संसदीय खेलको एक अध्याय समाप्त

प्रकाशित मिति : २०७४ माघ १४

- प्रा.डा. जगदीश चन्द्र भण्डारी

 नेपालका जनताले गरेको महान त्याग, समर्पण, बलिदान र उत्सर्गको परिणामलाई कुत्सित बनाउने प्रतिक्रियावादी, संसदवादी तत्वका उछलकुद र तिनका फोहरी क्रियाकलाप मुलुकमा अहिले छ्याल्लब्याल्ल भएका छन् । पुरानै चरित्र र सार बोकेको संविधान बनाइ नेपाली जनतालाई ढाँट्न सफल रहेका पुराना, यथास्थितिवादी शक्तिहरु नै अहिले पनि हावी भएका छन् । भर्खरै चुनाव सम्पन्न भएको छ । र, तिनको चुरीफुरी पनि बढ्दो छ । संसदीय राजनीतिका अनेकन छल, हथ्कण्डा, प्रलोभन र पैसाको उपयोगमा नै सफल हुने र तिनले आफ्नो स्वार्थ पूरा गर्ने कुरा नै संसदीय राजनीतिको अभिष्ट हो । वाम गठबन्धनका नाममा गरिएको गठबन्धनले जनतामा भ्रम फैलाउन सफल भएको छ । कम्युनिष्ट नामधारी नेकपा एमाले र माओवादी केन्द्र दुवै दक्षिणपन्थी संशोधनवादी, बुर्जुवा शक्ति हुन् । हिजोको क्रान्तिकारी सारतत्वलाई छाडेर प्रतिक्रियावादी बन्न पुगेका उक्त दुवै शक्तिले बहुमत ल्याएका छन् तापनि तिनको गतिविधि र उद्देश्य जनता पक्षीय छैन । र, राष्ट्र पक्षीय पनि छैन । नेपाली कांगे्रसकै सन्निकट रहेका एमाले र माकेको सत्ता चिन्तन सर्वहरावर्गीय तथा राष्ट्रियता परक नभई शोसकवर्गीय तथा दलाल परस्त छन् । पुँजीवादी प्रभुत्वलाई नै आफ्नो उद्देश्य बनाएका ती शक्तिको जितले नेपाली जनतालाई बेल पाक्यो हर्ष न विस्मात् जस्तै बनाएको छ ।

अब नेपाली जनताका आधारभूत हकअधिकार प्राप्तिका कुरा भन्दा पनि विदेशी प्रभूहरुको खुला आमन्त्रण र तिनको स्वार्थ सम्मान मै रमाउने काम हुन्छ । जनताका लोकतान्त्रिक अधिकारका साथै जीविकाका प्रश्न ज्युँका त्युँ रहेका छन् । तिनका चुनावी घोषणा पत्र मात्र होइन तिनले समय समयमा बोलेका जनविरोधी अभिव्यक्तिले तिनलाई जनपक्षीय भन्दा जनद्वेषीका रुपमा चित्रित गरेको छ । अहिले तिनले उठाएका र जितेका कतिपय सांसदहरु दलाल, तस्कर, जनअपराधी, भ्रष्ट एवम् शोषक प्रवृत्तिका छन् । तिनकै आर्थिक भौतिक सहयोगमा एमाले र माकेको नेतृत्व, संगठन प्राणवान र उर्जावान बनेको छ । वर्गीयताको भावना र विचारलाई चटक्कै छोडी प्रतिक्रियावादी वर्गमा पतन भएको उक्त तत्वले इतिहासको संघर्ष र त्यागलाई सम्मान गर्ने भन्दा निषेध गरी आफ्नो रुपान्तरित वर्ग सुहाउँदो क्रियाकलापमा रमाउने निश्चितै छ । वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय समस्याको समाधानमा भन्दा दलाल, तस्कर र राष्ट्रविरोधी तत्वका साथै तिनका र आफ्ना निकटका मानिसहरुको स्वार्थ पूरा गर्ने तथा मुलुकलाई साम्राज्यवादी र विस्तारवादी सामु झुकाउने काम गर्नमा तल्लिन भई राष्ट्र र जनतालाई झनै कमजोर बनाउने कार्य गर्ने कुराको साक्ष उनकै विगतका क्रियाकलाप रहेका छन ।

