स्थान्तरण गरिनुपर्ने बालाजु औद्योगिक क्षेत्र

प्रकाशित मिति : २०७४ माघ ११

- गौरी दाहाल

२०७४ पौष ५ गते पर्साको सुपर ग्याँस उद्योगमा आगलागी भयो । ग्याँस स्टोरेज ट्याङ्की र केही बुलेटहरु सुरक्षीत गर्न सकेकोले स्थिति भयावह भए पनि धेरै ठूलो क्षति हुनबाट जोगियो यद्यपी दुइ जनाको ज्यान गएको छ र तीन जना सख्त घाइते भएका थिए । ग्याँस आँफैमा अति प्रज्वलनशील पदार्थ हो । सानो कमजोरीले पनि ठूला दुर्घटनाहरु हुन सक्छन् यसर्थ जोखिम कम गर्न कुनै पनि कसूर बाँकी राख्नु हुदैन । जुनसुकै द्योग सञ्चालन गर्न पनि मापदण्डहरु तोकिएको हुन्छ तर कतिपय उद्योगले तोकिएको मापदण्ड पूरा नगरी वा मापदण्ड विपरित चलरिहँदा पनि सम्बन्धित निकायको ध्यान पुगेको पाईंदैन । फलस्वरुप निर्दोष कामदार र स्थानीय बासिन्दाले जोखिममा बाँच्न बाध्य भइरहेका हुन्छन् ।

प्रसङ्ग जोडौँ बालाजु औधोगिक क्षेत्रसँग । सन् १९६० मा स्थापित बालाजु औधोगिक क्षेत्र काठमाडौको घना वस्ती बीचमा छ । छ सय सत्तरी रोपनी क्षेत्रफलमा फैलएिको यस औधोगिक क्षेत्र भित्र सन्तान्नब्बे कम्पनी चालु अवस्थामा छन् । जस मध्ये झण्डै एक दर्जन त प्लास्टिक उद्योग नै छन् । त्यस्तै गरेर रबर उद्योग, पाइप उद्योग, नेपाल ग्याँस उद्योग लगायत आगलागिका हिसाबले अन्य खतरनाक उद्योगहरु पनि रहेका छन् । जुन मानव बस्तीको बीचमा निर्धक्कसँग सञ्चालन भैरहे पनि न त सरकारको ध्यान जान सकेको पाइन्छ न त मानव अधिकार कर्मीहरुको नै । अथवा यस विषयमा जलस्रोत तथा वातावरण प्रदूर्षण निकायहरुको पनि ध्यान पुगेको पाइन्न । फलस्वरुप औधोगिक क्षेत्रबाट उत्सर्जित ध्वनी प्रदूषण र वातावरण प्रदूषणको प्रत्यक्ष अप्रत्यक्ष असरमा कष्टकर जीवन बाँचीरहेछन् स्थानीय बासिन्दा वषौँ देखि । स्थानीयको विरोध पश्चात नेबिको कम्पनीले साँझपख बिस्कुटको खोल (प्लास्टिकको) पोल्ने काम बन्द गरे पनि रातमा औधोगिक क्षेत्रकाट के को खार निकालिन्छ खोजिको विषय नै छ ।

समस्याहरु 

-उद्योग सञ्चालनको लागि ठूलाठूला ढुवानीका साधनहरु आवात जावत गर्दा बाटो भत्किने, पानी तथा ढलका पाइपहरुमा क्षती पु¥याउने, दुर्घटनाहरु बढ्ने, अन्य सवारी साधन तथा पैदलयात्रुलाई पनि विभिन्न समस्यामा पार्ने रहेको छ ।

– आगलागि भैहालेमा हुने अकल्पनीय घटनाप्रति सदैव त्रासमा रहनु पर्ने अवस्था त छदै छ । औधोगिक क्षेत्रबाट निस्किने प्रदूषित खारले बालबच्चा र वृद्धवृद्धा तथा बिरामीमा झनै समस्या थपिने गरेको छ । रातको समयमा एक किसिमको गन्ध “खार”आउने र सुतिरहेको अवस्थामा नाक पोल्दै ब्यूँझिने समस्यामा स्थानीयले झेलिरहनु परेको छ ।

– औधोगिक क्षेत्रमा प्रयोग गर्न भूमिगत पानीको अत्यधिक प्रयोग वरिपरीका कुवा, धारा सुकिसकेका छन् भने इनार हरेक दुइ वर्षको अन्तरातलमा सुक्ने गरेको छ । त्यस्तै गरेर भूमिगत पानी भेट्टाउन पनि हरेक वर्ष गहरिनु पर्ने अवस्था छ ।

झण्डै साठी वर्ष अघि काठमाडौको बसोवास पक्कै सीमित थियो र काठमाडौ खाल्टोको उत्तर पश्चिम कुनामा उद्योगहरु खोल्दा ठीकै हुने ठानिएको हुनुपर्छ । तर अहिले अव्यवथित वस्ती विस्तारको चाप असामान्य रुपमा बढ्दै गएको छ । यसै माथि औधोगिक क्षेत्रको कोलाहल र प्रदूषणले बालाजु बासी आजित छन् ।

मुलुक संघियतामा गैसकेको छ । शहर व्यवस्थित बनाउने कुराहरु आइरहेका छन् र स्मार्ट सीटीको लोभ देखाउँदै राज्य सञ्चालनमा सामेल हुने क्रम पनि जारी नै छ । आशा गरौं स्मार्ट सीटीको पूर्वाधार अनुरुप उद्योग सञ्चालनको मापदण्ड त लागु हुने नै छ । तर तत्काल स्थान्तरण गर्नुपर्ने बालाजु औधोगिक क्षेत्र भित्र हाल सरकारको अनुमतीमा धमाधम उद्योगहरु थपिदैछन् र समस्याहरु झन् गहिरिँदैछन् । देशमा उद्योगहरु थपिदै जानु पक्कै खुशीको र महत्वको विषय हो तर यस क्षेत्रलाई उचित क्षेत्रको खोजि गरी व्यवस्थापन गर्नु पर्ने अर्को विषय हो । यसर्थ यस विषयमा सम्बन्धित पक्षको बेलैमा ध्यान जान जरुरी देखिन्छ । 

काठमाडौ –१६, वनस्थली