तीन महिने अभियानबारे

प्रकाशित मिति : २०७४ माघ ९

- हरिकृष्ण गजुरेल

ने.क.पा. (क्रान्तिकारी माओवादी)ले वर्तमान परिस्थितिमा पार्टी, संयुक्त मोर्चा, ज.व.स.÷मोर्चा संगठनहरुलाई सुदृढ, व्यवस्थित एवं व्यापक बनाउने नीति अनुरुप ‘संगठन तथा जनपरिचालन अभियान’ सञ्चालनलाई दृढताका साथ अघि बढाउन लागिपरेको छ । क्रान्ति रक्षात्मक अवस्थामा पुगेको, प्रतिक्रान्तिले टाउको उठाएको अवस्थामा तीन महिने अभियान मार्फत् क्रान्तिकारीहरुको पहलकदमी हावी बनाउनु जरुरी छ । शोषित, उत्पीडित जनताको आशाको दियो जगाउनको निम्ति क्रान्तिकारीहरुले दृढताका साथ पहलकदमी लिनु अत्यावश्यक बनेको छ । कथित ‘बाम’ र ‘लोकतान्त्रिक’ गठबन्धनले श्रमजीवी जनतालाई ढाँटेर आफ्नो स्वार्थ पुरा गर्न र लुटको स्वर्ग निर्माण गर्न मरिहत्तेका साथ लागिरहेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले सो कुराको पुष्टि समेत गरेको छ । जनताको अधिकारको कुरा गरेर जनतालाई शोषण गर्नमा दुइटै गठबन्धन रुपमा फरक देखिएता पनि सारमा एउटै हुन् ।

इतिहासको टर्निङ प्वाइन्टमा नेपाली कम्युनिस्ट आन्दोलन पुगेको अवस्थामा क्रान्तिकारीहरूले दृढताका साथ इतिहासले सुम्पेको दायित्व पुरा गर्ने आँट र साहस गर्नै पर्दछ । सो अभिभारा पुरा गर्न क्रान्तिकारीहरू सबल बन्नैपर्छ । कथित ‘लोकतान्त्रिक’ र ‘वाम’ गठबन्धन रुपी भ्रमलाई चिर्दै भण्डाफोरलाई व्यापक बनाउनु पर्दछ । जनताका विचमा प्रष्ट ढंगले कार्यक्रमहरूलाई लैजानुपर्दछ । पार्टीलाई बैकल्पिक शक्तिको रुपमा स्थापित गर्न क्रान्तिकारीहरुले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्दछ । इतिहासको यो गम्भीर चुनौती र महान सम्भावनाको घडीमा महान सम्भावनामा बदल्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न संगठित र एकताबद्ध हुँदै अघि बढ्नु पर्दछ । संगठन निर्माणको कामलाई विशेष जोड दिनुपर्दछ । जसको निम्ति संगठनलाई सुदृढ, व्यवस्थित गर्नुको साथसाथै जनपरिचालनमा कटिबद्ध भएर लाग्नु पर्दछ । जनताका गाउँबस्तीहरुमा पुग्ने, उनीहरुका समस्याहरुलाई उठाउने र अधिकारको निम्ति जागरुक गराउँदै संघर्षमा उतार्नुपर्दछ । उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायहरुका समस्याहरुमा नेतृत्वदायी भुमिका खेल्दै आम उत्पीडित जनसमुदायलाई मोहन बैद्य ‘किरण’ नेतृत्वको ने.क.पा. (क्रान्तिकारी माओवादी) पार्टीमा गोलबद्ध गर्दै संघर्षलाई उठान गर्नुपर्दछ । जनताका पक्षमा कामहरु गर्नुपर्दछ । जनतासँगको सम्बन्धलाई सुदृढ बनाउनै पर्दछ । आम जनताको बीचमा संगठन फैलाउनु पर्दछ भने जनताको आँखाको नानी र मुटुको धड्कन बन्नै पर्दछ । जनताका दुस्मनहरुका विरुद्ध धावा बोल्नै पर्दछ र निर्मम हुनै पर्दछ । जस्तासुकै कठिन अवस्थाको समेत सामना गर्दै जनअधिकारको निम्ति नेतृत्वदायी भुमिका निर्वाह गर्नैपर्दछ । यथास्थितिलाई क्रमभङ्ग गर्दै छलाङ्ग हान्नुपर्ने बेला आएको छ । क्रान्तिमा जोश, जाँगर, उत्साहका साथ नयाँ गति पैदा गर्नुपर्ने अपरिहार्यता बन्न पुगेको छ । क्रान्तिकारी पंक्ति इच्छा शक्तिमा दृढ हुँदै जिम्मेवारी प्रति प्रतिबद्ध भएर लाग्नैपर्दछ । छरिएर रहेका क्रान्तिकारी पंक्तिहरुलाई समेत एकता र ध्रुवीकरणको माध्यम मार्फत क्रान्तिको मुल प्रवाहमा समाहित गराएर अघि बढ्नु पर्ने अपरिहार्यता बनेको छ । सबै उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायलाई एकताबद्ध गरि नयाँ जनवादी क्रान्तिको मुल प्रवाहमा समाहित गराउनु पर्दछ । जसको निम्ति नेतृत्वदायी भुमिका निर्वाह गर्ने आँट र साहस गर्नै पर्दछ ।

