ज्ञान सिद्धान्तबारे

प्रकाशित मिति : २०७४ माघ ५

- इश्वर ढुंगेल

ज्ञान प्राप्ति भनेको के हो ? र कसरी हुन्छ ?

मानिसको मस्तिष्कले वस्तुगत जगतको चित्र प्रतिबिम्बको रूपमा प्राप्त गर्दछ र त्यसको बारेमा अनुभवका आधारमा चिन्तन गर्दै अवधारणा तयार पार्दछ । मानिसले मस्तिष्कमा परेका अनेकांै प्रतिबिम्बहरूको तर्कपूर्ण, तुलनात्मक, ऐतिहासिक, विश्लेषण र सश्लेषणको व्यवहारिक प्रयोग गर्दै, सत्यको नजिक पुग्ने निरन्तर प्रयत्न गर्दछ । सूचना सम्प्रेषण गर्ने इन्द्रीयहरू आँखा, कान, नाक, जिभ्रो र छाला प्राथमिक तत्वहरू हुन् र यसका मेडिएटरहरू झिल्ली, तन्तु र रक्त सञ्चार प्रणाली हो । यिनै अङ्गहरूको अन्योनक्रियाद्वारा वस्तु तथा घटनाक्रमहरूको बारेमा ज्ञान प्राप्त हुन्छ ।

व्यवहार नै ज्ञान प्राप्तिको आधार र प्रस्थान बिन्दु

प्रकृतिमा भएको वस्तु तथा घटनाक्रमलाई आपूm अनुकुल बनाउन मानिसहरूले गरेको सक्रिय क्रियाकलाप नै व्यवहार हो । प्रकृति र मानिसहरूबीचको अन्योनक्रिया ज्ञानको आधार र प्रस्थान बिन्दु हो । जब मानिसहरूले आपूmले गरेका क्रियाकलाप, त्यसबाट प्रकृतिमा परेको प्रभावको प्रत्यक्ष बोध ( पाँच इन्द्रीयहरूबाट देख्ने, सुन्ने, सुँघ्ने, स्वाद लिने र स्पर्श गर्ने काम ) हुन थाल्यो तब पुनर्उत्पादन सुरु गरे । यसबाट पशु र मानिसहरूबीचमा स्पष्ट भेद देखियो त्यसैले पुनरउत्पादनलाई प्रस्थान बिन्दु मानिएको हो । मानिसहरू प्रकृतिसँगको अन्योनक्रियाबाट जे प्राप्त गर्छन् त्यसबाट उनीहरू पूर्ण सन्तुष्ट मात्र होइन अझ बढी जान्न उत्सुक हुन्छन् र नयाँ कुरा जान्ने आशाकासाथ प्रयत्नरत रहनुका साथै बेरूवाकार गतिमा निरन्तर गतिशील रहन्छन् । यही गतिशीलता नै ज्ञानको भोक हो । जति खायो त्यत्ति खान मन लाग्ने, खाएर कहिल्यै नअघाइने ज्ञानको भोकको विशेषता हो । यसकारण व्यवहार नै ज्ञान प्राप्तिको आधार र प्रस्थान बिन्दु भनेको हो ।

प्रत्यक्ष बोध र व्यवहारबीचको द्वन्द्वात्मकता

मानिसको इन्द्रीयहरू र प्राकृतिक वस्तु तथा घटनासँग अन्योनक्रिया हुँदा मस्तिष्कमा जुन प्रभाव पर्छ त्यसबाट वस्तु तथा घटनाका बारेमा जे अनुभूति हुन्छ त्यसलाई तुलनात्मक अध्ययन गर्न थाल्छ । जस्तो तातो÷चिसो, खस्रो÷चिल्लो हुनु , सिस्नुले पोल्नु , काउसोले चिलाउनु , गन्ध राम्रो÷नराम्रो लाग्नु , कुनै कुरा खाँदा तितो÷गुलियो, पिरो÷अमिलो आदि विभिन्न स्वादको अनुभव हुन्छ , मिठो÷कर्कश स्वर सुन्नु , घटना देख्दा नरमाइलो लाग्नु÷रमाइलो लाग्नु , गोलो वस्तु गुडेको देख्नु , ओरालोमा पानी बगेको र खाल्टोमा जमेको देख्नु , आदि अनुभूति गरेका घटनाहरू विगतमा देखेका, सुनेका, सुँघेका, स्वाद लिएका तथा स्पर्श गरेका क्रियाकलापहरूलाई स्मरण गर्दै, तुलनात्मक अध्ययन गरी बर्तमान घटनाहरूका बारेमा अवधारणा बनाएर आगामी व्यवहारमा कसरी जाने भन्ने निस्कर्ष निकाल्छ । यही बोध, अनुभूति र अवधारणा गतिशील क्रियाकलापको उपलब्धी ज्ञान हो । यस्तो ज्ञान व्यवहारबाट प्राप्त हुन्छ र फेरी त्यसलाई व्यवहारमा लागु गर्छौं हामी । यस्तो ज्ञान जबसम्म सत्य र व्यवहार उपयोगि हुन्छ तबसम्म मात्र व्यवहारमा लागु गर्छांै । व्यवहारमा उपयोगि हुन छोडे पछि त्यस ज्ञानलाई छोडी त्योभन्दा अझ बढी उपयोगि ज्ञानको खोजीमा निरन्तर लागिरहन्छ मानिस । यही नै सिद्धान्त र व्यवहारको द्वन्द्वात्मक गति हो ।

