर्षका कार्यक्रमहरुलाई पनि बुलन्द पार्नै पर्छ । त्यसको निम्ति संगठन–संघर्ष र संगठनको नीतिलाई पकड्न पर्ने हुन्छ । संगठन पार्टीको गतिशील जीवन हो । कम्युनिस्ट पार्टीको संगठन व्यापक जनताको बीचमा बन्न जरुरी छ । यसो गर्दा संगठनको आकार कत्रो र कस्तो बनाउने भन्ने सवाल आउन सक्छ । एउटा बुझ्नै पर्ने कुरा के छ भने संगठन जतिसुकै व्यापक बनेता पनि त्यो भारी मरकमको रुपमा नभएर चुस्त–दुरुस्ट हुनुपर्छ । ताकी त्यो लेनिनवादी संगठनात्मक सिद्धान्तको आधारमा चल्न सकोस् । त्यसमा आधाभूत अनुशासन, नैतिकता, गोपनीयता, इमान्दारीता, जिम्मेवारीवोध, आत्मालोचना–आलोचना हुनुपर्छ । भारी भरकमको सांगठनिक संरचनामा यी कुनैपनि चिज रहदैनन् । चुस्त सांगठनिक संरचनामा मात्र यो पद्धतीलाई लागु गर्न सकिन्छ र संगठन सुदृढ व्यवस्थित र चलायमान भै रहन्छ । संगठन चुस्त र चलायमान भै रह्यो भने त्यसले जनतामा राम्रो प्रभाव पार्छ । भद्दा संगठन पार्टीको हितमा हुदैन । कम्युनिस्ट पार्टीलाई योजनाबद्ध ढंगले विघटन गर्नु छ भने त्यसको सांगठनिक संरचनालाई ठूलो विशाल बनाउनुपर्छ ताकी त्यहाँ कुनै छलफल–बहस, आत्मालोचना–आलोचना गर्ने अवसरै नहोस् । नेताको एकतर्फी डिक्टेटर लागुहोस् । अथवा संगठन भित्र जस्लाई जे गर्न पनि छुट होस्, त्यसको हिसाव–किताब टिका–टिप्पणी र आलोचना कसैले कसैको गर्न नपरोस । कोही पनि अनुशासनको दायरामा बाँधिन नपरोस् । यस्तो सांगठनिक संचरना कम्युनिस्ट पार्टीको हुदैन र हुनै सक्तैन । त्यो त कम्युनिस्ट पार्टीलाई योजनावद्ध ढंगले विघटन गर्ने प्रतिक्रियावादी र दक्षिणपन्थी संशोधनवादीहरुको नियोजित योजना हो ।

वर्तमान सन्दर्भमा नेपालका कम्युनिस्ट आन्दोलनमा आएको दक्षिणपन्थी हावाहुरीका कारण क्रान्तिकारी आन्दोलन रक्षात्मक चरणमा छ । यतिवेला दक्षिणपन्थी संशोधनवाद नेपाली कम्युनिस्ट आन्दोलनको प्रमुख वाधकको रुपमा आएको छ । यस्ले हसियाँ हतौडाको झण्डामुनी वसेर नेपाली समाजमा काफी भ्रम छर्दै आएको छ । दक्षिणपन्थी संशोधनवादको चरित्र भनेको नीति–सिद्धान्तमा पूँजीवाद लागु गर्ने र आवरणमा कम्युनिस्ट देखाउने हुन्छ । अर्थात रुपमा माक्र्सवाद र सारमा प्रतिक्रियावाद लागु गर्ने हुन्छ । पछिल्लो चरणमा माकेमा आएको सैद्धान्तिक विचलन र एमाले करणले क्रान्तिकारी कम्युनिष्ट पार्टीमा सांगठनिक रुपमा केही धक्का लागेको छ । जस्ले गर्दा क्रान्तिकारी आन्दोलन कमजोर बन्न पुगेको छ । यो स्थितिमा संगठन विस्तारको प्रश्न क्रान्तिकारी माओवादीको निम्ति प्रमुख बनेको छ । प्रचण्ड–बाबुरामको वैचारिक विचलन, वादल–गुरुङहरुको बहिर्गमन आदिले समग्रमा माओवादी आन्दोलन रक्षामा धकेलिन पुग्यो । यो स्थितिमा क. लेनिनले भने झैं “हामीलाई यतिखेर चाहिएको संगठन, संगठन र फेरी संगठन हो । यदि संगठन निर्माण गर्ने कुराको मर्मलाई ठीक सँग पक्डेर अगाडि बढ्यौ भने चुनौतीका जतिसुकै ठूला पहाडहरु हाम्रा अगाडि खडा भएपनि त्यसलाई पन्छाएर हामी अगाडि बढ्न सक्छौं ।” अन्यथा हाम्रो विघटनको प्रक्रियालाई कसैले रोक्न सक्तैन ।