सत्ता स्वार्थमा भएका र हुने राष्ट्रियतासँग सम्बन्धित विषयहरुलाई जनताका बिचमा प्रष्ट पार्नुपर्दछ । आज राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, अखण्डता दिनप्रतिदिन कमजोर हुँदै गइरहेको छ । मुलुकका स्रोत र साधनहरु कौडिका भाउमा विदेशीहरुलाई बेच्ने तर राष्ट्रियता कुरा गर्ने छद्मभेषी राष्ट्रवादीहरुलाई जनताका विचमा नङ्ग्याउन जरुरी छ । दलाल, राष्ट्रघाती, जनघाती, भष्टाचारी र तस्करहरुलाई भण्डाफोरको साथै कारवाही समेत गर्नुपर्दछ । जनताका नाममा जनतालाई शोषण गर्ने, ठग्ने, लोकतन्त्रको नाममा तानाशाह लाद्नेहरुका विरुद्ध धावा बोल्नै पर्दछ । शिक्षा, स्वास्थ्य जमिन, जल, जंगल, जडिबुटी, उद्योग, व्यापार, कृषि लगायत हरेक क्षेत्रका दलाल, तस्कर र माफियाहरुलाई ठेगान लगाउनै पर्दछ । जसकारण क्रान्तिकारीहरु सिंह बन्नैपर्दछ र समाजका ब्वाँसोहरुलाई तह लगाउनै पर्दछ । जनताका दुस्मनहरुलाई तह नलाईकन सम्बृद्ध मुलुक सम्भव छैन भन्ने कुरालाई दिलदिमागमा सेट गरेर अघि बढ्नु जरुरी छ । इतिहासले सुम्पेको दायित्वलाई गम्भिर ढंगले बोध गर्दै पुरा गर्ने सवालमा हामी गम्भिर बन्नै पर्दछ । मुख्यतः क्रान्तिकारी युवाहरुले यसमा विशेष पहल लिनैपर्दछ । युवाहरु गतिशिल र संघर्षशिल बन्नैपर्दछ । हरेक प्रकारका संघर्षको नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्दछ ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग जोडिएका हरेक प्रकारका आन्दोलन र संघर्षहरुमा नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्दछ । सन् १९५० लगायत भारतसँग गरिएका सबै प्रकारका असमान सन्धि÷सम्झौताहरुको खारेजी लगायत विषयमा पहलकदमी लिनुपर्दछ । त्यस्तै अमेरिकी साम्राज्यवाद लगायतका सबै प्रकारका हस्तक्षेपका विरुद्धका संघर्षमा पहलकदमी लिनुपर्दछ । वास्तविक रुपमै मुलुकलाई स्वाधीन बनाउनुपर्दछ । करौडौंको संख्यामा विदेशिन वाध्य युवायुवतीहरुलाई मुलुकमै भएका स्रोत र साधनहरुको यथोचित उपयोग गरी स्वदेशमै रोजगारीको सिर्जना गराई सम्बृद्ध मुलुक निर्माण अभियानमा लाग्ने वातावरण सिर्जना गराउनुपर्दछ । यसको साथै स्वाधीन अर्थतन्त्रको निर्माण पहलकदमी लिने वातावरण तैयार गर्नुपर्दछ । जसको निम्ति प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गरी नयाँ जनवादी क्रान्तिको अपरिहार्यता बोध गराई संगठनमा समाहित गर्नुपर्दछ । तीन जादुगरी हतियारलाई जोड दिई क्रान्तिको अभिभारालाई पुरा गर्न प्रतिबद्धताका साथ इमान्दार भएर अघि बढ्नै पर्दछ । पार्टी, मोर्चा र सेनालाई व्यवस्थित गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने दिशामा अघि बढ्नु पर्दछ । उक्त तीन महिने ‘संगठन तथा जनपरिचालन अभियान’ले एउटा नयाँ उचाई पैदा गर्नुको साथै मार्गनिर्देश गर्नैपर्दछ । आम क्रान्तिकारी पंक्ति दृढताका साथ यसमा लाग्नु अपरिहार्य छ । नेपाली क्रान्तिलाई नयाँ जीवन दिन अत्यावश्यक छ । त्यो आँट र साहस हामीले गर्नै पर्दछ । नेपालमा क्रान्ति अपरिहार्य छ र सम्भव छ ।