मोहन वैद्य‘किरण’सँग बालकृष्ण ढुंगेलले डेढघण्टासम्म के कुरा गरे ?

प्रकाशित मिति : २०७४ माघ २३

काठमाडौं । जनयुद्धकालीन मुद्दामा डिल्लीबजारस्थित सदरखोर जेलमा सजाय काटिरहेका बालकृष्ण ढुंगेलले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’सँग डेढघण्टा लामो कुराकानी गरेका छन् । ढुंगेललाई भेट्न डिल्लीबजार पुगेका महासचिव किरणसँग उनले लामो कुराकानी गर्दै जनयुद्धकै तत्कालीन कमाण्डर प्रचण्ड सरकारमा हुँदा जनयुद्धको सिपाही आफू जेल पर्नु परेको भन्दै यो कस्तो न्याय हो ? भनेर प्रश्न गरे । जनयुद्धकालीन राजनीतिक मुद्दालाई विशुद्ध व्यक्तिगत र प्राविधिक बनाएर मलाई षड्यन्त्रपूर्वक फसाइएको भन्दै बालकृष्ण ढुंगेलले महासचिव किरणलाई जेलमुक्त गर्न पार्टीको तर्फबाट भूमिका खेलिदिन आग्रह गरेको महासचिव किरणसँगै ढुंगेललाई घेट्न पुग्नुभएका क्रान्तिकारी माओवादीका नेता दिनेश शर्मा ‘सागर’ले बताउनु भयो ।

ढुंगेलले महासचिव किरणलाई भने, “ममाथिको आक्रमण जनयुद्ध लडेका सबै नेता कार्यकर्तामाथिको आक्रमण हो । मैले न्याय नपाउनु भनेको जनयुद्धले, जनयुद्धका सहिद, वेपत्ता योद्धाहरुले न्याय नपाउनु हो । जनयुद्धको एउटा पहलकर्ता र नेतृत्वमध्येको एक र अहिले पनि क्रान्तिकारी धारको नेतृत्व गरेर अगाडि बढिरहनु हैसियतले तपाई र तपाईको पार्टीले जनयुद्ध, सहिद, वेपत्ता योद्धाहरुलाई न्याय दिलाउने काम गर्नुपर्छ ।”

जवाफमा महासचिव किरणले जनयुद्धकालीन मुद्दा राजनीतिक भएकोले यसलाई राजनीतिक रुपमा नै हल गर्नुपर्नेमा जनयुद्धकै नेतृत्व गरेको व्यक्ति सरकारमा छँदा जनयुद्धको एउटा सिपाही जेल पर्नु विडम्बनापूर्ण अवस्था रहेको भन्दै ढुंगेललाई जेलमुक्त गर्न पार्टीको तर्फबाट दबाबमूलक भूमिका खेल्ने कुरा बताउनुभयो । जनयुद्ध, सहिद तथा वेपत्ता योद्धामाथिको वास्तविक न्यायका निम्ति फेरि पनि नयाँ जनवादी क्रान्ति गर्नु अपरिहार्य रहेको भन्दै महासचिव किरणले जनताको गणतन्त्रमा मात्रै जनयुद्ध, सहिद र वेपत्तायोद्धाले न्याय पाउन सक्ने विचार राख्नुभयो । त्यसका लागि छरिएर रहेका क्रान्तिकारी एकीकृत र केन्द्रकृत भएर जनवादी क्रान्तिको प्रक्रियामा अगाडि बढ्नु पर्ने आवश्यकता औल्याउनु भयो । 

अहिले पनि क्रान्ति र परिवर्तनको पक्षमा जेलभित्रबाट लडिरहनु भएको भन्दै ढुंगेललाई महासचिव किरणले धन्यवाद समेत दिनुभएको थियो । महासचिव किरण र ढुंगेलबीच ३ बजेदेखि साढे ४ बजेसम्म कुराकानी भएको थियो ।