कम्युनिष्ट पार्टीभित्रका सानातिना निम्न–पुँजीवादी रोगहरु

प्रकाशित मिति : २०७४ माघ ६

- मीनकुमार

नेपालमा नयाँ जनवादी क्रान्तिको सक्रिय थालनीको लागि वस्तुगत अवस्था परिपक्व बन्दै गइरहेको प्रति हामी क्रान्तिकारीहरुले आवश्यक ध्यान दिन जरुरी छ । नेपाली कम्युनिष्ट आन्दोलनमा विडम्बना भनौ या नियति, परिस्थितिको वहानामा कि त दक्षिणपन्थी बाटो अवलम्वन गर्दै संसदवादमा फसेर प्रतिकृयावादमा पतन हुने, कि त सानो झुण्डमा रमाउँदै समय परिस्थिति आएपछि क्रान्ति आफैं भइहाल्छ, गर्नु परेपनि सबै तानावाना मिलेपछि मात्रै गर्नुु पर्छ, कसैले चाहँदैमा अहिले तुरुन्त क्रान्ति भइहाल्ने विषय होइन भन्दै अन्तर संघर्षको नाममा संकीर्ण सोचका साथ सानातिना विषयहरुलाई लिएर आफैं भित्र मारामार गर्दै टुटफुट र विभाजन हुने र उठ्नै नसक्ने अवस्थामा पुग्ने रोगको महामारी लामो समयदेखि चल्दै आएको देखिन्छ । जुन–जुन कम्युनिष्ट पार्टीहरु र नेताहरु प्रतिकृयावादमा पतन भए उनीहरुको त अलग विषय र चरित्र भइहाल्यो । तर आफूलाई क्रान्तिकारी पार्टी र नेताहरु भन्ने र यी पार्टी र नेताहरुचाहिं इमान्दार क्रान्तिकारी हुन् है भनि जनताहरुबाट समेत आशा र अपेक्षा गरिएकाहरुमा पनि निम्न–पुँजीवादी चिन्तन अधिक मात्रामा हुनुले चिन्ता बढ्नु स्वभाविक हो । क्रान्ति आफैं र निरन्तरतामा हुँदैन, यो त सक्रिय पहलकदमी लिएर, जनतालाई झक्झकाएर र निरन्तरतामा क्रमभंग गरेर मात्र हुने विषय हो । यसको लागि सचेतन पहलकदमीको साथमा साहस एवं हिम्मत, इमान्दारिता र बलिदानी भावनाबाट प्रेरित भएर मात्र हुनसक्छ ।

क्रान्तिकारीहरुले क्रान्तिकारी आशावादमा विश्वास गर्न सक्नु पर्दछ । क्रान्तिमा क्रान्तिकारी आशावाद म¥यो भने निराशा पैदा हुन्छ र त्यो शुन्यवादमा पतन हुन्छ, क्रान्तिको लागि त्यो घातक हुन्छ । हाम्रो यो आन्दोलनमा क्रान्तिकारी आशावाद मर्दै गइरहेको हो कि भन्ने अनुभूति भइरहेको छ । साहस र इमान्दारिताको द्वन्द्ववादको सहि बुझाई र प्रयोग हुन पनि आवश्यक देखिन्छ । हाम्रो आन्दोलनको इतिहासमा साहासी बन्नेहरु इमान्दार देखिएनन् र इमान्दारहरु साहसी देखिएका छैनन् । उसको साहस र विवेकलाई आफ्नो व्यक्तिगत स्वार्थ, लाभ र प्रतिष्ठामा प्रयोग गर्ने हो भने परिवर्तन सम्भव छैन । परिवर्तन जनता र देशको लागि हुन्छ, व्यक्तिगत लाभलाई परिवर्तन मानिदैन । त्यसलाई त हददर्जाको वेइमानी र छलकपटपूर्ण रुपमा देखाइएको परिवर्तन मान्नु पर्छ । इमान्दार बनेर मात्र पनि त हुँदैन, इमान्दारहरुले त परिवर्तनको लागि केहि (विवेकपूर्ण ढंगले साहसिक काम) गर्ने हिम्मत गरि ठूला र खतरनाक चुनौतिहरुसँग खेल्न सक्नु र जान्नु पर्दछ । अर्को कुरा, सिद्धान्तलाई वस्तुसम्वत किसिमले व्यवहारमा लागु गर्ने कुराको पनि कमि देखिएको अनुभुति हुन्छ । केवल माक्र्सवादका पुराना उक्तिहरुलाई मात्र व्याख्या गरेर क्रान्तिकारी हुइंदैन । पक्कै पनि समाज विकासको क्रममा आधारभूत कुरालाई छोडेर कयौं नयाँ अवस्था, बुझाई, अनुभुति, वर्गचरित्र र अन्तरविरोधहरुमा परिवर्तनहरु आएका छन् । त्यसको पहिचान र त्यससँग माक्र्सवादलाई मिलाउनु चाहिं क्रान्तिकारी बुझाई हुन्छ । हामीमा यसको पनि कमि छ कि ?

