शाखा माग गर्दै क्रान्तिकारी महासंघलगायतका संगठनले पत्रकार महासंघमा लगाए ताला

प्रकाशित मिति : २०७४ माघ २४

परासी । नेपाल पत्रकार महासंघ नवलपरासीलाई नवलपरासी र नवलपुर शाखा गरी छुट्टाछुट्टै बनाउनुपर्ने माग गर्दै क्रान्तिकारी पत्रकार महासंघ सहितका पेशागत संगठनले सोमवार परासीको महासंघ कार्यालयमा तालाबन्दी गरेका छन् । जिल्ला दुईवटा प्रदेशमा विभाजित भएपनि जिल्ला महासंघले एकलौटी गरी एउटै महासंघ बनाउन चलखेल गरेको भन्दै जिल्लामा क्रियाशिल चारवटा बामपन्थी पार्टी समर्थित पत्रकार संघसंगठनले महासंघमा तालावन्दी गरेका हुन । यस अघि ४२ जना महासंघ सदस्यहरुले हस्ताक्षर संकलन गरी प्रदेश नम्बर पांचमा छुट्टै नवलपरासी शाखा गठन हुनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाउदै संर्घष गर्दै आएका थिए ।

तालावन्दीमा एमाले सम्बद्ध प्रेस चौतारी,माकेनिकट प्रेस सेन्टर ,क्रान्तिकारी महासंघ र क्रािन्तकारी पत्रकार संगठनका प्रमुख तथा प्रतिनधि सहभागी थिए । महासंघ नवलपरासीमा होमराज रानाभाटको अध्यक्षतामा नयां कार्य समिति गठन भए पछि महासंघका कार्यक्रम अध्यक्षको अनुकुलतामा मात्र हुने गरेको प्रेस चौतारी पश्चिम नवलपरासीका संयोजक एवं शाखाका पूर्वअध्यक्ष केशव पराजुलीले बताउनु भयो । महासंघ कार्यसमितिमा ८ जना परासी र ८ जना नवलपुरका पत्रकार रहेको जनाइएको छ । क्रान्तिकारी पत्रकार महासंघ जिल्ला अध्यक्ष राजु पोखरेलका अनुसार युनियनले शाखा दिन आनाकानी गरेपछि ताला लगाइएको र शाखा छुट्टाछुट्टै नबनाएसम्म आन्दोलन जारी रहने छ ।