एमाले र माकेको नेतृृत्व र त्यसको पक्षधर कार्यकर्ता तत्व भ्रष्ट र लम्पट हुँदै गएको छ । अब सत्ताको नजिकमा मात्र नभई चाँजोपाँजो मिलाउने ठाउँमा पुग्दा उसले गर्ने हर्कत अनैतिहासिक एवम् दुरगामी हुने देखिन्छ । निम्न पुँजीवादी चिन्तनबाट विकसित उक्त तत्वको पतन जसरी वैचारिक क्षेत्रमा घिनलाग्दो किसिमबाट भएको छ, त्यसरी नै अब जीवनगत व्यवहारमा स्पष्ट देखिने सम्भावना छ । नेकपा एमालेका चिन्तन र त्यसको सार भनेको त भ्रष्ट पुँजीवादी नै हो । त्यसको गतिविधि, आचरण, सोच र व्यवहारिक क्रिया सबै नवसामन्तवादी तथा नवउदारवादी किसिमका छन् । वाह्य रुपमा राष्ट्रवादी जस्तो देखिए पनि उक्त तत्व साम्राज्यवाद परस्त तथा प्रभुत्ववाद परस्त रहेको छ । आर्थिक, सामाजिक परिवर्तन भन्दा पनि समाजलाई यथास्थितिमै राख्ने र केही सीमित मानिसहरुलाई सम्पन्न बनाउने गरी शिक्षा र स्वास्थ्य जस्ता ठाउँमा निजीकरण गर्न मै केन्द्रित रहेको छ भने वित्तीय क्षेत्रमा आर्थिक चलखेल र प्रभुत्व कायम गरी मुलुकलाई बर्बाद पार्ने तर्फ संलग्न हुँदै आएको छ । बुर्जुवा व्यवस्थालाई स्वीकार गरी गरिने सुधारले नेपाली जीवनले परिवर्तन प्राप्त गर्न सक्दैन । सामन्त, पुँजीपति र दलालहरुबाट उत्पीडित रहेको सामाजिक जीवनमा फेरबदलका लागि सशक्त, सशस्त्र विद्रोहको आवश्यकता झनै बढेर गएको छ । भ्रष्टाचारी र दलालहरुको चुनावी परिणामले अन्ततः दलालहरुलाई बलियो बनाउँछ भने यसपालीको संसदीय चुनावले तिनैलाई स्थापित गरेको छ । यी साम्राज्यवादी तथा विस्तारवादी शक्तिका पक्षधर दुवै दलालहरुको अभिवृत्तिको अनावरण गर्नु र तिनका विरुद्धमा जनमत निर्माण गर्नु आवश्यक भएको छ । निश्चित वर्गका निम्ति बनाइएको संविधान र त्यसले निर्दिष्ट गरेको संरचनाले नेपाली जनताको हित प्राप्ति त गर्दैन नै मुक्ति संघर्ष र आन्दोलनलाई समेत बाधा पु¥याउँछ । यसर्थ जनगणतन्त्र प्राप्ति निम्ति जनवादी क्रािन्तको तयारी गर्नु र आत्मिक रुपमा सवल बन्दै संघर्षको आँधीवेहरी सिर्जना गर्दै नेपालका उत्पीडित वर्गको लक्ष्य तथा प्रयत्नु हुनु जरुरी छ । संसदीय खेलको संविधान र त्यसको हास्यास्पद अभिव्यक्तिलाई अबका दिनमा बढी देख्न र सुन्न पाइनेछ । प्रतिक्रियावादी तत्वले वास्तविक जनताको अधिकारप्रति कहिल्यै पनि संवेदनशील भएको पाइदैन । यो व्यवस्थाले झनै निरीह बनाउने निश्चितै छ ।

जेहोस् संसदीय व्यवस्थामा पतन भएका दक्षिणपन्थी संशोधनवादी बुर्जुवा दलाल दुई शक्तिको संदीय गीताकर्मको एक अध्याय समाप्त भएको छ र अबका दिनमा नेपाली जनताले तिनका उत्पीडन थुप्रै अध्यायमा बेहोर्नु पर्नेछ ।