टुक्रे उत्पादनको प्रभाव र व्यक्तिगत सम्पतिमा आधारित सोचको कारण ग्रसित भएको निम्न पुँजीवादी सामाजिक धरातलबाट कम्युनिष्ट पार्टीमा आएका हामी सबै सदस्यहरु निम्न पुँजीवादी चिन्तनबाट धेरै प्रभावित छौं । फलस्वरुप हाम्रा केहि व्यक्तिगत र पारिवारिक समस्याको फन्दामा फसेर निजी काममा अधिक समय खर्च गर्र्दैछौं । त्यसक्रममा समाजमा अरुले राम्रै आर्जन गरेको पनि देख्दछौं र त्यसलाई हेरेर अझै हराउने फन्दामा फस्ने क्रम पनि जारी छ । त्यसो हुँदा पार्टी र क्रान्तिको कामको लागि समय बच्तै बच्दैन र थोरै बचेको समय पनि सिर्जनात्मक तरिकाले खर्च गर्न सकिराखेका हुँदैनौं । यसले गर्दा पार्टी र क्रान्तिको बारेमा, देश र जनताको बारेमा सोच्ने फुर्सद सम्म पनि नभइरहेको हामी पाउँछौं । यस्तो अवस्थामा आफैं भित्र एउटा क्रान्ति चलाउन सक्नु पर्छ । घरको न घाटको अवस्थामा आफूलाई पु¥याएर कसरी क्रान्तिमा योगदान दिन सकिन्छ ? व्यक्तिगत कामलाई भन्दा पार्टीको कामलाई महत्व दिन नसक्नु हाम्रो ठूलो कमजोरी हो भनेर अब नबुझ्ने हो भने, पार्टीमा त निस्वार्थ भएर स्वयमसेवकको रुपमा म खट्न आएको हो र मैले नगरे क्रान्ति कसले गर्छ भन्ने भावनाको विकास गर्न नसक्ने हो भने परिवर्तन सम्भव छैन । पार्टी सक्रिय अवस्थामा नहुनु, जनतामा पनि अब पार्टी छैन कि क्या हो भन्ने अवस्था आउनु र गरिएका निर्णयहरु कार्यान्वयन नहुनुमा यसको पनि केहि हात छ । पार्टी भित्र यस्तो समस्याको हल भनेको पार्टीको योजना र कार्यक्रम लिएर निरन्तर जनताकोमा जानु, परिआउने समस्याको समाधान पनि त्यहिं खोज्नु हो र पार्टीमा निरन्तर वैचारिक स्कुलिङ्ग चलाउनु पनि हो ।

निम्न पुँजीवादी चिन्तनकै कारण उत्पन्न हुने र गलत संस्कारको रुपमा विकास भएको एउटा समस्या, सरदर सबै पार्टीमा देखिएको, तर विशेष गरी कम्युनिष्ट आन्दोलनसँग सम्बन्धित वामपन्थी पार्टीहरुमा अधिक मात्रामा देखिएको खराब चरित्र हो, ‘छिन छिनमा पार्टी परिवर्तन गर्ने प्रवृत्ति’, यो पनि मुख्य समस्याको रुपमा देखिन आएको छ । विचार र कार्यदिशामा असहमत भएर पार्टी फुट्नुलाई त स्वभाविक रुपमा लिन सकिन्छ तर कुनै एउटा व्यक्ति आज एउटा पार्टीमा उभिएर जनताको अगाडि त्यो पार्टीको नीति तथा कार्यक्रमको बारेमा बोल्दै लागु गर्ने प्रतिवद्धता व्यक्त गर्दछ, कुनै अर्को पार्टीको खरो विरोधमा पनि उत्रन्छ, तर ऊ भोलीपल्ट आफ्नै कुरालाई काटेर आफुले विरोध गरेको पार्टीमा प्रवेश गरि त्यसैको गुणगान गाउँछ र हिजो आफू रहेको पार्टीको घोर विरोध गर्छ । यो कल्चरले सबभन्दा धेरै क्षेति नेपाली कम्युनिष्ट आन्दोलनमा भएको छ । यस्ता नैतिकहरामहरुको भ्रमले गर्दा सबै पार्टीहरु उस्तै हुन् भन्ने कुरा जनतामा पर्न गएको छ । जनतालाई कुन पार्टी राम्रो, कुन पार्टी नराम्रो छुट्याउन गाह्रो पनि भइराखेको छ । यस्तो कल्चरको विरुद्धमा दह्रो संघर्षको आवश्यकता छ ।