तर्किक ज्ञान

इन्द्रीय ज्ञानबाट वस्तु र घटनाहरूको चित्र पूर्णरूपमा जस्ताको तस्तैरूपमा प्राप्त गर्न सकिदैन किनकि हाम्रो इन्द्रीयले सुक्ष्म वस्तुहरूलाई देख्न, सुन्न र सुँघ्न सक्दैन । एउटै वस्तुको पनि फरक फरक समय र ठाउँमा फरक फरक चित्र देखिने हुनाले त्यस्तो वास्तविकताको सापेक्षरूपमा तुलनात्मक अध्ययन गर्नुपर्ने हुन्छ । यस्तो अध्ययन विधि भनेको तार्किक विधि हो । यसले समय र स्थानमा सापेक्षरूपमा फरक देखिएको चित्र र अनुभविक चित्रहरूको तुलनात्मक अध्ययन गर्दछ । यस्तो अध्ययनले फरक फरक समय र स्थानमा पाइएको फरक फरक चित्र किन यस्तो भयो ? यस्तो किन भएन ? यस्तो नभएको भए के हुन्थ्यो ? जस्ता प्रश्न उठाउँदै त्यसको समाधान खोज्ने प्रयत्न गर्दछ । बिजुली बत्ति बलेको देखिन्छ त्यो बल्न इलेक्ट्रोनहरूको धारा हो भन्ने बुझ्न, परमाणुहरू विद्युताणु बल (Electromagnetive Force) द्वारा एक ढिक्का भएर बसेको छ भन्ने बुझ्न, प्राथमिक वस्तुहरूको तौल, घनत्व, गुण आदि जस्ता कुराहरूको ज्ञान तार्किक पद्धतिबाट नै प्राप्त गर्दछौं । मस्तिष्कमा प्रतिबिम्बित वस्तु तथा घटनाहरूको अन्योनक्रिया चिन्तन हो भने त्यसको निष्कर्ष अवधारणा हो । स्टिलको सियो पानीमा डुब्छ, स्टिलको थाल पानीमा डुब्दैन । दुबै एउटै धातु हो एउटा डुब्छ अर्को डुब्दैन यसबारे थाहा पाउन तार्किक ज्ञानको विधि अपनाउनु पर्छ । यस्तो ज्ञानको प्रामाणिक आधार भनेको व्यवहार हो । व्यवहारमा लागु हुने ज्ञानमात्र सही ज्ञान हो ।

सत्यको सापेक्षता

मानिसले उत्पादनमा भाग लिए पछि उसले क्रमिकरूपमा ज्ञान प्राप्त गर्दछ । उसले प्राप्त गरेको ज्ञान पूर्ण सत्य हो त ? यस प्रश्नको उत्तर खोजीमा निरन्तर लागि रहदा केही सत्य सापेक्ष भए भने धेरै सत्य निरपेक्ष भए । जन्म, मृत्यु , दिन, रात, वस्तुगत जगत, गति, शक्ति, तारा, ग्रह, आदि निरपेक्ष सत्य हुन् । पृथ्वी चेप्टो अनि गोलो छ भन्ने सिद्धान्त, सबैभन्दा सानो वस्तु अणु , अनि परमाणु हो भन्ने सिद्धान्त, प्रकाश, ध्वनी पदार्थ होइन भन्ने सिद्धान्त, खाली ठाउँ (Vacume) हुन्छ भन्ने सिद्धान्त सापेक्ष सत्य हुन् । सापेक्ष सत्य निरपेक्ष सत्यतिर सङ्क्रमण हुन्छ । सापेक्ष सत्य निरपेक्ष सत्यमा रूपान्तरण हुन्छ । त्यसकारण सत्य परिवर्तनशील हुन्छ भनेको हो ।

