फिडेल क्यास्ट्रोका छोराले गरे आत्महत्या

प्रकाशित मिति : २०७४ माघ १९

काठमाडौं, १९ माघ । क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका छोराले आत्महत्या गरेका छन् । क्यास्ट्रोका जेठा छोरा फिडेल एन्जल क्यास्ट्रोले बिहीबार बिहान आत्महत्या गरेको क्युवाको सरकारी पत्रिका ग्रान्माले पुष्टि गरेको छ । ६८ वर्षका उनले हवानास्थित आफ्नै घरमा आत्महत्या गरेका हुन् ।

फिडेलका छोरा डियाज धेरै दिनदेखि डिप्रेशनमा थिए र उनको उपचार भैरहेको थियो । पछिल्लो समय चिकित्सकहरुको समूहले उनको घरमा उपचार गर्दै आएको थियो । चिकित्सकको निगरानीमै रहेका बेला उनले बिहीबार आत्महत्या गरेका हुन् ।

उनी फिडेलीटोको नामबाट चर्चित थिए
आफ्नो बुवाजस्तो देखिने कारण उनलाई कतिपयले फिडेलिटो पनि भन्थे । क्यास्टोको पहिलो पत्नीको छोरा थिए डियाज । तत्कालीन सोभियत संघमा विज्ञान विषय लिएर पढेका फिडेलीटो आणबिक भौतिक शास्त्री हुन् । उनले क्युबा सरकारको सल्लाहकारको रुपमा समेत काम गरेका थिए । उनका पिता फिडेल क्यास्ट्रो क्युबाली क्रान्तिको नायकका रुपमा चिनिन्छन् । जसको निधन २०१६ नोभेम्बरमा भएको थियो ।