अर्को समस्या पनि उस्तै जटील रुपमा देखा परिरहेको छ, त्यो भनेको अध्ययन नगर्ने र सुचना प्रविधिसँग अलग थलग रहने । यसको मतलव पुरानो अनुभवको आधारमा बोल्ने, घिसेपिटे पाराले जवाफ दिने कुरा र सुचना संचार अनि विकास भएका नयाँ प्रविधिको बारेमा ज्ञान लिन नचाहने वा त्यसलाई सिक्न चाहनेको लागि समेत सिक्ने प्रबन्ध नहुँदा पार्टीको काम प्रभावकारी हुन सकिराखेको छैन एक, दोश्रो अहिलेका नयाँ पिढीलाई हाम्रा दृष्टिकोण, विचार र कार्यक्रमबाट सुुसुचित एवं प्रभावित गर्न सकिराखेका छैनौं । त्यसकारण कम्युनिष्ट पार्टीप्रति र त्यसको विचारप्रति युवापिढी पुरै अनविज्ञ भइरहेको छ, त्यसले गर्दा आन्दोलन त कमजोर भएको छ नै त्यसमाथि नेतृत्व विकासको क्रम पनि रोकिने अवस्था सिर्जना भइरहेको छ । अहिलेको विश्वमा सुचना प्रविधिले जुन विकास गरेको छ, त्यहि संसारमा अहिलेका युवापिढीहरु उनीहरुको आर्थिक अवस्था जे जस्तो भए तापनि व्यस्त भएको देखिन्छ । त्यसलाई अव पनि वेवास्ता गर्ने हो भने आन्दोलनको विकास गर्न मुस्किलै पर्दछ । साथै अध्ययनशिल नबन्दा बाहिरी कुराको प्रभाव चाँडो पर्ने र पार्टीको जिम्मेवार स्थानमा भए पनि उसमा ठूल–ठूला उतारचढावहरु आउने गरेको देखिन्छ । हुन त ज्ञान प्राप्त गर्ने माध्यम व्यवहार एवं वर्गसंघर्ष नै हुन्छ, तथापि कतिपय कुराहरु अध्ययनबाट नै सिक्नु पर्ने हुनाले, त्यसमा पनि ध्यान दिन जरुरी छ ।

हाम्रो आन्दोलनमा अर्को समस्याको रुपमा देखिएको विषय भनेको सम्वेदनशिल र जुझारु बन्ने समस्या पनि छ । हरेक विषयलाई संवेदनशिल रुपमा लिन सकिराखेका छैनौं । जे छ त्यहि चलिरहन्छ, हुने कुरा हुँदै गर्छ भन्ने जसरी सोच्ने तरिका । यस्ता निर्णयहरु विगतमा पनि भएका थिए, पछि पनि हुनेछन् भन्ने जसरी सोच्ने तरिका । कुनै पनि विषयलाई निरन्तरतामा बुझ्ने तरिका । जसो तसो दिन कटाउने तरिका । यी तरिकाहरु गलत छन् । आजै केहि हुनुपर्छ आफैले केहि पाउनु पर्छ भन्ने जसरी सोच्ने र शिघ्र विजयको मानसिकता राख्नेको पनि विरोध गर्नु पर्छ, तर आलश्य जस्तो, सबै जोश–जाँगर मरेको जस्तो, झण्डै–झण्डै सुस्त जस्तो गरी सोच्ने र विषयवस्तुलाई ग्रहण गर्ने तरिकाले अरुलाई प्रभावित पार्न सकिंदैन । यी समस्याहरु पनि निम्न पुँजीवादी चिन्तनका कारण उत्पन्न भएका हुन् । स्वस्थ रहनु, फूर्तिलो रहनु, सबै विषयमा संवेदनशिल बन्नु, अनि जुझारु रहनु आजको आवश्यकता हो । जुझारु बन्ने सवालमा हामीमा आत्मसुरक्षावाद नै त हावी छ भनेर नभनौं तर बोधो या दब्बु बनेर पनि क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन सकिदैन भन्ने कुरा बुझ्न भने आवश्यक छ ।

यी माथिका समस्याहरु कम्युनिष्ट आन्दोलनका स–साना समस्याहरु हुन् तर यिनीहरुमाथि आवश्यक ध्यान दिएर शुद्धिकरण मार्फत् सुधार नगर्ने हो भने तिनीहरुले नै निरन्तर क्षति गरिराखेका हुन्छन् । आउनुहोस् यी समस्याहरुलाई गम्भीरतापूूर्वक लिएर संघर्ष गर्दै अगाडि बढौं ! जित हाम्रो सुनिश्चित छ ।

२८ पौष २०७४