सत्यको मूर्तता

सत्यको बोध हुनुपर्छ चाहे त्यो इन्द्रीयले खुला रूपमा त्यसको बोध गर्नसकोस वा वैज्ञानिक यन्त्र तथा उपकरणहरूको सहायताले । यही वास्तविकतालाई सत्यको मूर्तता भनेको हो । सत्य सापेक्ष हुन्छ किनकी यो गतिशील संसारमा सबै वस्तु गतिशील छ पदार्थको गतिशीलताका कारणले नै खुला आ“खाले नदेखे पनि गतिका आधारमा नै (E ≠ mc2 )को सुत्र निकालेका हुन् आइन्टाइन ले ।

सत्यको वस्तुपरकता

सत्यको पहिचान तथ्यको आधारमा गर्नुपर्छ । सत्य वस्तुगत हुन्छ, यो काल्पनिक कुरा होइन भनेको हो । तथ्य के हो त ? भन्ने बित्तिकै तथ्यको उपस्थिति कसरी ? कस्तो ? कहाँ ? के ? भन्ने देखाउँनु पर्छ । जब देखाउँने कुरा आउँछ अर्गात् बोध हुन त्यो वस्तुगत हुनैपर्छ । भावना तथा कल्पना देखाउँन सकिदैन । त्यसकारण सत्य देखिने हुनुपर्छ अर्थात् इन्द्रीयद्वारा बोध हुनुपर्छ हुन नसके, तार्किक र वैज्ञानिक ( प्रायोगिक ) विधिबाट बोध हुनुपर्छ , त्यसले वस्तुको उपस्थितिको माँग गर्दछ । त्यसैले सत्य देख्न सकिन्छ । इन्द्रीय, तार्किक तथा वैज्ञानिक विधिद्वारा थाहा पाउन सकिने तथ्यलाई नै सत्य मान्न सकिने हुँदा सत्य वस्तुपरक हुनुपर्छ भनेको हो ।

ज्ञानशास्त्रमा वर्गीयता

सत्यको बारेमा मानिसहरूले जान्ने प्रयत्न गर्दा मूर्तरूपमा जे भेटे त्यसैलाई सत्य मान्दै आए । उनीहरूको आफ्नो व्यवहारमा देखेका, सुनेका र भोगेका वस्तु तथा घटनाहरूसँग प्रत्यक्ष साक्षातकार हुन्छ त्यसकारण उनीहरू वस्तुगत सत्यलाई मात्र स्वीकार गर्दथे । ‘गणहरू’ भन्ने शब्द ऋग्वेदमा प्रसस्त प्रयोग भएको छ , यसको अर्थ विद्वान दर्शन शास्त्रीहरूले ‘गणहरू’ शब्दको अर्थ सामुहिक जीवन भन्ने अथ्र्याएका छन् । तत्कालीन समाजमा कुनै देव तथा ईश्वर थिएन । ‘पारिवारिक जीवन र व्यक्तिगत सम्पत्तिको’ जब सरुवात भयो त्यस पछि धर्म र ईश्वरको जन्म भयो । “बडाले जे ग¥यो हुन्छ त्यो सर्वसम्मत । नङ्गा शङ्करको भेष छैन कतै निन्दित ।।” यस्तो चिन्तन पालेर सत्यको वस्तुगत तथ्य खोज्नेभन्दा वस्तु र विषयलाई बुझ्न सत्यको खोजी नगरी शक्तिशाली र विद्वानले भनेको विश्वास गर्नुपर्छ भन्ने संस्कृतिको विकास भयो । ‘वेद, ब्राह्मण र गाई’ लाई नमान्ने र ‘स्वतन्त्र विचार’ गर्नेलाई ‘महापातकी’ को संज्ञा दिएर मृत्यु दण्डसम्म दिनसक्ने नियम बनाए, धर्मशास्त्रका प्रणेताहरूले, यहीबाट सुरु भयो ज्ञानशास्त्रमा वर्गीयता । सत्य, त्याय र समानताको पक्षपोषण गर्दै, परिवर्तनका लागि प्रयत्नशील हुनु नै वर्गीय पक्षधरता हो ।