अर्को महत्वपूर्ण कुरा के पनि हो भने नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न विभिन्न खेमामा रहेका क्रान्तिकारी कम्युनिस्ट बीच एकीकरण वा धु्रवीकरण हुन जरुरी छ । क्रान्तिकारीहरुको वीचको एकता विना एक्लै बाँसको लिंगोमा हड्डी झुण्डाएर कसैले पनि विरवलका खिचडी पकाउन सक्तैन । कुण्ड–कुण्ड पानी, मुण्ड–मुण्ड बुद्धिले नेपालको क्रान्तिकरी आन्दोलन सफल हुन सक्दैन । एकातिर प्रतिक्रियावादी शक्तिको धु्रवीकरण अर्कातिर दक्षिणपन्थी संशोधनवादीहरु वीचको धु्रवीकरण भै क्रान्तिकारी शक्तिहरुमाथि हमला बोली रहेका अवस्थामा जुनसुकै खेमामा रहेको क्रान्तिकारी जनता, कार्यकर्ताहरुले पनि क्रान्तिकारी पार्टीहरु बीच एकता र धु्रवीकरणको चाहाना हुनु र नेतृत्वबाट त्यो खालको अपेक्षा राख्नु स्वभाविकै हो । साथै वर्तमानको विशिष्ट अवस्थामा त्यो एकता अपरिहार्य आवश्यकता पनि हो । क्रान्तिकारी जनता कार्यकर्ताको यो आग्रहलाई नजर अन्दाज गरेर कोहीपनि क्रान्तिकारी शक्ति एकता अर्थात धु्रवीकरणको प्रक्रियाबाट भाग्न मिल्दैन । अर्थात यो वा त्यो बहानामा एकता प्रकृयालाई पर–पर सार्न पनि सान्दर्भिक ठहदैन । यसो भन्नुको तात्पर्य विचार सिद्धान्तलाई एकातिर पन्छाएर वा क्रान्तिकारी कार्यदिशालाई वेवास्ता गरेर एकताको नाउमा तत्कालै नेताहरुले चोचो मोचो मिलाई हाल्नु पर्छ भन्ने पनि होइन । मालेमावादमा आधारित क्रान्तिकारी विचार सिद्धान्तलाई केन्द्रमा राखेर ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै पार्टी एकता वा धु्रवीकरणमा जोड दिनु पर्छ ।

यसै सन्दर्भमा क. माओको भनाईलाई गंभीरताका साथ लिन र आत्मसाथीकरण जरुरी देखिन्छ । माओ भन्नु हुन्छ, “कम्युनिस्ट पार्टीको एकताद्वारा मात्र सम्पूर्ण वर्गको एकता र संम्पूर्ण राष्ट्रको एकता प्राप्त गर्न सकिन्छ । सम्पूर्ण वर्ग र संम्पूर्ण राष्ट्रको एकताद्वारा मात्र शत्रुलाई पराजित गर्न सकिन्छ र राष्ट्रिय र जनवादी क्रान्ति पुरा गर्न सकिन्छ ।” –क. माओ । हो कमरेड माओले भनेजस्तै साम्राज्यवाद र विस्तारवादद्वारा संचालित यहाँका प्रतिक्रियावादी र दक्षिणपन्थी संशोधनवादी शक्तिहरुलाई परास्त गरी वर्गीय मुक्ति र राष्ट्रिय मुक्ति आन्दोलन सफल पारी संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी व्यवस्था स्थापना गर्न र जनवाद, समाजवाद हुदै साम्यवादी चरणसम्म पुग्न क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको बीचमा एकता वा धु्रवीकरण हुनु अनिवार्य छ । त्यसो भयो भने मात्र राष्ट्रले दिगो शान्ति र स्वाधिनता प्राप्त गर्न सक्छ । यो संभव छ, विल्कुलै संभव छ । क्रान्तिकारी पार्टीहरु बीचको एकताबाट पैदा हुने भौतिक शक्ति नै विजयको स्रोत बन्न जान्छ । क्रान्तिकारी पार्टीहरु वीचको एकता नै राष्ट्र र जनताको विजय र प्रतिक्रियावादी तथा दक्षिणपन्थी संशोधनवादी तत्वहरुको पराजयको घोतक हो । व्यक्तिगत इच्छा र चाहानालाई थाति राखेर महान उद्देश्य प्राप्तिका लागि एकतावद्ध हो औं विजय सुनिश्चित छ ।