रोनाल्डिन्होले लिए सन्यास

प्रकाशित मिति : २०७४ माघ ३

काठमाडौं । सन् २००२ को विश्वकप विजेता ब्राजिलियन फुटबल खेलाडी रोनाल्डिन्होले सन्यास लिंएका छन् । रोनाल्डिन्होका दाजु रोबर्टो असिसले मंगलबार सन्यास लिएको बताएका हुन् । ‘हि हाज स्टप्ड इट, इट इज इन्डेड’, असिसको भनाई उल्लेख गर्दै बीबीसीले जनाएको छ ।

३७ वर्षीय रोनाल्डिन्होले २०१५ यता फुटबल खेलेका छैनन् । उनले ब्राजिलका लागि एक पटक कोपा अमेरिकाको उपाधि समेत जितेका छन् । रोनाल्डिन्होले ब्राजिलका लागि ९७ खेल खेल्दै ३३ गोल गरेका छन् । उनले सन् २००२ को विश्वकपमा इंगल्याण्ड विरुद्ध गरेको फ्रिकिक गोल विश्व चर्चित बनेको थियो ।

सन् २००५ मा बालोन डे ओर विजेता रोनाल्डिन्होले २००६ मा बार्सिलोनाबाट युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका थिए । यस्तै रोनाल्डिनहोले दुई पटक स्पानिस ला लिगा ए एकपटक इटालियन सिरी ए को उपाधि समेत जितेका छन् ।

ब्राजिलियन क्लब ग्रेमिओबाट क्लब फुटबल करियर सुरु गरेका रोनाल्डिन्होले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन, बार्सिलोना, इटालियन क्लब एसी मिलान बाट युरोपियन लिग खेले । पछिल्लो समयमा उनले ब्राजिलकै फ्लेमेङ्गो, एथल्टिको मिनेइरो, फ्लुमिनेन्स बाट पनि खेले । यस्तै मेक्सिकोको क्वेटारोबाट पनि क्लब फुटबल खेले ।